ग्राहक पहिचान नभएका वा नराखिएका ग्राहकहरूलाई समेत भुक्तानी सेवा प्रदायक (पिएसपी)का वालेटहरूले सीमाभन्दा बढीको कारोबार गर्न दिइएको फेला परेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पेमेन्ट ओभरसाइट रिपाेर्ट २०२३–२४ ले यस्तो देखाएको हो। राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण तथा अवलोकनमा यस्तो भेट्टाएको हो।
'केही पिएसपिहरूले ग्राहक पहिचान प्रमाणित नगरेका ग्राहकलाई समेत प्रतिदिन पाँच हजारभन्दाबढीको कारोबार गर्न दिइरहेका छन्, यसले आतंकवादी क्रियाकलाप, फ्रड र सम्पत्ति शुद्धीकरण जस्ता अवैधानिक कारोबारमा यस्तो पुँजीको प्रयोग हुनसक्ने सम्भावना रहन्छ,' प्रतिवेदनमा भनिएको छ।
त्यस्तै, मोबाइल वालेटमा दिनको अन्त्यमा ५० हजारभन्दा बढी रकम मौज्दात हुन नहुने व्यवस्थाको समेत पालना नभइरहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
राष्ट्र बैंकले यी लगायतका यस्ता नियम उल्लंघनमा ६ वटा संस्थालाई कारबाही समेत गरेको थियो।
त्यस्तै, आर्थिक गतिविधि सुस्त हुँदा, युवा विदेशिने क्रम बढ्दा र भुक्तानीका एकभन्दा बढी विकल्प हुँदा मोबाइल तथा इन्टरनेट प्रयोगकर्तामा भइरहेको वुद्धिदर भने खुम्चिएको छ।
तथ्यांक अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १५.४ प्रतिशतले बढेर दुई करोड ४६ लाख पुगेको छ। यस्तो वृद्धिदर ९० प्रतिशतसम्म थियो। त्यसयता हरेक वर्ष घट्दैछ।
त्यस्तै, इटरनेट प्रयोगकर्ताको संख्या ३.४ प्रतिशत प्रतिशतले बढेर १९ लाख १९ हजार पुगेको छ। यस्तो प्रयागकर्ताको संख्या केही वर्षअघि ४५ प्रतिशतसम्म बढेको थियो।
त्यस्तै, मोबाइल वालेटको प्रयोगकर्ता २३.४६ प्रतिशत, कनेक्टआइपिएस जस्ता भुक्तानी माध्यमको प्रयोग ४०.२९ प्रतिशतसम्म बढेको छ।