साना तथा मझौला कम्पनीको सेयर निष्कासन प्रक्रियाको लागि बाटो खुला भएको छ।
सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली जारी गरेको छ।
यसरी सेयर जारी गर्ने यस्ता कम्पनीको अधिकतम चुक्ता पुँजी २५ करोड रूपैयाँ तोकिएको छ। आवश्यकता अनुसार कम्पनीको चुक्ता पुँजीको सीमा हेरफेर गर्न सकिने व्यवस्था गरिएको छ। यसमा अर्थ मन्त्रालयको स्वीकृति चाहिने भएको छ।
यस्ता कम्पनीहरूले जारी पुँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म सेयर निष्कासन गर्न सक्नेछन् भने कम्पनीको रेटिङ आवश्यक पर्ने छैन। प्रिमियम रकम राखेर सेयर जारी गर्नेले भने रेटिङ गर्नुपर्ने व्यवस्था छ।
कम्पनीको प्रतिसेयर नेटवर्थको दुई गुणासम्म मूल्य राखेर प्रिमियममा सेयर जारी गर्न पाइने भएको हो।
बोर्डले आवश्यकता देखेमा कम्पनीलाई रेटिङ गर्न निर्देशन दिन सक्नेछ। यस्ता कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम पाँच कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ।
कम्पनीले जारी गर्ने सेयरमा मर्चेन्ट बैंकरको लागि ५ प्रतिशत र संस्थागत लगानीकर्ताको लागि १५ प्रतिशत सेयर छुट्याउने व्यवस्था गरिएको छ। आरक्षणमा सेयर पाउने यस्ता लगानीकर्ताको ३ वर्ष लकइन अवधि तोकिएको छ।
हाल नियमावलीले यस्ता कम्पनीको सेयर कारोबारको लागि स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नुपर्ने उल्लेख गरेको छ।
यस्ता कम्पनीको कारोबार अलग्गै प्लाटफर्मबाट गराउने बोर्डको तयारी छ।
'अहिले यस्ता कम्पनीको कारोबारको लागि आवश्यक पूर्वाधार बनिसकेको छैन,' बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने, 'त्यस्तै, कारोबार प्रक्रियाका बारेमा अहिलेका नियमहरूमा केही संशोधन समेत आवश्यक पर्ने भएकोले केही समय लाग्न सक्छ।'