घुम्नको लागि चार वर्षअघि विदेश गएका रूपन्देहीका अर्जुन भुसाललाई समुन्द्र छेउमा सञ्चालित त्यहाँका होटलले आकर्षित गर्यो। त्यसअघि रोजगारीकै लागि खाडी मुलुक पुगेका भुसाल स्वदेशमै व्यवसाय सुरू गर्ने भन्दै १५ वर्षअघि फर्किएका थिए ।
खाडीबाट फर्किएर भुसालले दुई वर्ष पहिलेसम्म बुटवलमा मोटरसाइकल र कार रिकण्डिसन शोरूम सञ्चालन गरे। तर चार वर्ष पहिलेको विदेश भ्रमणले उनलाई अहिले सुविधासम्पन्न एग्रो रिसोर्ट सञ्चालक बनाएको छ।
रूपन्देहीको सियारी गाउँपालिका मत्स्य पर्यटनको लागि हब बन्दै गएको क्षेत्र हो। भुसालले त्यहीँ सियारीको छपियामा कृत्रिम तालमाथि ‘लुम्बिनी प्यालेस रिसोर्ट’ सुरू गरेका छन्।
‘भिजिटको लागि विदेश गएको बेला त्यहाँको सामुन्द्रिक दृश्यमा पर्यटक रमाइरहेको देखेपछि मलाई पनि कृत्रिम समुन्द्रमा रिसोर्ट सञ्चालन गर्ने परिकल्पना आएको थियो, त्यहीँ अनुसार चार वर्षमै समुन्द्र नभए पनि तालमाथि रिसोर्ट सुरू गर्न सफल भएको छु,’ भुसालले सेतोपाटीसँग भने।
पछिल्ला केही वर्षयता नेपालमा होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्ने युवाको समूह थपिँदै गएको छ।
त्योभन्दा बढी घुम्नकै लागि वर्षेनी लाखौं रुपैयाँ खर्चेर विदेश जाने नेपालीको समूह पनि ठूलै छ।
‘विदेश घुम्न जानेलाई समुन्द्र र त्यसको छेउमा सञ्चालित होटलले नै आकर्षित गर्ने गर्छन्, म थोरै पैसा खर्च गरेर स्वदेशमै विदेशको जस्तै सामुन्द्रिक दृश्यको आनन्द दिने प्रयासमा छु,’ उनले थपे।
बुटवल, भैरहवा र लुम्बिनी तीन वटै सहरबाट एउटै दूरीमा पर्ने सियारी मत्स्य उत्पादनको लागि नेपालकै उर्वर क्षेत्र मानिन्छ।
यहाँ दर्जनौं किसानले सयौं विगाहा जग्गामा पोखरी खनेर माछा पालन गरिरहेका छन्।
सियारी छपियाको जिउँदो माछा देशका विभिन्न सहरमा प्रख्यात छ। पछिल्ला वर्षहरूमा माछापालनसँगै रिसोर्ट खोल्ने क्रम बढ्दो छ।
झण्डै तीन दशकदेखि माछापालन गर्दै आएका सियारी पण्डितपुरका गौरव गौतमले पाँच वर्षदेखि ‘छपिया फिस भिलेज रिसोर्ट’ चलाइरहेका छन्। त्यस्तै केही युवा मिलेर सियारी फिस भिलेज सञ्चालन गरेका छन् ।
यसैबीच भुसालले केही महिनायता सियारी ५ सिद्धपुरमा २२ विगाहा जग्गामा लुम्बिनी प्यालेस रिसोर्ट सञ्चालनमा ल्याए।
भुसाल पहिलो चरणमै सवा एक अर्ब लगानी गरिएको रिसोर्टका एक्ला सञ्चालक हुन् ।
रिसोर्ट सञ्चालनलगत्तै कोरोना संक्रमण र लकडाउन भए पनि अहिले स्थिति सामान्य बन्दै गएको भुसालले बताए।
‘चैतअघि नै रिसोर्ट सुरू गरे पनि साउनसम्म लकडाउनका कारण बन्द गरियो, त्यसपछि असोजमा पनि बन्द गरी कात्तिकदेखि पुनः सुरू गरेका छौं, अहिले पाहुनाहरू आउने क्रम बढिरहेको छ,’ भुसालले भने।
कोरोना महामारीका कारण एकातर्फ लक्षित पाहुना रिसोर्टमा नपुग्ने र अर्कोतर्फ कोरोनाको संक्रमणबाट कसरी सुरक्षित बनाउने भन्नेतर्फ नै आफू केन्द्रित भएको उनले बताए।
‘सञ्चालनमा आएको केही महिनामात्र भएको छ, त्यसैमा कोरोनो संक्रमणको जोखिम छँदैछ, त्यसैले पनि अहिले आउटडोर सेवालाई प्राथमिकता दिएका छौं, सिटिङ पनि आउटडोर नै राखिएको छ,’ उनले थपे।
भुसालका अनुसार त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले बजारको भिडभाडभन्दा टाढा गाउँको बीचमा बनाइएका दर्जनौं माछा पोखरी र तालको छेउमा बसेर रिसोर्टमै उत्पादित अर्गानिक खानाको स्वाद लिन पाउँछन्।
‘सुरूमा सियारीमा रिसोर्ट चलाउँछु भनेर योजना सुनाउँदा र काम सुरू गर्दा साथीभाइ र आफन्तले पत्याउनु भएन। बजार, बसपार्क, एयरपोर्ट र मुख्य राजमार्गबाट यति भित्र आएर रिसोर्ट सञ्चालन गर्न सकिएला र? भन्नुहुन्थ्यो तर मानिसहरूले बजारको कोलाहलभन्दा एकछिन भए पनि एकान्त, शान्त र प्राकृतिक रूपमा आनन्दित हुने स्थानमा बस्नु पाए हुन्थ्यो भन्ने चाहना राखेका हुन्छन् र सफल भएँ,’ उनले विगत सम्झिए।
रिसोर्टको छेउमै ४ विगाहा जग्गामा मुख्य पोखरी निर्माण गरिएको छ।
त्यहीँ पोखरीमाथि आकर्षक डिजाइनमा छुट्टाछुट्टै भवनमा रिसोर्ट सञ्चालन गरिएको छ। रिसोर्टमा यस्ता आधा दर्जन बढी पोखरीमा माछा पालिएका छन्।
‘लुम्बिनी प्यालेस फरक परिकल्पना गरेर सञ्चालन गरिएको रिसोर्ट हो, कुनै पनि बाटो र पुल नभएको तालको बीचमा बनाइएका कोठामा बोटिङ गरेरै जाने गरी हरेक कोठाको लागि अलगअलग बोटिङको व्यवस्था गरिएको छ,’ भुसालले भने ।
तालको बीचमै सुपरडिलक्स, हनिमुन र स्वीट रूम सञ्चालित छन्। रूमबाटै तालमा फिसिङ गरेर माछा बार्बी गरेर खान सकिने व्यवस्थासमेत रिसोर्टमा छ।
‘पाहुनालाई कोठाभित्र बसेर तालमा उफ्रिरहेका माछाको दृश्य अवलोकन गराउने र फिसिङको आनन्द दिने हाम्रो चाहना हो,’ उनले भने।
युवाअवस्थामै वैदेशिक रोजगारी र स्वदेशमा अरू व्यवसायको समेत अनुभव लिइसकेका भुसालले एक दुई वर्षभित्रै ५ सयभन्दा बढी नेपालीलाई रोजगारी दिने लक्ष्य राखेका छन्।
हाल २२ विगाहामा सञ्चालित रिसोर्टमा १ सय जना नेपाली युवाले रोजगारी पाएका छन्।
उनले रिसोर्टको लागि आवश्यक पर्ने माछा, मासु, तरकारी, फलफूल, दुध दही लगायतका वस्तुहरू आफैंले उत्पादन गरिरहेका छन्।
त्यसको लागि १० विगाहामा ‘रूपन्देही एकीकृत कृषि फार्म’ चलाएका छन्। जहाँ तरकारी, फलफूल, भैंसी, कुखुरा, खसीबोका पालिएको छ। कृषि फार्मको लागि मात्रै १५ जनाले रोजगारी पाएको भुसालले बताए ।
अहिले सुरूआत भएकोले तरकारी र फलफूलले रिसोर्टको माग धान्न नसके पनि माछामासु र दुग्धजन्य वस्तु सबै आफ्नै उत्पादनले माग धानेको उनले दाबी गरे।
‘कृषि फार्मबाट उत्पादित सबै उत्पादन रिसोर्टमै खपत हुन्छ, बाहिर विक्री गरिँदैन।
अहिले रिसोर्टमा खपत भइरहेको माछामासु, दूध, दही सबै हाम्रै उत्पादन हुन्। तरकारी र फलफूल पनि ७५ प्रतिशत हाम्रै उत्पादनले धानेको छ,’ उनले जानकारी दिए।
हाइड्रोपोनिक र ग्रिनहाउस प्रविधिमार्फत कसरी स्थानीय र अर्गानिक उत्पादनको स्वाद पाहुनाहरूलाई चखाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित भएको उनी बताउँछन्।
हालसम्म १ अर्ब २५ करोड रुपैयाँ लगानी पुगिसकेको रिसोर्टमा तीन चरणमा गरी तीन अर्ब लगानी पुर्याउने र ५ सय बढी युवालाई रोजगारी दिने उनको लक्ष्य छ।
रिसोर्टको क्षेत्रफल पनि बढाएर ५० विगाहा पुर्याउने उनको योजना छ।
त्यसको लागि जग्गाको खोजी समेत भइरहेको भुसालले बताए।
‘अहिले ३० वटा कोठा र ५ सय क्षमताको रेष्टुरेण्टबाट सेवा दिइरहेका छौं, एक वर्षभित्र ३ अर्ब रुपैयाँ लगानी पुर्याउने र १ सय कोठाबाट सेवा दिने गरी तयारी गरिरहेका छौं,’ उनले भने।
भारतीय सीमा नजिकै रहेकोले पनि नेपालीसँगै भारतीय पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालन गरिएको उनले बताए।
सोही अनुसार शुक्रबार र शनिबार नेपाली र आइतबार भारतीय पर्यटकको अत्यधिक भीड हुन्छ।
दैनिक १ हजारदेखि २ हजारसम्म पर्यटकहरू रिसोर्टको अवलोकन गर्न, फोटो खिच्न र त्यहाँका परिकारहरू खान जाने गरेका छन्।
शनिबार रिसोर्ट घुम्ने, पोखरीमा बोटिङ गर्ने र फोटो खिच्नेको धेरै भीड लाग्न थालेपछि उक्त दिन दुई सय रुपैयाँको प्रवेश टिकट लिने र भित्र गएर लिने जुनसुकै सेवामा त्यसबाट छुट पाउने उनले जानकारी दिए।
भुसालले रिसोर्टसँगै जंगलमा ‘बर्ड वाचिङ’को परिकल्पना पनि अगाडि सारेका छन्।
बर्ड वाचिङको लागि ३ विगाहा जग्गामा जंगल तयार गर्ने र जंगलको बीचमा ३० फिट माथि सडक निर्माण गरी पर्यटकहरूले बर्ड वाचिङको पनि छिट्टै आनन्द लिनसक्ने उनले बताए।
जंगलमा राख्नको लागि यहाँको मौसमसँग हुर्किन सक्ने खालका विदेशबाट समेत चराहरू ल्याउने उनले बताए।
मनबाटै इच्छाशक्ति भयो भने पैसा कमाउन र रोजगारीको लागि नेपालीहरूलाई विदेश नै जानुनपर्ने उनी दाबी गर्छन्।
‘म खाडी मुलुकमा गएर अरूको आदेश र पीडा भोगेर काम गर्नुभन्दा स्वदेशमै आफू जस्तै युवालाई पनि रोजगारी दिने गरी व्यवसाय सुरू गर्छु भनेर स्वदेश फर्किएको हुँ, विदेश जाने अधिकांश युवाहरूले आफ्ना जग्गा जमिन बाँझो छोड्नुभएको छ, फर्किएर बाँझो जमिनमा उत्पादन गर्न सके यही सुन फलाउन सकिन्छ,’ उनी भन्छन्।
पर्यटक घुम्न टाढामात्र जान्छन् भन्ने सोचलाई परिवर्तन गरी नेपालमै र आफ्नै क्षेत्रमै रोक्नु आफ्नो उद्देश्य रहेको र रिसोर्ट सञ्चालन गरेको केही महिनामै त्यो सफलता पाएको उनले बताए।
रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आउँदा ३० कोठामा इन्डोर स्वीमिङ पुल, फिटनेस क्लब, साउना स्टिम र स्पा समेतको सेवा प्रदान गर्ने उनको योजना छ।
त्यस्तै, लुम्बिनी क्षेत्रमा रहेकोले रिसोर्टमा एउटा भवन गौतमबुद्धको जीवनसँग जोड्ने गरी निर्माण गरिने भुसालले बताए।
‘सिद्धार्थ गौतम दरबारमा बस्दाको परिकल्पना गरी पाँच तलाको भवन निर्माण गरिनेछ, १ सय वटा कोठा रहेको भवनको नामनै लुम्बिनी प्यालेस हुनेछ,’ उनले भने, ‘भवन नजिकै ८० फिट अग्लो टावर बनाइनेछ र त्यसबाट प्यालेस बस्ने पाहुनालाई मात्र दृश्यावलोकन गर्न दिइने छ।’