रूपन्देही चिल्हियाका चन्द्रपाल केवटलाई सम्झना पनि छैन कि आफूलाई माटाका मुर्ति बनाउन मन लागेको कहिले देखि हो।
स्कुलबाट भागेर खेत र खोलाको हिलो माटोमा पुग्ने गरेको सम्झन्छन्। त्यति मात्र कहाँ होर बाटोमा हिँड्दा खोला र कुलोको किनारमा लेसाईलो माटो देख्नै हुन्नथ्यो। जम्मा गरेर घर ल्याईहाल्थे।
दाजुहरू गृहकार्य लेखिरहँदा उनी भने माटो मुछेर मुर्ति बनाइरहेका हुन्थे।
मुर्ति बनाउने रूचीकै कारण उनको पढाईमा रूची घट्यो। आठ कक्षामाथि उक्लिन सकेनन्। कक्षा ८ को परीक्षा दिएपछि भैरहवास्थित सक्षमकला केन्द्रमा गएर मुर्ति बनाउन र शिला लेख्न सिके। सक्षम कलाकेन्द्रमा मुर्ति बनाउन सिक्दा उनले आफ्नो समूहमा प्रथम भएर प्रमाणपत्र पनि पाएका थिए।
‘स्कुल जाँदा पनि खेतमा हिलो माटो भेट्यो कि मुर्ति बनाएर बस्थेँ। स्कुल हिंडेको हुँ भन्ने नै बिर्सिन्थेँ। अहिले मुर्ति बनाउनको लागि सर्टिफिकेट पाइसकेको छु,’ उनले भने।
१९ वर्ष मात्रै पुगेका चन्द्रपाल पढाई छोडेर हिलो र माटोसँग मात्र खेल्न थालेको ५ वर्ष पुगिसक्यो। यो बीचमा एकसय भन्दा बढी दुर्गा र लक्ष्मी माताका मुर्ति बनाईसकेका छन्।
दर्जनौं संख्यामा सिमेन्टको घोंडा, हात्ती, मयुर, डांफे जस्ता जनावर र पंक्षी बनाईसकेका चन्द्रपाल मुर्तिकलामै आफ्नो भविष्य देख्छन्। व्यावसायिक मुर्तिकार हुने ध्याउन्नमा छन्।
दशैं, तिहारमा दुर्गा र लक्ष्मीका मुर्ति बनाउने चन्द्रपाल अरू समयमा भने विभिन्न पार्क, घरका बगैंचा तथा मठमन्दिरहरूमा राख्नको लागि अर्डर गरिएका सिमेन्टका मुर्ति बनाउन व्यस्त हुन्छन्।
चन्द्रपालले यस वर्ष दशैंमा १३ वटा दुर्गा मुर्ति बनाएका थिए। तिहारको लक्ष्मीपूजाको लागि चार वटा मुर्तिको अर्डर आएको थियो।
कोरोना महामारीका कारण गत वर्ष जस्तो यस वर्ष मुर्ति बनाउने अर्डर नआएपनि उनले हात भने खाली राख्नु परेन।
गत वर्ष लक्ष्मीपूजाको लागि मात्रै २० वटा लक्ष्मीमाताका मुर्ति बनाएका थिए। त्यतिकै संख्यामा दुर्गा मुर्ति बनाएका थिए। उनलाई दशैंमा दुर्गापूजा र तिहारमा लक्ष्मीपूजाको लागि तीन चार महिना पहिलेदेखि नै मुर्ति बनाउने अर्डर आउँथ्यो। अर्डर नआए पनि चैत वैशाखदेखि नै मुर्ति बनाउन सुरू गर्थे।
यस वर्ष भने कोरोनाका कारण गाउँघरमा लक्ष्मीपूजाको लागि मुर्ति राखिएन। कोरोना संक्रमण फैलिन नदिनको लागि भीडभाड हुनेगरी कुनै पनि कार्य गर्न सरकारले रोक लगाएपछि चन्द्रपालको मुर्ति बनाउने काम पनि केही कम भएको छ।
गत वर्ष दशैं र तिहारमा दुर्गा र लक्ष्मीको मुर्ति बनाएर मात्रै चार लाख भन्दा बढी आम्दानी गरेका थिए। उनले मुर्तिको साइज र अर्डर संख्याको आधारमा शुल्क लिने गर्छन्। सिमेन्टको मुर्तिमा लागत धेरै लाग्ने भएकोले फुटको आधारमा नापेर शुल्क लिने गर्छन् भने माटोको मुर्तिको आपसी समझदारीमा शुल्क लिन्छन्।
यसपाली बनाएको सबैभन्दा ठूलो र अरू आकृति समेत थपिएको लक्ष्मी मुर्तिको लागि ३० हजारमा अर्डर लिएका थिए। अरू दुई मुर्तिको २०/२० हजार ।
‘मुर्तिको लागि लिएको आधा रकम त सामान खरिद गर्दा नै सकिन्छ, मुर्ति बनाउन छड, बाँस, पराल, रङ, कपडा, गरगहना र श्रृङगारका सामान किन्नु पर्यो,’ उनले भने।
दुर्गा पूजा र लक्ष्मीपूजाको लागि मात्र मुर्ति स्थापना गरिने र पछि नदी तथा जलासयमा विसर्जन गरिने भएकोले यी मुर्तिमा बांस, पराल, सुतली र माटो मात्रै प्रयोग गर्छन् । लामो समय टिकाउ होस् भनेर राख्नको लागि अर्डर भयो भने सिमेन्टको लेपन गरेर पनि मुर्ति बनाउँछन्।
मुर्ति बनाउनको लागि उनले पोखरी तथा खोलाबाट माटो खोजेर ल्याउनुपर्छ।
‘वर्षाको भेलसँगै बगेर आउने पांगो माटो मुर्ति बनाउन राम्रो मानिन्छ,' उनले भने।
त्यसैले तिनाउ नदीमा बाढी आयो भने उनी नदी किनारमा माटो खोज्न पुग्छन्। बाढीको धमिलो पानीसँगै घोलिएर आएको हिलो माटो नदीको किनारमा थुप्रिदै जान्छ, बाढी कम हुँदै गएपछि उनी त्यसैलाई जम्मा गरेर घरमा ल्याउने गर्छन्।
‘तिनाउ नदी नजिकै भएकोले माटो किन्न परेको छैन, तर जम्मा गर्न भने समय लाग्छ, बाढी आएको समय पर्खिनुपर्यो, बाढी आएन भने खोलाभित्र पसेर पनि माटो खोज्नुपर्छ,’ उनले भने।
चौध वर्षको उमेरदेखि व्यवसायिक रूपमै मुर्ति बनाउन थालेका चन्द्रपालले यसैलाई आफ्नो पेशा बनाउने बताउँछन्।
‘धेरै पढे पनि गर्ने त कुनै पेशा, व्यवसाय नै हो, अहिले सिप बिनाको पढाइको कुनै काम पनि छैन, मैले सर्टिफिकेटको लागि स्कुल पढ्न नसके पनि यो समयमा सिप सिकेको छु, यसैलाई व्यवसायिक बनाउँछु,’ चन्द्रपालले भने ।
उनलाई कुन मुर्तिसँग कसको मुर्ति राख्नुपर्छ भन्ने ज्ञान छ।
‘लक्ष्मीमाताको मुर्तिसँग गणेश र सरस्वतीको मुर्ति राख्नै पर्छ, हांस र कमलको फूल त लक्ष्मीको लागि महत्वपूर्ण भईहाले, मयूंरले अलि आकर्षक बनाउला भनेर थपेको हो, यी सबैमा रङ भरेपछि राम्रा देखिन्छन्,’ उनले भने।
रूपन्देहीका गाउँगाउँमा आफूजस्तै मुर्ति बनाउनेहरूको संख्या धेरै रहेपनि सरकारले भारतबाट ल्याउने मुर्ति रोक्न नसकेकोप्रति भने उनको दुःखेसो छ।
‘यो वर्ष त कोरोनाको कारण भारतबाट मुर्ति आउन सकेनन्, पहिलेका वर्ष त ट्याक्टर भरेर मुर्ति ल्याइन्थ्यो, हामीजस्ता युवालाई स्वदेशमै राख्ने हो भने भारतबाट ल्याउने मुर्तिलाई रोक्नुपर्छ,’ उनले भने।