विशेषगरी स्टिलको व्यावसाय गर्दै आएको साखः ग्रुपले कृषि परियोजनाअन्तर्गत कम्पोस्ट मलको व्यावसायिक उत्पादन सुरू गरेको छ।
साखः ग्रुपको भगिनी कम्पनी रिकिसी दाईची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले 'रिकिसी ब्राण्ड कम्पोष्ट मल बजारमा ल्याएको हो। मलको कारखाना सिन्धुलीको दूधौली नगरपालिका–७ मा छ।
कम्पनीले रिकिसी कम्पोष्ट प्रालिको सहकार्यमा उक्त मल बजारमा ल्याएको हो।
वि.स. २०३५ सालदेखि नेपालको उद्योग क्षेत्रमा निरन्तर सक्रिय रहेको साखः ग्रुपले फलामे डण्डी, नन फिरस मेटल (तामा, पित्तल आदि) हस्पिटालिटी, मनोरञ्जन लगायतको क्षेत्रमा लगानी गरेको छ। कृषि क्षेत्रमा मलखाद उत्पादनमा हालै मात्र प्रवेश गरेको हो।
हाल स्थानीयस्तरमा पाइने गोबर र सुलिबाट मल उत्पादन गरिरहेको साखः ग्रुपको अध्यक्ष किरण साखले जानकारी दिए।
'अहिले मुख्य रूपमा गोबर र सुलिबाट उत्पादन गरिरहेका छौं,' उनले भने, 'आगामी दिनमा फोहोरबाट पनि उत्पादन गर्छौं।'
उनका अनुसार उत्पादित मल खुद्रा रूपमा किन्ने ग्राहकलाई प्रतिकेजी ३५ रूपैयाँ पर्छ। होलसेल रूपमा ठूलो परिमाणमा लैजाने ग्राहकलाई प्रतिकेजी २५ रूपैयाँमा बिक्री गरिरहेको छ।
सरकारले अनुदान दिने हो भने निःशुल्क रूपमा वितरण गर्न सकिने उनी बताउँछन्।
'सरकारले रासायनिक मलमा अनुदान दिएको छ,' उनले भने, 'त्यो अनुदान कम्पोष्ट मल बनाउन दिने हो भने निःशुल्क वितरण गर्न सकिन्छ।'
यसले पैसा विदेसिनबाट पनि बच्ने उनको भनाइ छ।
मल अभावको समस्या समाधानमा सघाउ पुर्याउने उद्देश्यले उत्पादनमा लागेको उनको भनाइ छ।
उनका अनुसार समूहले मल उत्पादनका लागि ६० वटा टहरा बनाएको छ। आवश्यक कच्चा पदार्थ समूहले स्थानीयस्तरबाटै लिन्छ।
विषादीरहित मल भएकाले यसले राम्रो बजार पाउने आशा उनको छ।
'मलका लागि धेरै फर्म हाउसबाट माग आएको छ,' उनले भने, 'नबिक्ने कुरै छैन। मलमा चाहिने सबै तत्व सरकारी मापदण्डअनुसार हुन्छ। किसानले प्रयोग गर्न डराउनु पर्दैन।'
उनका अनुसार यो मल बालीमा प्रयोग गर्दा माटो खुकुलो बनाउँछ। जराले अक्सिजन लिन पाउँछ। उर्बरशक्ति बढाउन सहयोग पुग्छ।
विभिन्न पालिकाहरूमा यो मल उत्पादनको परीक्षण गरेर राम्रो नतिजा आएपछि साखःले उत्पादन थालेको हो।
सरकारले यस्तो मलमा लगानी गर्ने हो भने वर्षैपिच्छे हुने अभाव समाधान हुने उनको भनाइ छ।
रिकिसी कम्पनी र साख ग्रुप मिलेर अन्य क्षेत्रमा पनि कम्पोष्ट मल उत्पादन गरिरहेका छन्।
विगत साढे चार वर्षदेखि रिकिसीले फोहोरबाट कम्पोस्ट मल बनाउँदै आएको छ। यसले जापानी विधिबाट मल बनाउने गरेको रिकिसी कम्पनीकी अध्यक्ष उषा गिरी बताउँछिन्।
'हामीले जापानी विधिबाट तोकोजाइ बनाउँछौं। यसैलाई अन्य चिजमा मिसाएर कम्पोस्ट मल बनाउने हो,' उनले मल बनाउने तरिकाबारे भनिन्।
उनका अनुसार तोकोजाइलाई फोहोर, गोबर, सुली र माटोसँग मिसाएर मल तयार पारिन्छ।
मल बनाउने तोकोजाइ कसरी बन्छ?
तोकोजाइ खरानीजस्तो धूलो हुन्छ। यसलाई एनबिएम प्रविधिस सी–कार्बन, एन–नाइट्रोजन, बी–ब्याक्टेरिया र एम–मिनरलबाट बनाइन्छ। भुसमा कार्बन, ढुटोमा नाइट्रोजन, रूखका पात (सोत्तर) मा राम्रा ब्याक्टेरिया र रातोमाटोमा मिनरल तत्व पाइन्छ।
भुस, ढुटो, सोत्तर, रातोमाटो र रिकिसीले जापानी विधिमा बनाएको ब्याक्टेरिया मिसाएर राखेपछि २४ देखि ४८ घन्टामा तापक्रम बढ्दै जान्छ।
६० देखि ७० डिग्री तापक्रममा यसमा भएका अनावश्यक ब्याक्टेरिया मर्छन्। अनि ६ देखि ७ दिनमा तोकोजाइ तयार हुन्छ। ७० डिग्री तापक्रमभन्दा माथि भयो भने चाहिँ आवश्यक ब्याक्टेरिया पनि मर्ने गिरीले बताइन्।
यसरी बनेको तोकोजाइलाई फोहोर वा मल बनाउन मिल्ने जेमा मिसाए पनि हुन्छ।
रिकिसीले व्यापारिक घराना साखः समूहसँग सहकार्य गरेर तोकोजाइ बनाउँछ। तोकोजाइ बनाउन आवश्यक सबै सामग्री साखः ले व्यवस्था गर्छ। त्यसपछि रिकिसीको समूहले ब्याक्टेरिया लगेर तोकोजाइ बनाउने अध्यक्ष गिरीले बताइन्।
तोकोजाइ बनाउने स्रोतसाधन अभाव भएकाले रिकिसीलाई साखः सँगको सहकार्यले सहज भएको छ।
रिकिसीले स्थानीय तहहरूलाई कम्पोस्ट मल बनाउन आग्रह गर्दै आएको छ। मल बनाउने ठाउँ र तोकोजाइ मिसाउने फोहोर पालिकाले नै उपलब्ध गराइदिनु पर्छ।
कम्पनीलाई यो कामबापत तोकिएको शुल्क पनि तिर्नुपर्छ। त्यसपछि कम्पनीले त्यही तोकोजाइ हालेर नगनाउने र सरकारको मापदण्डअनुसारको मल बनाइदिने अध्यक्ष गिरीले बताइन्।
'पहिलो चरणमा फोहोरमा तोकोजाइ मिसाउँछौं। त्यसको ७ देखि १० दिनमा दोस्रो चरणको काम हुन्छ। मापदण्डअनुसार के नपुग छ, जाँच गरेर थप गर्छौं,' उनले भनिन्।
गिरीका अनुसार अहिले थिमि, भक्तपुर, पाँचखाल, जनकपुर लगायत नगरपालिकाले फोहोरमा तोकोजाइ हालेर कम्पोस्ट मल बनाइरहेका छन्।
'स्थानीय तहले यसरी मल बनाउने हो भने फोहोरको समस्या समाधान हुन्छ,' उनले भनिन्।
पालिकाहरूले यो मल आफ्नो क्षेत्रका किसानलाई किलोको १६ देखि २० रूपैयाँमा बेचिरहेका उनले जानकारी दिइन्।
स्थानीय तहहरूले संकलित कुहिने फोहोरबाट यस्तो मल बनाउने भएकाले लागत धेरै कम हुने उनको भनाइ छ।