भक्तपुरका रविन पौडेल केही महिनादेखि खाना पकाउन ग्यास र इन्डक्सन चुलो दुवै चलाइरहेका छन्। पहिले एक सिलिन्डर ग्यासले एक महिना पुग्थ्यो। अहिले दुई महिनाभन्दा बढी पुग्न थालेको छ।
इन्डक्सन चुलो चलाउन थालेसँगै उनको घरको बिजुलीको शुल्क बढेको छ। तर अहिले ग्यासको भाउ धेरै बढेकाले फाइदै भइरहेको उनी बताउँछन्।
'पहिले दुई महिनामा ग्यासका लागि ३६ सय रूपैयाँ खर्च हुन्थ्यो। अरू कामका लागि बिजुलीको बिल अलग्गै तिर्नुपर्थ्यो। अहिले बिजुली र ग्यासको समेत खर्च जोड्दा जम्मा ३४/३५ सय रूपैयाँले धानिरहेको छ,' उनले भने, 'देशकै ऊर्जा स्रोत प्रयोग गरेको सही पनि लागेको छ।'
उनको घरमा पहिले तीन वटा ग्यास सिलिन्डर हुन्थे। इन्डक्सन चुलो चलाउन थालेपछि दुइटा सिलिन्डर मात्रै राख्न थालेका छन्।
रविन मात्रै होइन, अरू घरमा पनि बिजुलीबाट चल्ने (इन्डक्सन/इन्फ्रारेड) चुलो प्रयोग बढेको छ। बिजुली प्रयोग बढेसँगै ग्यास खपत घट्न थालेको देखिन्छ।
यसलाई भन्सार विभागको दुइटा तथ्यांकले पुष्टि गर्छ।
एउटा ग्यासको आयात। अर्को इन्डक्सन/इन्फ्रारेड चुलोको आयात।
विभागको तथ्यांकअनुसार यो आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म) मा ३४ करोड ८ लाख ५६ हजार किलो ग्यास आयात भएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्मको तथ्यांकसँग तुलना गर्दा यसपालि पाँच प्रतिशत कम ग्यास भित्रिएको हो। पोहोर यो अवधिमा ३६ करोड ३४ हजार किलो ग्यास आयात भएको थियो।
कोभिडकालीन आर्थिक वर्ष २०७७/७८ लाई अलग राखेर हेर्दा विगत पाँच वर्षयता ग्यास आयात वार्षिक रूपमा औसत १७ प्रतिशतका दरमा बढिरहेको थियो। यसपालि पहिलोपटक ग्यास आयात घटेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
'बिजुलीबाट चल्ने चुलो प्रयोग बढेकै कारण ग्यास आयात घटेको हुन सक्छ,' उनले भने।
सरकारले बिजुली खपत बढाउन विभिन्न प्रयास पनि गरिरहेको छ। २०७७ असारमा घरायसी प्रयोजनमा खपत हुने बिजुली महसुल कम गरेको थियो। त्यो बेला पनि ग्यास आयात घटेको थिएन। अहिले ग्यासको भाउ चर्को भएपछि बल्ल घट्न थालेको देखिन्छ।
घरायसी प्रयोजनमा ग्यास आयात घट्दा नेपाल आयल निगमलाई पनि फाइदा भएको छ। प्रवक्ता उपाध्यायका अनुसार निगमले नेपाल सरकार र भारतीय आयल कर्पोरेसन (आइओसी) लाई गरेर करिब १३ अर्ब रूपैयाँ तिर्न बाँकी छ।
अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ६ सय ३५ रूपैयाँ घाटा छ। एक सिलिन्डर ग्यास किन्न निगमले दुई हजार चार सय ३५ रूपैयाँ खर्च गर्दै आएको छ। त्यही ग्यास उपभोक्ताले एक हजार ८ सय रूपैयाँमा पाउँछन्।
'ग्यास आयात घट्नु खुसीको कुरा हो,' प्रवक्ता उपाध्याय भन्छन्, 'यसले निगमको घाटा कम गर्छ।'
भन्सारको तथ्यांक अनुसार पछिल्लो समय बिजुलीबाट चल्ने चुलोको पनि आयात बढेको छ।
यो आर्थिक वर्षको साउनदेखि फागुनसम्म एक लाख ६२ हजार दुई सय ३५ वटा विद्युतीय चुलो आयात भएको छ। यति चुलो आयातका लागि ३२ करोड ५९ लाख रूपैयाँ खर्च भएको छ।
पोहोर यिनै आठ महिनामा ११ करोड ६५ लाख रूपैयाँ बराबरको ५७ हजार तीन सय २३ वटा मात्र विद्युतीय चुलो भित्रिएको थियो।
यसपालि झन्डै एक लाख ५ हजार चुलो धेरै भित्रिएको हो। यसरी विद्युतीय चुलोको आयात तीन गुणा बढी भएको देखिन्छ।
नेपाल विद्युत प्राधिकरणले पनि पछिल्लो समय घरायसी बिजुलीको खपत बढेको जनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष साउनदेखि माघसम्मको तुलनामा यसपालि दस प्रतिशतले विद्युत खपत बढेको छ।
गत वर्ष साउनदेखि माघसम्म प्राधिकरणले दुई हजार ८४ गिगावाट आवर बत्ती स्वदेशी ग्राहकलाई बेचेको थियो। यो वर्ष यिनै महिनामा दुई हजार तीन सय गिगावाट बत्ती बेचेको छ। पछिल्लो समय उद्योगधन्दा राम्रोसँग नचलेकाले उक्त परिमाणको बत्ती घरायसी प्रयोजनमै खपत भएको प्राधिकरणले जनाएको छ। घरायसी प्रयोजनमा यसपालि १५ प्रतिशत बिजुली खपत बढेको देखिन्छ।
पछिल्ला कैयन वर्षदेखि लगातार बढिरहेको ग्यास आयात पहिलोपटक घटेको हो। तलको टेबलमा हामीले आर्थिक वर्ष २०७४/७५ देखिको तथ्यांक राखेका छौं। ती वर्षहरूको साउनदेखि फागुनसम्म आयात भएको ग्यासको परिमाणले यो लगातार बढ्दै गएको देखाउँछ। यो अवधिमा गाउँघरका उपभोक्ताले पनि परम्परागत चुलो र मट्टीतेल हटाएर ग्यास चलाउन थालेका छन्। यसका बाबजुद यसपालि ग्यास आयात कम भएको हो।
विद्युतीय चुलोकै कारण ग्यास आयात कम भएको हो भनेर पुष्टि गर्न अध्ययन हुन बाँकी छ। तर पछिल्लो समय विद्युतीय चुलो आयात र घरायसी बिजुली खपत बढ्नुले यही संकेत गर्छ। त्यस्तै हामीकहाँ नै विद्युतीय चुलो उत्पादन पनि भइरहेको छ। त्यसको पनि बिक्री बढिरहेको उत्पादक तथा बिक्रेताहरूले बताएका छन्।
नेपाली कम्पनी 'अगेनो' ले एक वर्षमै दुई हजार वटाभन्दा बढी इन्डक्सन र इन्फ्रारेड चुलो उत्पादन गरी बेचेको जनाएको छ। त्यस्तै अरू स्वदेशी कम्पनीका चुलोको माग पनि बढेको देखिन्छ।
ग्यासको भाउ महँगिदै गएपछि धेरै उपभोक्ताले पहिल्यैदेखि आफूसँग भएका विद्युतीय सामग्रीको प्रयोग पनि बढाएका छन्। यी सबैले ग्यास आयात कम गर्न भूमिका खेलेको अनुमान गरिएको छ।
हेर्नुहोस् पछिल्ला ६ आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ग्यास आयात परिमाण-
आर्थिक वर्ष | कुल परिमाण(किलोमा) | आयात वृद्धिदर(प्रतिशतमा) |
२०७४/७५ | २४करोड ५२ लाख १० हजार ७९७ | २५ |
२०७५/७६ | २८ करोड ९ लाख ८६ हजार ९०३ | १४ |
२०७६/७७ | ३१ करोड ३५ लाख ९ हजार ९४ | ११ |
२०७७/७८ | ३१ करोड १० लाख १८ हजार ९६७ | ० |
२०७८/७९ | ३६ करोड ३४ हजार ६१८ | १५ |
२०७९/८० | ३४ करोड ८ लाख ५६ हजार ८०६ | –५ |