रूपन्देहीको गैंडहवा गाउँपालिका-७ छत्रपुराका सन्तोषकुमार प्रजापतिलाई तिहार कहिले आउला भन्ने हुटहुटीले बस्न दिएको छैन।
यो हुटहुटी वर्षौंदेखिको सपना पुरा हुँदै छ भन्ने आसले दिलाएको हो।
अधुरो रहेको घर निर्माणको काम पुरा भए उनको सपना पनि पुरा हुन्छ। त्यसका लागि उनले दीपावली कुरिरहेका छन्।
दीपावलीमा उनले आफूले बनाएका दियो बेच्न पाउने छन्। दियो बेचेर आएको कमाइले उनको अधुरो घर पुरा हुने छ। अनि हुने छ नयाँ घरमा उनको दीपावली!
कक्षा १२ मा पढ्दै गरेका सन्तोषले गत वर्ष पनि दियो बनाएका थिए। ३ लाख आम्दानी भएको थियो। त्यो पैसाले गाउँमै इँटा लगाएर पक्की घर निर्माण सुरू गरे। तीन कोठाको यो पक्की घरमा प्लाष्टर गर्न बाँकी छ।
सन्तोषले विद्यालयको पढाइसँगै खेतीपातीको काममा बुवाआमालाई सघाउँदै फुर्सदको समयमा माटाका दियो बनाउने गर्छन्। उनलाई भाइ नगेन्द्रकुमारले पनि सघाउँछन्।
यस वर्षको दीपावलीको लागि पनि ३ लाख रुपैयाँभन्दा बढीका दियो तयार गरिसकेका छन्। तिहार केही पछाडि गएकोले अझै ५० हजार जतिका दियो बनाउने उनीहरूको योजना छ।
यस वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि समयमै दियो बनाउन पाए। तर उनकोमा आफ्नो सपना पुरा हुने हो कि होइन भन्ने धुकचुक पनि बाँकी छ।
‘दियो बनाएर त समयमै सकिएको छ, आगोमा पोलेर र रङ लगाएर पनि भ्याइएको छ। तर कोरोना सकिएन भने बिक्री गर्न कहाँ लैजाने? दियो बिक्री हुँदैनन् कि भन्ने पिरलो भने थपिएको छ,’ सन्तोषले भने।
उनीहरू दियो बनाउने मात्र होइन बिक्री गर्न पनि आफैं बजार पुग्ने गर्छन्। दिपावली सुरू भएपछि विद्यालय बिदा हुन्छ। तर उनीहरू त विद्यालय छोडेरै भए पनि साप्ताहिक हाट बजारमा पुगेर दियो बिक्री गर्छन्।
उनीहरूले गत वर्ष सबै दियो बुटवल ल्याएर बिक्री गरेका थिए। अहिले भने हाटबजार लाग्छ कि लाग्दैन भन्ने चिन्ता छ।
‘तिहारसम्म कोरोना सकिन्छ कि सकिँदैन, छिटो सकिए त दियो सबै बिक्री हुन्थ्यो। त्यही पैसाले घर प्लाष्टर गर्ने भनेर बसेका छौं,’ सन्तोषले भने।
उनी र भाइले मिलेर सोचिसकेका छन्- यसरी नै मेहनत गरेर दुई भाइलाई दुइटा घर बनाउनु पर्छ।
उनीहरूका बावुआमा बुढा भैसके। आमाले खेतीपाती र घरको काम गर्छिन् बुवाले भने खेतबारी र माटोको भाँडा बनाउने काम।
उनीहरूलाई थाहा छ-आफूहरूलाई हुर्काउने पढाउने र लेखाउने गर्दागर्दै बुवाआमाले पक्की घर बनाउन पाएनन्। त्यसैले आफूहरूले घरको सपना देख्न थालेको सन्तोष बताउँछन्।
'कच्ची घरमै जीवन गुजारेका बुढा बाआमालाई पक्की घरमा राख्ने धोको छ,' उनले भने,'पक्कीघरमा बसेको सपना त सानैदेखि देखेको। यसपालि पुरा होला भनेको कोरोनाले दिन्छ कि दिन्न कुन्नि!'
माटाका भाँडा र दियो बनाउने उनको पुर्ख्यौली पेसा हो। अझ यो त गाउँभरिकै पुर्ख्यौली पेसा। बुढापाकाहरू आँगनमा राखिएको चर्खालाई लठ्ठीले घुमाएर भाँडा बनाउँछन्।
युवाहरू भने विद्युत जोडेर चर्खा घुमाउन थालेका छन्।
‘हातले चर्खा घुमाउँदा ढिलो हुन्छ। मेहनत पनि बढी लाग्छ, बिजुलीबाट छिटो र सजिलो हुन्छ,’ सन्तोषले भने।
दुई भाइ मिलेर एक मिनेटमा १२ वटा दियो तयार गर्ने उनले बताए।
घरको खेतीपाती गर्दै थोरै मेहनतले माटोका भाँडाबाट राम्रो आम्दानी हुने भए पनि माटो ल्याउन भने टाढा जानु पर्ने उनीहरू बताउँछन्। भाँडा बनाउने माटो ढुंगा नमिसिएको लेसाइलो र नरम हुनुपर्छ। त्यसको लागि उनीहरू लुम्बिनी आसपासको क्षेत्रमा पुग्ने गर्छन्। त्यस्तो माटो महंगो पनि हुन्छ।
सन्तोषले चैतमा १४ हजार तिरेर कर्महवाबाट एक ट्याक्टर माटो ल्याएका थिए। आफ्नो खेतमा भाँडा बनाउन उपयुक्त माटो नपाइने भएर माटो लिन लुम्बिनी क्षेत्रमा उनीहरू पुग्नुपर्छ। लुम्बिनी क्षेत्रको कर्महवामा वर्षौंदेखि पानी जमेको माटो हुन्छ त्यो भाँडा बनाउन राम्रो मानिँदो रहेछ।
'पुराना पोखरी रहेको ठाउँमा जमिनमूनि चार-पाँच फिट खनेपछि बल्ल लेसाइलो माटो पाइन्छ। त्यो भाँडाको लागि राम्रो मानिन्छ, हामी सबै गाउँलेले माटो लिन उतै कर्महवा जान्छौं,’ उनले भने।
एक वर्षमा एक ट्याक्टर माटो भाँडा बनाएर सकिने उनले बताए।
आफूहरूले परम्परागत सीपबाटै काम गर्दै आए पनि यसलाई आधुनिकतामा बदल्न सके अझै राम्रो आम्दानी गर्न सकिने सन्तोषको बुझाइ छ।
छत्रपुरा गाउँमा सबैजसो घरपरिवारले माटोका भाँडा बनाउने गर्छन्। बुढापाकाहरूले पहिले माटोका भाँडा बनाएर अन्न साट्थे।
दियो, घैंटा, गमला, भुड्की, गाग्री, मट्का, आरी, हात्तीजस्ता भाँडा बनाउँथे।
हिउँदभरि बनाएर घाममा सुकाएका भाँडालाई दाउरा र गोबरको गुइठाले बालेर पोलेपछि बलिया बन्थे। यसरी बनाएका भाँडाहरू मधेसी समुदायका चाडपर्व तथा विवाहजस्ता शुभकार्यमा अनिवार्यजस्तै थियो। अहिले भने माटोका भाँडाहरूको स्थान प्लाष्टिक तथा धातुका भाँडाले लिएका छन्। त्यसैले गाउँलेहरू गमला र दियोमात्रै बनाउँछन्।
कसैले विवाह तथा चाडपर्वको लागि अर्डर गरे भने गाग्री, घैंटा, हण्डी, भुड्की बनाउँछन्। पूजाको समयमा भने धेरैले मन्दिरमा हात्ती चढाउँछन्।
बुटवल, भैरहवाजस्ता बजारमा मट्का चिया, दही, आइसक्रिम, बिरयानीजस्ता परिकारको प्रचलन बढेकोले त्यहाँसम्म पहुँच पुर्याउन सके युवाहरू पनि यही पेसामा टिकिरहन सक्ने स्थानीय सन्दीप गुप्ता बताउँछन्।
गाउँपालिकाले भने यस्ता पुर्ख्यौली पेशालाई आधुनिक बनाउन र व्यवसायीकरण गर्न खासै सहयोग गरेको छैन। आफूहरू गाउँघरमै बसेर उद्यम गर्न खोजे पनि गाउँपालिकाबाट कुनै सहयोग नपाइएको सन्तोषले बताए।
‘पुर्ख्यौली पेसालाई हामीले उद्योगको रूपमा विकास गर्न खोजेका छौं, हरेक वर्ष माटोका दियोको लागि पनि लाखौं रुपैयाँ भारत जान्छ त्यसलाई रोक्न चाहन्छौं,’ उनले भने।
गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले माटोका भाँडा बनाउने समुदायबाट अहिलेसम्म सहयोगको माग नआएकोले कुनै सहयोग नगरिएको बताए।
‘उनीहरूबाट पनि सहयोगको कुनै माग आएको छैन, हाम्रो पनि त्यसतर्फ ध्यान पुगेको थिएन। कृषि, पशुपालन गर्ने युवालाई गाउँपालिकाले अनुदान दिइरहेको छ भने उनीहरूबाट पनि माग आएको खण्डमा सहयोग उपलब्ध हुन्छ,’ उनले भने।
स्कुल पढ्ने किशोरहरू समेत पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै सानैदेखि स्वरोजगार बनिसकेका छन्। भाँडाको लागि माटो ल्याउने, चाल्ने, मुछ्ने, भाँडा बनाउने र बिक्रीसमेत आफैंले गर्दा उनीहरूमा नेतृत्व क्षमताको विकास भएको गाउँलेहरू बताउँछन्।
आफूहरूको जातीय पेशालाई व्यावसायीकरण गर्न सके युवा पुस्ता वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानु पर्ने बाध्यतासमेत हट्ने उनीहरू बताउँछन्।