हालै कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले थप अर्को वित्तीय संस्थालाई यो प्रक्रियामा लैजाने तयारी गरेको छ।
'पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर हामीले स्पष्टीकरण सोधेका छौं,' नेपाल राष्ट्र बैंकका एक सञ्चालक समिति सदस्यले बताए, 'करिब १० दिन अघि समितिको बैठकले यस्तो निर्णय गरेको हो।'
कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नुअघि सफाइको अवसर दिइने गरिएको छ। यो कम्पनीलाई पनि ३५ दिनको समय दिने प्रस्ताव आए पनि सदस्यहरूले १५ दिनको समय दिइने निर्णय गरेका थिए।
राष्ट्र बैंकले विभिन्न आधारमा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्छन्।
मुख्य कारणहरू भने यस्ता छन्, यस्ता संस्थाले समय–समयमा न्यूनतम पुँजी कोष अनुपात पूरा गर्न दिएको निर्देशन पालना गर्न नसक्ने अवस्था आएमा, आफूले पूरा गर्ने वित्तीय दायित्व पूरा नगरेमा वा गर्न नसकेमा, निक्षेपकर्ता, सेयरधनी, साहु वा सर्वसाधारणको हित विपरीत हुने काम गरेको पाइएमा।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४.४४ प्रतिशत खराब कर्जा रहेको वित्तीय विवरण प्रकाशित गरेको थियो। यो अवधिमा कम्पनी पाँच करोड १५ लाख रूपैयाँ नोक्सानमा रहेको थियो।
बढ्दो खराब कर्जाको कारण पुँजी कोषमा समेत दबाब पर्ने अवस्था आउँछ।
कर्णाली विकास बैंकले पनि समस्यागस्त घोषणा हुनु अघि खराब कर्जा ८ प्रतिशतभन्दा कम देखाएको थियो।
राष्ट्र बैंकको निरीक्षणको क्रममा भने ४० प्रतिशत हाराहारी खराब कर्जा पुगेको देखिएको थियो।