सुरूमा सुर्वीन बान्तवालाई पर्यटन व्यवसायी बन्ने रहर थियो।
त्यसैले उनले १९ वर्षकै उमेरमा ट्राभल एजेन्सी सुरू गरे। तर त्यसले उभो लाग्ने संकेत देखेनन्। त्यसपछि उनको ध्यान सौन्दर्य व्यवसायमा गयो। सुर्वीनकी दिदी अनानीक बान्तवाले सन् २००८ देखि क्यानडामा सौन्दर्य व्यवसाय गरेकी थिइन्। क्यानडामा सौन्दर्य विषयमा पढ्न गएकी अनानीकले उतै व्यवसाय सुरू गरेकी थिइन्। दिदीकै सुझावका आधारमा सुर्वीनले २०१२ को अन्त्यतिर सौन्दर्य व्यवसाय दर्ता गरे। अनि सुरू भयो 'अनानीक ब्युटी सलुन एन्ड स्पा'।
सुर्वीनले आफ्नै दिदीको नामबाट यो व्यवसाय सुरू गरेका हुन्। २०१३ मा बानेश्वरबाट सुरू भएको यो व्यवसायलाई सुर्वीनले दरबार मार्ग, ललितपुरको लबिङ मल, बौद्ध र पोखरामा विस्तार गरेका छन्।
भोजपुरको मध्यम परिवारमा जन्मेका ३३ वर्षीय सुर्वीन आफू भने समाजशास्त्रका विद्यार्थी हुन्। तर उनले सौन्दर्य व्यवसायमा आफूलाई स्थापित गरेका छन्।
‘म समाजलाई पढ्छु। यो समाजबाटै धेरै सिक्ने हो। म धेरैभन्दा धेरै मान्छेलाई भेट्छु। यसकै आधारमा योजना बनाउँछु,’ सुर्वीन भन्छन्,‘सौन्दर्यता पनि समाजकै एउटा अंग हो। आफूलाई सुन्दर देखाउनु भनेको फजुल खर्च होइन।’
उनको ब्युटी सलुन एन्ड स्पा यति चर्चित छ कि त्यहाँ सेलिब्रेटीदेखि समाजका प्रतिष्ठित र चर्चित व्यक्तिहरू आउँछन्। उनको सलुनमा प्रयोग हुने कुनै पनि सामग्री दिदीको सुझावबिना राख्दैनन्। अधिकांश सामग्री क्यानडा, हङकङ र कोरियादेखि आउँछन्। सुन्दरतासम्बन्धी सबै सेवा आफ्नो सलुनमा रहेको उनले बताए।
‘सकेसम्म क्यानेडियन प्रोडक्टहरूको प्रयोग हुन्छ। सबै प्याकेजको सेवा उपलब्ध छ। कुनै सामग्री हङकङबाट ल्याउँछु,’ उनले भने,‘तर कुन सामान प्रयोग गर्ने भनेर भन्ने दिदीले हो। दिदी ब्युटिसियन हो र पढेको पनि त्यही हो तर मैले यता यसलाई व्यवसाय बनाएको छु।’
सुरूआती समयमा धेरै संघर्ष गर्न परेको सुर्वीनको अनुभव छ। उनले सलुनमा गएर बजारले कस्तो सामग्री खोजेको छ, गुणस्तरीय सामग्री चल्छ कि चल्दैन भनेर समेत अध्ययन गरे।
‘हामीले ४/५ वर्ष धेरै संघर्ष गरेका हौं। यो मार्केट पढ्न र बुझ्न सुरूमा गाह्रो थियो। दिदीभाइले योजना सुरू गरेका हौं। समाजले बाहिरको सेवा मन पराएको थिएन,’ उनले भने,‘नेल पोलिस गर्यो भने २/४ दिनमै मेटिन्थ्यो। तर हामीले १ महिनासम्म टिकोस् भन्ने गर्यौं। व्यस्त मानिसले चाँडो/चाँडो लगाउन सक्दैन, त्यसैले हामीले उहाँहरूलाई ध्यान दियौं।’
सुरूमा काम जानेका ब्युटिसियन तथा मेकअप आर्टिस्टहरू केही समयमै निस्किने गर्दा उनलाई धेरै अप्ठ्यारो पर्यो। त्यसपछि उनले कम्पनीलाई 'एक्सपोज' दिन थाले। अनि उनले अनानीक ब्युटी स्कुल सुरू गरे। २०१८ यता झन्डै १ हजारले उनको स्कुलबाट तालिम लिइसकेका छन्।
‘एक समय मैले ब्युटिसियन टेक्निसियन र मेकअप आर्टिस्टलाई प्रमोट गरेको थिएँ। तर पछि मैले मेरो कम्पनीलाई प्रमोट गरेँ। त्यसपछि मैले तालिममा विश्वास गरेँ,’ उनले भने, ‘१/२ वर्ष काम गरेर कोही जान्छ भने जाओस् तर मैले नयाँ मान्छेलाई ल्याएर तालिम समेत सुरू गरेँ भने त मलाई केही अप्ठ्यारो हुँदैन भन्ने भयो।’
पछिल्लो पाँच वर्षमा उनले आफ्नो व्यवसायलाई अझै विस्तार गरेका छन्। यही अवधिमा उनले अरू चार ठाउँमा व्यवसाय सुरू गरेका हुन् भने ब्युटिसियनको लागि तालिमसमेत सुरू गरेका हुन्। सुरूमा बानेश्वरमा १५ सय स्क्वायर फिटमा मात्रै रहेको व्यवसायलाई अहिले ४ हजार स्क्वायर फिटमा बढाएका छन्। त्यही ठाउँमा ब्युटी स्कुल छ भने रेष्टुरेन्टसमेत चलाएका छन्।
‘वेटिङमा बस्नेका लागि चिया, कफी र जुस पिउन क्याफे स्थापना गरेको छु,’ उनले भने,‘क्याफे बारसमेत छ, साँझमा झुम्न चाहनेका लागि स्पेसल ककटेल बनाउँछौं।’
आफूले गुणस्तरमा कुनै सम्झौता नगरेको उनी बताउँछन्। त्यसैले उनी सन्तुष्ट छन्। आफ्नो व्यवसायलाई अझै विस्तार गर्ने उनको सोच छ। उनी आफ्नो व्यवसायबाट यति सन्तुष्ट छन् कि अनानिक ब्युटी सलुन ‘कल्चर’जस्तै बनेको उनको दाबी छ।