आइतबार ५१ अंक बढेर २९२२ विन्दुसम्म पुगेको नेप्सेको वृद्धि टिकाउ हुन सकेन।
बजार उच्चदरमा बढेपछि लगानीकर्ताहरू मुनाफा सुरक्षित गर्नतर्फ लागेसँगै बजार बन्द हुँदा भने नेप्से ०.३२ अंक बढेर २८७० मा सीमित भएको हो।
बजारमा कारोबार रकमले करिब एक वर्षयताको नयाँ रेकर्ड बनाएको छ। गत वर्ष २०८१ भदौ चार गते २८ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको बजारमा आइतबार २१ अर्ब ४६ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
बजारमा यस दिन पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ। उन्नती सहकार्य लघुवित्त, सान्भि हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ।
ट्रेड टावर, शिव श्री, बिन्धवासिनी हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको हो।
सान्भि हाइड्रो, ट्रेड टावरको सेयर हालै मात्र कारोबारमा आएकोले उच्च दरमा बढेको हो। त्यस्तै, धितोपत्र बोर्डबाट हकप्रदको स्वीकृति पाएका कारण शिव श्रीको मूल्य पनि बढेको हो। हकप्रदकै अनुमति पाएकोले सिटी होटलको पनि ८.५० प्रतिशतले मूल्य बढेको छ।
यस दिन सबैभन्दा धेरैले मूल्य घट्नेमा समृद्धि फाइनान्स रहेको छ। कम्पनीको सेयर मूल्य ८.८८ प्रतिशतले घटेको हो।
बजारमा कम मूल्यमा कारोबार भइरहेको पोखरा फाइनान्ससँग मर्जरमा जाने सहमति भएसँगै मूल्य घटेको हो।
समृद्धिको सेयर पाँच सय चार रूपैयाँमा कारोबार भइरहेको छ भने पोखरा फाइनान्सको चार सय ३७ रूपैयाँमा कारोबार भइरहेको छ।
यसदिन नेपाल पुनर्बीमा, बुटवल पावर र हिमालयन रि इन्सुरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ। यी कम्पनीको ५६ करोडदेखि ९८ करोड रूपैयाँसम्म सेयर कारोबार भएको हो।
कारोबारमा आएका समूहगत परिसूचकमा होटल, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र ‘अन्य’ समूहगत परिसूचकमा मात्रै सुधार देखिएको छ।
कारोबारमा आएका तीन सय १६ धितोपत्र, ऋणपत्र र सामूहिक लगानी कोषका इकाइमध्ये एक सय ३५ वटाको मूल्य बढेको छ भने एक सय ७० वटाको मूल्य घटेको छ।