केही दिनअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहक बनेर प्याज किन्न बजार पसे।
बजारको अवस्था उनले सोचभन्दा भिन्न आयो। भारतले प्याज पठाउन बन्द गरेको असर नेपाली बजारमा परिसकेको रहेछ। सामान्य भेषमा ग्राहक बनेर गएका मन्त्री नै ठगिए।
बेलाबखत यसरी बजार अनुगमन नहुने होइन। तर, परिणाम त्यति सन्तोजनक छैन। महँगी, बजारभाउ नियन्त्रणमा आएको छैन।
लामो समयपछिको लकडाउन खुलेपछि अकासिएको बजारभाउ नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले व्यापारीलाई सम्झाइ बुझाइ थालेको छ।
मूल्यवृद्धि नियन्त्रण, सन्तुलित व्यापार र उपभोक्ता नठगिऊन् भनेर काठमाडौं महानगरको कृषि विभागले फिल्डमै गएर बजार भाउ बुझ्ने र बदमासी गर्ने व्यापारीलाई सम्झाइ बुझाइ गरिरहेको छ।
महानगरले अघिल्ला वर्ष पनि यस्ता अनुगमन गर्दै आएको थियो। चाडवाडमा बाहेक अरू समयमा बजारभाउ नियन्त्रणमै रहन्थ्यो।
'पोहोर साल पनि अनुगमन गरेका थियौं,' कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले भने, 'यसपटक अलि तीव्रता दिएका छौं।'
त्यसो त यसपटक अलि बढी नै गुनासो आएको उनको अनुभव छ। लकडाउनमा सहरी भीडभाड कम्ता भएको छ। आपूर्ति व्यवस्था सहज नै छ। तै पनि उपभोक्ताको भात–भान्छा सस्तिएको छैन।
'अहिले हामीले आलु, प्याज, गोलभेँडाजस्ता दैनिक र अत्यावश्यक खाद्य अनुगमन गरिरहेका छौं,' भण्डारी भन्छन्, ‘महानगरपालिकाले नगरभित्र आफ्ना संयन्त्र प्रयोग गरेर बजार भाउ नियन्त्रणमा भूमिका खेलिरहेको छ।'
नगरपालिकाभित्रका ३२ वटै वडामा अनुगमन तीव्र पारेको उनको भनाइ छ। उपभोक्तालाई नठगून् भनेर महानगरले कडा अनुगमन भने गरेको छैन। कडा कानुनी कदम पनि उठाएको छैन।
सकेसम्म व्यापारीलाई सम्झाएरै समस्या समाधान गर्ने नीति महानगरको हो। सानो कामबाटै बजार सन्तुलित भयो भने सबै पक्षलाई सजिलो हुने उनी बताउँछन्।
'सानोतिनो बदमासीमा कसैलाई पनि दण्ड-जरिवाना गरेका छैनौं। बिक्रीमा रोक, स्पष्टीकरण माग, कागजपत्र माग गरिरहेका छौं। यसरी नै बजार सन्तुलनमा रह्यो भने राम्रै भयो,' भण्डारीले भने।
महानगरको यो 'सम्झाइ-बुझाइ' अनुगमन कत्तिको प्रभावकारी हुन्छ, हेर्न बाँकी नै छ। महानगर भने यसैलाई निरन्तरता दिने बताउँछ। केही उपाय नलागे मात्र दण्डित गर्न वाणिज्य विभागलाई सिफरिस गर्ने नीति लिएको भण्डारीले जानकारी दिए।
तरकारी तथा खाद्य वस्तुहरू अनुगमन गरेको महानगरले अब भने चाडपर्व लक्षित अनुगमन गर्ने योजना पनि बनाएको छ। चाडपर्वका बेला अखाद्य पदार्थ मिसावट हुने, म्याद गुज्रिएका वस्तु किनबेच हुने, कृत्रिम अभाव सिर्जना गर्ने आदि समस्या उपभोक्ताले झेल्ने गरेका छन्।
'ठाउँलाई भन्दा पनि खाद्य वस्तुलाई लक्षित गरेका छौं। प्याजको मूल्यबारे धेरै नै गुनासो आएकाले हामीले वडाका मूख्य तरकारी तथा खाद्यबजारमा चामल, तेल, गोलभेँडा र ताजा तरकारीबारे पनि जानकारी लियौं। महँगोमा बेच्नेहरूलाई सम्झायौं पनि,' उनी भन्छन्, 'कडा कारबाहीको दायरामा ल्याउने हाम्रो उद्देश्य होइन। कारबाही गर्नुपर्ने गरी व्यापारीले बदमासी नगरून् भन्ने हाम्रो चाहना हो।'
भण्डारीको नेतृत्वमा उपभोक्ता हितका तर्फबाट माधव तिमल्सिना, वाणिज्य विभागका प्रतिनिधि, खाद्य प्रविधि तथा गुणस्तर नापजाँचका प्रतिनिधिसमेत अनुगमनको टोलीमा रहेको उनको भनाइ छ।
'हामी हरेकदिन बजार गएका छौं। जुनसुकै बेला जहाँ पनि जान सक्छौं,' उनी अनुगमनको तरिकाबारे बताउँदै भन्छन्, 'भोलि कहाँ जाँदैछौं, बेलुका मात्रै समूहलाई खबर गर्छौं। बिहानै जान्छौं। यसरी जाँदा पनि कतिपय व्यापारी भागाभाग गर्छन्।'
डर-धम्की नदेखाउने र आफैं ग्राहक बनेर बजार पसेको उनले बताए। यसरी नियन्त्रणमा नआए महानगरले नीति बदल्ने अधिकारीहरूको भनाइ छ।
'पहिले त सम्बन्ध नै बिस्तार गर्छौं,' उनी भन्छन्, 'व्यापार व्यवसाय के-कसो छ, बुझ्छौं। त्यसपछि व्यापारी खुल्दै जान्छन्। मूल्यसूची टाँसे-नटाँसेको, दर्ता भए-नभएको पनि थाहा हुन्छ। सामान किनेपछि बिल, बिजक पनि माग्छौं। गलत भेटिए खाद्य वस्तु नष्ट र जफत पनि गर्छौं।'
खाद्य भन्डारको तुलनामा डिमार्टमेन्ट स्टोर, मार्टहरूमा खाद्य सचेतना अपनाइएको अनुगमन टोलीको अनुभव छ। वस्तु तथा सेवाको खरिदमा उपभोक्ता आफैं सचेत हुनुपर्ने पनि भण्डारी बताउँछन्।
'हाम्रो उपभोक्ता पनि सचेत छैनन्। एक त जानकारी नै छैन। सामान पाए मात्रै भयो। ठीक छ-छैन हेर्ने चलन छैन,' उनी भन्छन्, 'उपभोक्ता ज्ञानी हुनु भएन। आफ्नो हकका लागि लड्नु पर्यो। अरूका हकका लागि बोल्नु पर्यो।'
उनले थपे, 'उपभोक्ता आफैं सचेत हुने हो भने कुनै पनि बजारमा आधा समस्या त्यसै समाधान भइहाल्छ।'