अहिले धेरै पुराना नेताहरूका छोराछोरी राजनीतिमा सक्रिय छन्। कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा उमेशलाल भने व्यवसायमा जमिरहेका छन्।
उनी क्वेस्ट फर्मास्युटिकल्स नामक औषधि उद्योग चलाउँछन्। श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन्। यसपालि चुनावमा वरिष्ठ उपाध्यक्षमा लड्दै छन्। यही चैत २९ गते हुने चुनावमा उनीसँगै लक्ष्मी ग्रुपका निर्देशक अन्जन श्रेष्ठ र त्रिवेणी समूहका सदस्य रामचन्द्र संघईको पनि उम्मेदवारी छ।
उनलाई धेरैले सोध्छन्- पारिवारिक पृष्ठभूमिभन्दा अलग क्षेत्रमा कसरी आउनुभयो?
श्रेष्ठ भन्छन्, 'भोको पेटमा राजनीति चल्दैन भन्ने मेरो मान्यता छ। भोको पेट बसेर जसले राजनीति गर्छ, त्यहाँ चलखेल हुन्छ।'
उनी राजनीतिबाट पर धकेलिएको २०३४ सालतिर हो। उनकी आमा सहाना जागिरे थिइन्। तर उनको जागिर खोसियो।
'आमा प्रोफेसर हुनुहुन्थ्यो। राजनीतिक कारणले उहाँको जागिर छुट्यो,' श्रेष्ठले भने, 'त्यहीँबाट मेरो बाटो राजनीतिबाट टाढा भयो। म व्यवसायमा लागेँ।'
सुरूमा उनी बहुराष्ट्रिय औषधि कम्पनीमा काम गर्थे। त्यहाँ चार वर्ष काम गरे। यो अनुभवले उनलाई व्यापारी बनायो। उनले साझेदारीमा औषधि पसल खोले। उनी औषधिको होलसेल र रिटेल दुवै गर्थे। त्यो बेला काठमाडौंमा ६/७ वटा औषधि पसल भएको उनी बताउँछन्।
केही समयपछि उनलाई व्यापारबाट मात्रै केही हुँदैन भन्ने लाग्यो। अर्थात् पुँजी निर्माण, रोजगारी सिर्जना, प्रतिष्ठा हुन्थेन। त्यसैले केही समयपछि उनले सबै औषधि पसल बन्द गरे।
अनि औषधि उद्योग खोल्नतर्फ लागे।
'औषधि बेचेर मात्रै हुँदैन। यसको उद्योग खोल्न पर्छ भन्ने सोचले उद्योगमा लगानी गरेको हुँ,' उनले भने।
उनको पहिलो औषधि उद्योग सिम्का औषधि प्रालि हो। त्यो २०४० सालमा स्थापना भएको थियो। त्यसपछि २०५१ सालमा अर्को उद्याेग खाेले। यसले आयुर्वेदिक औषधि मात्र उत्पादन गर्थ्यो। यसपछि उनकाे उद्योगकाे यात्रा राेकिएन। २०५८ सालमा विशेष गरी मुटु, मधुमेहसम्बन्धी औषधि उत्पादन गर्ने अर्को उद्योग खोले।
हाल भने उनका दुइटा औषधि उद्योग छन्। यसबाहेक ट्रेडिङ र बीमा कम्पनीमा पनि लगानी छ। उत्पादनमूलक उद्योगअन्तर्गत रबर उद्योग केही समयअघि मात्रै सञ्चालनमा ल्याएको उनले बताए।
आफू व्यवसायमै जमेको बताउने उनले यसपालि महासंघको नेतृत्वमा पुग्ने चाहना राखेका छन्।
'सेवा गर्छु भन्ने उद्देश्यले महासंघमा सक्रिय हुन चाहेको हुँ। गैर नाफामूलक संस्थामा अरू उद्देश्य नै हुँदैन सेवाभावले नै हो,' उनले भने।
नेपालमा सबैभन्दा गाह्रो व्यवसायीलाई भएको तर्क गर्छन् उनी। यसलाई सहज बनाउने लक्ष्य उनको छ।
'हामीकहाँ सबभन्दा गाह्रो काम नै बिजनेस हो। हाम्रा कानुन नीतिहरू, शंकालु व्यवहार अत्यन्तै कठिन छन्,' उनी भन्छन्।
श्रेष्ठ अहिलेको बिग्रिएको अर्थतन्त्रमा महासंघको छातामुनि बसेर समाधानको काम गर्न सकिने बताउँछन्।
दरो रूपमा खडा भएर अर्थतन्त्र उकास्न सरकारलाई सहयोग र खबरदारी गर्ने काममा महासंघ नेतृत्व केन्द्रित हुँदा सुधारको जग बस्ने उनको बुझाइ छ। अहिले निजी क्षेत्रको समस्याबारे महासंघको आवाज बुलन्द नभएको उनको भनाइ छ।
'अहिले निजी क्षेत्र समस्यामा छ। त्यसैले महासंघको आवाज अझ बुलन्द गर्नुपर्छ,' उनले भने।
एक वर्षदेखि आफू जिल्ला-नगरतिर पनि गइरहेको र अहिले महासंघको नेतृत्व लिने उपयुक्त समय भएको उनी बताउँछन्।
'हुन त अहिले म महासंघको नेतृत्व लिन जान लागेको होइन। चन्द्र ढकाल जीलाई सहयोग गर्न जान लागेको हो। तर पनि वरिष्ठ उपाध्यक्षको छुट्टै भूमिका हुन्छ,' उनले भने, 'अहिले देश चरम आर्थिक मन्दीमा छ। अप्ठ्यारो समयमा गएर मैले गएर केही काम देखाउन सक्छु।'