यस साता नेप्से परिसूचक ८ अंकले घटेको छ। साताको पहिलो दिन १५४७ अंकमा रहेको नेप्से अन्तिम दिन १५३९ अंकमा कायम भएको छ।
कुल १६९ कम्पनीहरुको एक अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयरहरु खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ५०.३४ प्रतिशत कम हो।गत साता पााँच दिन कारोबार भएकोमा यो साता तीन दिन मात्रै हुँदा कारोबार रकममा कमी देखिएको हो।
यस साता बैंकिङ ८, विकास बैंक ८, बित्त ४, होटल २७, बिमा १०० अंकले घटेका छन्। जलविद्यु्त १०, अन्य ४ र उत्पादन समूह २ अंकले बढेका छन्। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५३ अंकले घटेर ३२३ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकम (२८ करोड ९० लाख ९० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी संस्थापक अग्रस्थानमा रहेको छ। नेपाल लाइफकै साधारण सेयर, सानिमा बैंक, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंक कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ६२ हजार कित्ता) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स संस्थापक अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार संख्या (९११ वटा) को आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ। यस साता लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस तथा पोखरा फाइनान्सको एफपिओ सेयर सूचीकृत भएको छ।