आयात घट्दा र रेमिटेन्स बढ्दा मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेको छ।
चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज) सम्म विदेशी मुद्राको सञ्चिति २२ खर्ब ३२ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।
डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १६ अर्ब ६० करोड डलर छ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १४ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
आयात ४.२ प्रतिशतले घटेर तीन खर्ब ९० अर्ब रूपैयाँमा सीमित भएको छ।
उपभोगमा सुधार हुन नसकेपछि दसैंतिहार अघि पनि आयातमा सुधार हुन नसकेको यसले देखाउँछ।
अघिल्लो वर्षको यही अवधिमा चार खर्ब सात अर्ब रूपैयाँको आयात भएको थियो। यो तीन महिनामा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।