यस साता नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीहरुको कारोबार भएको छ। कुल एक अर्ब ७९ करोड रुपैयाँ बराबरको ६७ लाख १५ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ५० प्रतिशत कम हो।
गत साता १७७ कम्पनीहरुको कारोबारबाट तिन अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयरहरु खरिद बिक्री भएका थिए।नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलव १३ अंकले घटेर अन्तिम दिन १५३९ अंकमा पुगेको छ। समूहगत रुपमा हेर्दा यस साता जलविद्युत, उत्पादन र व्यापारबाहेक सबै समूह घटेका छन्।
जलविद्युत १०, उत्पादन २ र व्यापार समूह ४३ अंकले बढे। वाणिज्य बैंक ८, विकास बैंक ८, वित्त ४, होटल २७ र बिमा समूह १०० अंकले घटे। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५३ अंकले घटेर ३२३.११ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकम (२८ करोड ९० लाख ९० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ६२ हजार कित्ता) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सस्थापक अग्रस्थानमा रहेको छ। कारोबार संख्या (९११ वटा) को आधारमा सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो। लाइफ इन्स्योरेन्स कर्पोरेसन र पोखरा फाइनान्सको बोनस तथा साधारण सेयर सूचीकृत भएको छ।