कोरोना महामारीपछि रुपन्देहीकी देवी न्यौपानेको दैनिकी फेरियो।
महिला जेसिज, लायन्स तथा महिला समूहको नेतृत्व समेत लिइसकेकी न्यौपाने विभिन्न कार्यक्रममा सहभागी हुँदैमा दिन बित्थ्यो।
चैतदेखि नेपालमा फैलिएको कोरोना महामारीका कारण भने उनको दैनिकी घरभित्र मात्रै सीमित भयो।
उता कोरोना महामारीमा उनका श्रीमानले वर्षौंदेखि गर्दै आएको व्यवसाय बन्द हुने अवस्थामा पुगेको थियो।
त्यसपछि न्यौपानेले दिनभरि घरभित्रै बस्नुभन्दा साथी मिलेर सानोतिनो व्यवसाय भएपनि सञ्चालन गर्ने योजना बनाइन्। उनको योजनामा नजिकका ६ जना साथी सहमत भए।
अनि सुरू भयो- बेलहिया अर्गानिक पोल्ट्री फर्म।
सिद्धार्थनगर नगरपालिका बेलहियामा रहेको १२ कट्ठा जग्गा लिजमा लिएर सुरू गरिएको फर्ममा देवी अध्यक्ष छिन्। उनलाई संगीता शर्मा, सम्झना भण्डारी, मिनाक्षी क्षेत्री, सृजना पोख्रेल र सीमा प्रधानले साथ दिइरहेका छन्।
जेठदेखि उनीहरूले भौतिक संरचना बनाउन सुरू गरेका थिए। साउनमा कुखुराका चल्ला राखे।
उनीहरूको फर्ममा लोकलसँगै गिरिराज र कोइलर कुखुरा हुर्किरहेका छन्। चितवनबाट एक महिनाका चल्ला ल्याएका थिए। हावापानी मिल्ने ठाउँबाट अल्लि ठूला भैसकेपछि ल्याएका कारण सजिलै हुर्किएको देवीले बताइन्।
अहिले फर्ममा ६ सय कुखुरा मासुको लागि तयारी अवस्थामा पुग्दै छन्।
उनीहरू ६ जनामध्ये धेरैका श्रीमान् पर्यटन क्षेत्रमा आवद्ध थिए। घरपरिवार चलाउने खर्च श्रीमानले राम्रै कमाउँथे।
अब आफूहरूले पनि मिलेर केही न केही गर्नुपर्छ भन्ने योजना बुन्दै थिए ६ जना साथी। कोरोना महामारी सुरू भैहाल्यो।
कोरोना महामारीपछि सबैभन्दा बढी मारमा पर्यटन क्षेत्र नै पर्न गयो।
'त्यसपछि त हामीलाई त्यसले पनि हामीलाई छिटो फर्म सञ्चालन गर्न दबाब दियो,’ देवीले भनिन्।
वर्षौदेखि राम्रैसँग चलिरहेका व्यापार व्यवसाय ठप्प भएपछि परिवारको खर्च चलाउन पनि विकल्पमा फर्म खोलेको उनले बताइन्।
उनीहरू यसअघि भैंसी फर्म सञ्चालन गर्ने योजनामा थिए। तर एउटै भैंसीलाई एक डेढ लाख रुपैयाँ पर्ने। लगानी धेरै गरेर उनीहरूले भैंसी फर्म खोल्न नसक्ने भए। अलि सस्तो कुखुरा पाल्न नै हुने भयो।
लकडाउनकै बीचमा काम सुरू गरिएकोले कुखुरा राख्ने सबै सेडहरु बन्न बाँकी छन्। अहिले दुइटा सेड तयार भइसकेका छन् भने थप तीन वटा सेड बनाउन बाँकी रहेको देवीले बताइन्।
एक वर्षभित्रै १० हजार कुखुरा पाल्ने उनीहरूको योजना छ। फर्ममा अहिले ४५ लाख रुपैयाँ लगानी भइसकेको छ। फर्ममा कुखुराको संख्या थप्ने मात्र होइन, चल्ला ह्याचरिङ र दाना उत्पादन पनि आफैंले गर्ने उनीहरूको योजना छ।
त्यसको लागि नजिकै रहेको खाली जग्गा लिजमा लिने प्रक्रियामा छन्। भैरहवानजिकै रहेकोले लिजमा लिएको जग्गाको भाडा भने अलि महंगो बुझाउनु परेको देवीले बताइन्। १२ कट्ठा जग्गाको वार्षिक १ लाख २० हजार रुपैयाँ भाडामात्रै बुझाउँछन्।
फर्मको रेखदेखको लागि एक जना हेरालु राखे पनि अरू व्यवस्थापनको काममा भने ६ जना आफैं खटिने गरेका छन्। आफ्ना व्यवसाय बन्द अवस्थामा रहेकोले उनीहरूका पतिहरूले पनि सघाउँछन्।
खाली रहेको खेतको बीचमा फर्म रहेकोले कुखुरालाई चरनको लागि समेत प्रर्याप्त स्थान छ। त्यसैले पनि चार महिनाको साढे दुई किलोसम्म तौलका पुगिसकेका छन्।
दिनभरि खेत र कान्लामा किराफट्यांग्रा खोजी खाँदा र बाहिरी वातावरणमा घुलमिल हुँदा कोइलर कुखुरा पनि हेर्दा लोकलजस्तै देखिन्छन्। मासुको लागि ब्रोइलर र अण्डाको लागि लेयर्स कुखुरा पालन फस्टाइरहेको अवस्थामा पछिल्लो समय लोकल र गिरिराज जातका कुखुरातर्फ कृषकको आकर्षण बढ्न थालेको छ।
लोकल कुखुराको मासु स्वास्थ्यको लागि लाभदायक र पौष्टिक हुने भएकोले यसको मूल्यसमेत राम्रो रहेको फर्मकी सदस्य सम्झना भण्डारीले बताइन्। घरमा त्यतिकै बस्नुभन्दा समूहमा भए पनि सानोतिनो व्यवयास गर्न सके पैसाको लागि अरूमा भर पर्नु नपर्ने र परिवारलाई समेत सघाउ पुग्ने भण्डारी बताउँछिन् ।
पोल्ट्री फर्ममा अग्रसर महिला व्यवसायमा मात्र होइन सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन्। वर्षौदेखि भारतको सुनौलीले ओझेलमा पारेको नेपालको बेलहियालाई उनीहरूकै सक्रियता र दबाबले स्थापित गर्न सघाएको थियो।
देवीकै नेतृत्वमा गठन गरिएको गृहलक्ष्मी महिला समूहले बेलहियालाई स्थापित गर्न स्थानीय संघसंस्था र नगरपालिकासँग समेत ठूलै संघर्ष गर्नु परेको थियो। उनीहरूले सरकारी तथा सामाजिक संघसंस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक स्थानमा राखिएका बोर्डमा लेखिएको सुनौली शब्द मेटाउँदै बेलहिया लेख्ने अभियानसमेत चलाएका थिए।
लामो तथा छोटो दूरीका सार्वजनिक बसहरूमा सुनौली लेखिएको स्टिकर हटाएर बेलहिया लेखाउन त उनीहरूले आन्दोलन नै गर्नु परेको थियो।