साथीहरू परीक्षामा राम्रो अंक ल्याउने तयारीमा लाग्दा उनी अनलाइन व्यवसायसम्बन्धी नयाँ–नयाँ उपाय सोच्दै घोत्लिरहेकी हुन्थिन्। विदेशी अनलाइन सपिङ साइट चहार्नु र नेपालमा त्यसका सम्भाव्यता अध्ययन गर्नु, पढाइ बाहेकको अर्को दैनिकी थियो उनको।
यही लगन र मिहिनेतका कारण उनी आज युवा उद्यमीका रूपमा परिचित छिन्। उनी हुन् 'अर्बन गर्ल' अनलाइन व्यवसायकी सह-संस्थापक निकिता आचार्य।
सानो सानो असफलताबाट पाठ सिक्दै उद्यमी बनेकी निकिता गत वर्ष फोर्ब्स पत्रिकाको ३० वर्ष कम उमेरका ३० एसियाली प्रभावशाली युवाको सूचीमा परिन्। यो उनका लागि सफलता मात्र होइन, चुनौती र जिम्मेवारी थपिएको अर्को चरण पनि थियो।
विराटनगरमा जन्मिएकी निकिता चार–पाँच वर्ष उमेरमा काठमाडौं आएको बताउँछिन्। जन्मनाता गाँसिएकाले विराटनगर उनलाई आफ्नै लाग्छ। व्यापारिक इतिहासमा विराटनगर धेरै अगाडि छ। व्यवसायमा सफल हुँदै जाँदा उनलाई यो कुराले प्रेरणा दिन्छ।
'विराटनगर औद्योगिक क्षेत्र हो। पहिले उद्यमी बन्ने सोच नहुँदा वास्ता भएन,' उनी भन्छिन्, 'हिजोआज विराटनगरको हुँ भन्दा खुसी लाग्छ।'
कोरोनाकालमा उनले आफ्नो पहिलो सपना 'युजी बजार डट कम' लन्च गरिन्। त्यसयता उनको व्यस्तता निकै बढेको छ।
'कोरोना समयमै फोर्ब्सको सूचीमा परेको खुसीको खबर आयो। अनि जिम्मेवारी बढेको महशुस भयो,' उनी भन्छिन्, 'काम गर्ने उत्साह पनि थपियो। लगत्तै युजी बजारको सपना पूरा भयो। लकडाउनमा ग्राहकको मागअनुसार हामीले सबै सामान डेलिभर गर्यौं।'
उनले काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिबिए गरेकी हुन्। कलेजकै साथीहरूले सूचना प्रविधिसम्बन्धी काम सुरू गरेका थिए। निकिता र युजी बजारका अर्का सह–संस्थापक किरण तिमिल्सिना त्यहीँ काम गर्थे।
कुराकानी गर्दै जाँदा निकिता र किरणको विचार मिल्यो।
'त्यति बेला हामीले नेपालमा अनलाइन सपिङ विस्तार नभएको महशुस गरेका थियौं,' निकिता भन्छिन्, 'मलाई अनलाइनमा सपिङ गर्न मनपर्ने, तर नेपालमा आफूले खोजेजस्तो पाइन्थेन।'
उनी अगाडि थप्छिन्, 'समस्या छ भने समाधान पनि होला भनेर हामीले अनलाइन सपिङको अवधारणा अघि सार्यौं।'
कलेज पढ्दै गरेका यी दुई युवाले दस–दस हजार रूपैयाँ पकेट खर्च जम्मा पारेर अनलाइन व्यवसाय सुरू गरे। सफल भने भएन। हुन्थ्यो पनि कसरी, आजका दिनमा त मानिसहरू अनलाइन सपिङ गर्न दुईपटक सोच्छन्, यो त झन्डै नौ वर्षअघिको कुरा थियो।
त्यति बेला निकितासँग व्यावहारिक ज्ञान पनि थिएन। सैद्धान्तिक जानकारी मात्र लिएर मैदानमा ओर्लिंदा पर्याप्त भएन। कोही व्यापारी आफ्ना सामान अनलाइन प्लेटफर्ममा राख्न राजी भएनन्। पसलबाटै बिकेका सामान किन दुःख गर्ने भनेर उनीहरू प्रश्न गर्थे। यसको जवाफ निकितासँग पनि थिएन।
'बिनापैसा, बिनाअनुभव, बिनाअध्ययन काम सुरू गर्यौं। त्यति बेला यो काम यति ठूलो होलाजस्तो लागेकै थिएन,' निकिता भन्छिन्, '१९–२० वर्षे उमेरले धेरैतिर सोच्न भ्याएन। पहिलो योजना फेल भएपछि दोस्रो योजनामा काम थाल्यौं।'
उनीहरूले आफैं सामान किनेर अनलाइनमा राखी प्रचार गर्न थाले। साइटमा सामान हेर्न आउनेहरू हुन्थे तर अर्डर हुन्थेन। मानिसहरू मूल्य र सामान साइटमा हेर्थे, किन्न चाहिँ बजारै जान्थे। दोस्रो योजना पनि केही समयपछि नै असफल भयो। त्यति बेलाका सामान अहिले पनि स्टकमा रहेको निकिता बताउँछिन्।
'अर्डर नै नआएपछि व्यापार गरेको के अर्थ भयो र,' उनी भन्छिन्, 'नौ वर्ष पहिलेका टिसर्ट, जुत्ता अहिले पनि स्टकमा छन्। तर अहिले व्यवसाय पनि छ। यो सम्झेर खुसी लाग्छ।'
त्यसपछि उनले 'पर्ख र हेर' को अवस्थामा जे काम गर्दा ठीक हुन्छ, त्यही गर्ने योजना बनाइन्। त्यही सोचबीच अर्को योजना बन्यो जसको माध्यमबाट 'अर्बन गर्ल' आजको स्थानमा छ।
'नेपालमा नपाइने सामान अनलाइनमा राखेर बेच्ने योजना बनायौं,' निकिता तेस्रो योजनाबारे बताउँछिन्, 'विदेशी बजारमा अत्यन्तै चलेका तर यहाँ नपाइने गहनाका डिजाइन हाम्रो लक्ष्यमा पर्यो।'
उनीहरूलाई तेस्रो योजना पूरा गर्न धेरै लगानी चाहिन्थ्यो। त्यसैले अनलाइनमा अर्डर आएपछि मात्रै सामान मगाएर डेलिभर गर्ने भए। यसले लगानी बचायो। हार नमानी डटिरहने निकितालाई तेस्रो योजनाले नसोचेको सफलता दिलायो।
'गहना निकै राम्रा हुन्थे। हेर्नेले नकिन्ने भन्ने नै हुन्थेन र मुख्य कुरा ती सामान नेपालमा हामी मात्र बेच्थ्यौं,' उनले सम्झिइन्।
आफूले यहाँ ल्याएर सामान बेच्न बाहिरबाट कसरी किन्ने भन्ने समस्या त थियो नै। अनलाइन साइट हेरेर इमेलमार्फत सम्बन्ध बढाएरै बजार विस्तार गरेको उनी बताउँछिन्। भन्छिन्, 'आफूलाई आवश्यक परेपछि जसरी पनि पाइने रहेछ। कुनै बहाना चल्दैन।'
लगानी धेरै नभएकाले नाफा राम्रो हुँदै गयो। २०७० सालतिर उनलाई अब व्यवसाय अघि बढ्छ भन्ने विश्वास पलायो।
गहना अर्डरसँगै ग्राहकले सम्बन्धित व्यक्तिलाई उपहार पनि पठाउँथे। सानोतिनो सेलिब्रेसनमा केक काट्ने चलन बढिरहेका बेला युजीले केक पनि डेलिभर गर्न थाल्यो। सुरूमा अन्तैबाट किनेर डेलिभर गरे पनि माग बढ्दै जाँदा उनीहरू आफैंले 'युजी केक' उत्पादन थाले।
'उपहार र केकको पनि अर्डर आउँथ्यो। पछि यसैमा सम्भावना देखियो,' निकिता भन्छिन्, 'हामीले साना-साना अवसर लिएर काम गर्यौं। छ वर्षअघि सुरू भएको युजी केक आज ब्रान्ड बनेको छ।'
सुरूआती दिनमा योजना असफल हुँदा नचाहिने दुःख गरेजस्तो पनि लाग्थ्यो उनलाई। तर ग्राहकले दिएको प्रतिक्रियाले तुरुन्तै ऊर्जा भरिदिन्थ्यो। यही कारण व्यवसाय चटक्कै छाडेर विदेसिऊँजस्तो कहिल्यै नलागेको निकिता बताउँछिन्।
'कहिलेकाहीँ के दुःख उठाएको होलाजस्तो लागे पनि म हात बाँधेर बस्नै सकिनँ। गरेपछि हुन्छजस्तो लाग्यो,' उनले भनिन्, 'कमाइ र नाफा हुन थालेपछि काममा रमाइलो भयो।'
अर्डर लिने, फोटो खिच्ने, अपलोड गर्ने, नयाँ सामान हेर्ने, साइट चहार्ने, डेलिभर गर्ने लगायत कामले उनलाई फुर्सद हुन्थेन। यो व्यस्तताले पढाइमा बाधा पार्छ कि भनेर आमाबुवा र आफैंलाई पनि चिन्ता भइहाल्छ। तर व्यवसायमा संलग्न भएपछि पढाइ झन् राम्रो हुँदै गएको निकिता बताउँछिन्।
'परीक्षामा आउने कुरा व्यावहारिक ज्ञानबाट पाएकी थिएँ। किताब घोत्लिएर पढ्नै नपर्ने भयो। व्यापारमा लाग्दा पढाइ बिग्रेला भन्ने आमाबुवाको चिन्ता पनि दुर भयो,' उनले भनिन्।
पछिल्लो समय धेरै अनलाइन सपिङ साइट खुलिसके। खुल्ने तर्खरमा पनि होलान्। तर व्यवसाय यसरी सुरू गर्नुस् भनेर निकिता कसैलाई सुझाउँदिनन्। आफूले सोचेको काम गर्दै जाँदा मात्रै सफलता हात पर्ने, कुनै सिद्धान्तका पछि लाग्न नहुने उनको अनुभव छ।
'अनलाइन व्यवसायमा ट्रेन्ड पछ्याउनुपर्छ। बजारको माग, रोजाइ के छ, के चलेको छ, के फेरियो जस्ता कुरा सधैं थाहा हुनुपर्छ। नत्र पछि परिन्छ,' उनी भन्छिन्, 'थोरै पैसा कमाएपछि दाँयाबाँया सोच्न थालियो वा घाटा हुँदा आत्तिएर काम हुँदैन।'
निकिताले काम सुरू गर्दा श्रृंखलाबद्ध समस्या नआएका होइनन्। समस्या सामना गर्दै अघि बढ्नु नै व्यावसायिक धर्म भएको उनको भनाइ छ।
'२०७२ सालमा भुइँचालो र नाकाबन्दीले धेरै सताएको थियो। पहिलोपटक कम्पनीको कमाइले डेलिभरीका लागि बाइक किनेका थियौं। पेट्रोलै पाइएन,' उनी सम्झन्छिन्, 'भर्खर किनेको बाइक बेचेर दुइटा साइकल लियौं र काम अघि बढायौं। त्यति बेला आत्तिए पनि हार खाएनौं। अहिले सम्झनलायक क्षण बनेको छ।'
अर्बन गर्ल समूहमा उनले ५० प्रतिशत महिला कामदारमा जोड दिएकी छिन्। बीस हजार रूपैयाँ र दुई जनाबाट सुरू एक कोठे व्यवसाय अहिले ५५ जनाको परिवार चलाउन सक्ने हैसियतमा उभिँदा निकिता निकै खुसी छिन्।
युजी बजारले बजार मागअनुसार नयाँ-नयाँ योजनामा काम गरिरहेकै छ। अनलाइनमा खाद्यान्न, लत्ता-कपडा, गहना छँदैछ, चाँडै अटोमोबाइल्स पनि जोड्ने योजना बनाएको निकिताले बताइन्।
'गाडी, बाइक र यसका सामग्री राख्ने योजना छ। जे चाहियो युजी बजारमा पाइन्छ भनेर सोच आओस् भन्ने हो। बेच्न र किन्न चाहने सबैलाई खुला प्लेटफर्म छ,' २७ वर्षीया निकिताले भनिन्, 'सामानको गुणस्तर, समयमा डेलिभरी दिएकाले ग्राहकको विश्वास जितेका छौं।'
कुनै उत्पादन बजार नपाएर खेर नजाओस् भनेर उनी र उनको टिम पूर्वदेखि पश्चिमसम्मका क्रेता-विक्रेता जोड्ने योजना पनि बनाउँदै छन्। भावी योजनासँगै निकिताले उद्यमीहरूमाझ आफ्नो भावी स्थानको पनि आशा राखेकी छन्।
भन्छिन्, 'उद्यमशीलतामा मेरो पनि केही योगदान र लगानी होला। उद्यमीको सूचीमा मेरो नाम पनि जोडिएर आउला नि जस्तो लाग्छ।'