३० वर्षअघि नेपालमा ठूलो खालको ढलाई उद्योग थिएन। उद्योगका मेसिनहरू बिग्रिए भने भारत लगेर मर्मत गर्नुपर्ने बाध्यता थियो।
बुटवलका नारायणप्रसाद शर्माले धेरै पहिलेदेखि उद्योगहरूको यस्तो बाध्यता बुझेका थिए। उनले आफ्नी पत्नी राधासँग एउटा उद्योग खोल्ने सल्लाह गरे। अनि २०४८ सालमा मेटल काष्ट उद्योग सञ्चालन गरे। मेटल काष्ठ उद्योगले धातु ढलान गरेर विभिन्न मेसिनहरू बनाउने र बिग्रेका मेसिन मर्मत गर्ने काम गर्छ।
पुँजी ठूलो थिएन, सुरूमै ठूलो उद्योग चलाउन सक्ने कुरै भएन। कोइलाबाट चल्ने एउटा सानो भट्टी राखेर उद्योग सुरू गरे। काम नलाग्ने भनेर फालिएका पुराना फलाम भट्टीमा पगालेर उपयोगी सामग्रीहरू बनाउन थाले।
बिस्तारै उद्योगमा काम बढ्दै गयो। तीन दशक पूरा हुँदासम्ममा मेटल कास्ट उद्योगले नेपालका सिमेन्ट उद्योग, स्टिल उद्योग, चिनी कारखाना लगायत ठूला उद्योगहरूलाई सेवा दिने क्षमता बनाएको छ। जलविद्युत केन्द्रहरूलाई पनि सेवा दिने गरेको छ। मेटल कास्टले दिने मुख्य सेवा उद्योगका लागि मेसिन निर्माण र मेसिन मर्मत हो।
यो उद्योग स्थापना गर्ने सोच झण्डै ५० वर्ष अघि नारायणको दिमागमा आएको थियो।
नारायण २०३० सालअघि विद्युत ट्रान्समिसन लाइन विस्तारको क्षेत्रमा काम गर्थे। त्यही समय उनले मेसिन बनाउने र मर्मत गर्ने कास्टिङ उद्योग देखेका र त्यसको महत्व थाहा पाएका थिए।
‘म बुटवल–बर्दघाट, कोइलाबास–लमही–तुल्सीपुरसम्मको विद्युत ट्रान्समिसन लाइन विस्तारमा काम गर्दा मेसिन बिग्रियो भने नेपालमा बनाउने ठाउँ थिएन,’ उनले भने, ‘भारत गएको बेला फलाम पगालेर सामान बनाएको देखेँ। त्यही देखेर नेपालमा यस्तो उद्योगको आवश्यकता महसुस गरेको थिएँ।’
त्यही समय उनले कुनै दिन म यस्तो उद्योग चलाउनेछु भन्ने सोचे।
पछि उनी यातायात क्षेत्रमा लागे। कामकै सिलसिलामा घुमफिर गर्दा भारतका केही मेटल कास्ट उद्योग हेरे। बुटवलको रामनगरस्थित औद्योगिक क्षेत्रमा कुनै बेला ‘छ्याङ उद्योग’ सञ्चालनमा थियो। त्यो उद्योग २०४५ सालपछि बन्द भयो। उद्योगले बनाएको एउटा सानो घरसहितको जमिन खाली थियो।
नारायणले त्यही उद्योगले छाडेको घरसहितको आठ रोपनी जमिन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग भाडामा लिए। फलाम पगाल्ने कोइलाको भट्टी र एउटा लेथ मेसिन राखेर करिब ६० हजार रुपैयाँ लगानीमा उनले मेटल कास्ट उद्योग सुरु गरे।
तीन दशकमा यस उद्योगमा एक अर्ब रूपैयाँभन्दा बढीका मेसिनमात्रै जडान गरिएका छन्।
‘अहिलेको अवस्थामा यतिको उद्योग सञ्चालन गर्न दुई अर्ब रुपैयाँले पनि पुग्दैन होला। लेथ, बोरिङ, ड्रिलिङ मेसिन नै ४० वटाभन्दा बढी जडान गरेका छौँ,’ नारायणले भने।
लेथ मेसिनले धातुलाई खास आकार दिन्छ। बोरिङ मेसिनले प्वालमा धातु भर्ने र ड्रिलिङ मेसिनले प्वाल पार्ने काम गर्छ।
बिग्रेका मेसिन मर्मत गर्न करिब ४० वर्षको उमेरमा मेटल कास्ट उद्योग सुरु गरेका नारायण हाल ७२ वर्षका भए। अहिले उद्योगको जिम्मेवारी इन्जिनियर छोरा निश्चललाई सुम्पेका छन्।
निश्चलका अनुसार मेटल कास्टले नेपालका अधिकांश उद्योगहरूका लागि फलाम ढलाइ गरेर बनाइने सबै किसिमका मेसिन उत्पादन र मर्मत गर्छ।
भन्छन्, ‘१७ एमएमको सानो बलदेखि ९ टनको सिंगल पिस कास्टिङसम्म हामीले तयार गरेका छौँ। उद्योगहरूलाई चाहिने मेसिन र सामानको स्याम्पल र ड्रोइङ उपलब्ध भए हामी जस्तो पनि तयार गर्न सक्छौँ।’
मेटल कास्टले विराटनगरदेखि नेपालगञ्जसम्मका सबै प्रकारका ठूला उद्योगहरूलाई सेवा दिँदै आएको छ। नेपालका धेरैजसो सिमेन्ट उद्योग, स्टिल उद्योग, छड उद्योग र चिनी उद्योगलाई सेवा दिने गरेको छ।
जल विद्युत केन्द्रहरूले पनि मेटल कास्टबाटै सेवा लिने गरेका छन्।
वीरगञ्ज घिउ उद्योग, पशुपति आइरन, कमला रोलिङ मिल, जगदम्बा स्टिल, अशोका स्टिल, नारायणी रोलिङ लगायत उद्योगका मेसिन मेटल कास्टले नै मर्मत गर्छ।
अम्बे, मारुती, शिवम, रिद्धिसिद्धि लगायतका सिमेन्ट उद्योगका मेसिन मर्मतको काम गर्छ। अर्डर अनुसार नयाँ मेसिन पनि बनाउँछ। नेपालमा सबैभन्दा ठूलो लेथ मेसिन, ग्राइन्डर र बोरिङ मेसिन आफ्नै उद्योगमा रहेको निश्चिलको दाबी छ।
भन्छन्, ‘यति ठूलो क्षमताका लेथ मेसिनहरू भएको उद्योग नेपालमा अन्यत्र छैन। भारतमा पनि अलि टाढै पुग्नुपर्छ।’
हालैमात्र फास्ट ट्र्याकको लागि साढे सात टनको घन बनाएको र आगामी दिनमा १५–२० टन क्षमताका सामान बनाउने गरी उद्योगको क्षमता बढाउने काम भइरहेको उनले बताए।
उनका अनुसार मेटल कास्टले कास्ट आइरन, कास्ट स्टिल, आल्मुनियम, तामा, पित्तल, ह्वाइट मेटल जस्ता धातुहरूसँगै स्टेनलेस स्टिलको पनि कास्टिङ सुरु गरेको छ।
ढलान गरेर बनाइने सामान सफा गर्ने ‘सब ब्लास्टिङ’ र त्यसपछि चाहिने वर्कसप पनि उद्योगभित्रै सञ्चालन भएको छ। धातु पगालेर खास आकार दिई सामान बनाउने काम नै मेटल कास्टिङ हो।
मेटल कास्टले पुराना फलाम पगालेर गुणस्तर परीक्षण गरेर सामान उत्पादन गर्छ।
फलाममा हुनुपर्ने कार्बन, फस्फोरस, सल्फर, क्रोमियम, म्याग्निज, निक्कल लगायतको मात्रा परीक्षण गरेर उचित मात्रा कायम गरिन्छ। मेटल कास्टको एउटा खास विशेषता छ।
उद्योगी व्यवसायीहरूले कवाडा मानेर फालेका वा बेचेका मेसिनलाई दुरुस्त बनाएर उद्योगमा उपयोग गर्ने गरेको छ।
एउटा जलविद्युत कम्पनीले २० वर्षअघि कवाडमा बेचेको क्रेन मेटल कास्टले अहिले पनि काम चलाइरहेको छ। मेटल कास्टले त्यो क्रेन प्रतिकिलो तीन रुपैयाँका दरले किनेको थियो।
‘त्यो पुरानो क्रेन मर्मत गरेर अहिलेसम्म चलाइरहेका छौँ,’ नारायणले भने, ‘हिमाल सिमेन्टले पनि बिगे्रको भनेर एउटा क्रेन फालेको थियो। हामीले सवा एक लाख रुपैयाँमा खरिद गर्यौँ। त्यो पनि चलिरहेको छ।’
नयाँ किन्दा आठ–दस करोड रुपैयाँ पर्ने पुरानो मेसिन सस्तोमा किनेर मर्मत गरेर चलाउने गरेको उनले बताए।
भन्छन्, ‘सबै मेसिन नयाँ किनेर उद्योग चलाउन सकिँदैन। कतै कवाडा मेसिन छ र हामीलाई चाहिने खालको भने हामी किन्छौँ। मर्मत गरेर नयाँजस्तै बनाउँछौँ र प्रयोग गर्छौं।’
आफ्नो उद्योगले तीस वर्षको अवधिमा गरेको आम्दानी सबै उद्योगमै लगानी गर्दै ठूलो बनाएको निश्चलले बताए। उनी उद्योग अझै बढाउँदै लैजाने योजनामा छन्।
भन्छन्, ‘हाम्रो परिवारको ३० वर्षको कमाइ र लगानी भनेकै यही उद्योग हो। यहीँबाट कमाउँदै यहीँ थप्दै गरेका हौँ। अहिलेको काम दश गुणाले बढाउने योजना छ।’
मेटल कास्टले दुर्ई वर्षअघि फलाम पगाल्ने विद्युतीय भट्टी (इन्डक्सन फर्नेस) जडान गर्यो। त्यस बेला कोभिड–१९ को त्रास थियो। इन्डक्सन फर्नेस जडान भएपछि नेपाली उद्योगका लागि चाहिने अधिकांश मेसिन मेटल कास्टले नै उत्पादन गर्न थालेको छ।
‘हाम्रो उद्योगमा जस्तो पनि मेसिनरी सामान बन्न सक्छ। हामी भारतबाट सामान ल्याउने होइन, निकासी गर्ने योजनामा छौँ,’ निश्चल भन्छन्, ‘सरकारले केही सहयोग गर्नुपर्यो। हामी निर्यात गर्न सक्छौँ।’
उनका अनुसार मेटल कास्टमा एक वर्षमा १२ हजार टन फलाम पगालेर सामान ढलान गर्न सक्ने क्षमता छ तर हाल वार्षिक १५ सय टनमात्रै फलाम पगाल्ने गरेको छ।
उनले भने, ‘कोभिडकै बीचमा इन्डक्सन फर्नेस जडान गर्यौँ तर सोचेजस्तो काम भएको छैन।’
उद्योगले हाल वार्षिक सरदर २० करोड रुपैयाँको कारोबार गर्ने गरेको उनले बताए।
उनका अनुसार सिमेन्ट र स्टिल उद्योगहरू आर्थिक समस्यामा परेकाले त्यसको प्रभाव मेटल कास्टमा पनि परेको छ। कामदारको संख्या पनि ह्वात्तै घटेको छ।
उनले भने, ‘कोभिडअघि हामीकहाँ ८५ जना कामदार थिए। अहिले मेकानिकल र सिभिल समेत चारजना इन्जिनियर, सिनियर टेक्निसियन, व्यवस्थापन समेतका गरी जम्मा ३५ जना छन्।’
कोभिडपछिको आर्थिक संकटका कारण कामदार कटौती गर्नुपर्ने अवस्था आएको र सुधार हुँदै जाँदा डेढ सय जनासम्मले रोजगारी पाउन सक्ने उनले बताए।
उद्योग फैलिँदै जाँदा मेटल कास्टलाई जमिन पनि कम भएको छ।
‘यतिको उद्योगको लागि तीन बिघा जग्गा साँघुरो हुन्छ। हामी आठ रोपनीमा मात्रै छौँ,’ उनी भन्छन्, ‘नेपालमा उद्योगका लागि जमिन, पुँजी र दक्ष जनशक्तिको अभाव नै मुख्य समस्या हो।’
मेटल कास्टले केही वर्षदेखि काठमाडौँ विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरूलाई इन्टर्नसिप गराउँदै आएको छ।
यी विद्यार्थीहरू दक्ष जनशक्ति हुने निश्चलको विश्वास छ।