अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्जको अवलोकन गरेका छन्। नेप्से पुगेका अर्थमन्त्री पौडेलले बजार किन २५ सयमा आएको भन्ने बारेमा जिज्ञासा राखेका छन्।
'बजार दुई हजारबाट किन तीन हजार पुग्यो र अहिले किन २५ सयमा आयो? मन्त्री पौडेलले प्रश्न गरे।
उनले बजार सूचक र कारोबार रकम घटेको विषयमा पनि विभिन्न क्षेत्रबाट प्रश्न आइरहेकोले समेत उल्लेख गरे।
'३० अर्ब पुगेको कारोबार किन ६ अर्बमा आयो?’ अर्थमन्त्री पौडेलले प्रश्न गरे।
अर्थमन्त्री पौडेलले बजारको दिगो विकासको लागि सबै पक्षले काम गर्नुपर्नेमा पनि जोड दिए।
अर्थमन्त्री पौडेलसामु नेप्सेका अधिकारीहरूले सेयर सेयर बजार सुधारका विषयमा प्रस्तुति समेत दिएका थिए।
केही समय अघि बजार बढ्दा यो सरकारले जस लिएको तर घट्दा बेवास्ता गरेको भन्दै लगानीकर्ताहरूले सरकारको आलोचना गर्न थालेका थिए।
केही समय अघि नेकपा एमाले निकट व्यवसायिक संगठनले कार्यक्रम नै गरेर नेप्से हुँदै सरकार आर्थिक सुधारमा लागेको घोषणा गरेको थियो। सो कार्यक्रममा अर्थमन्त्री पौडेल समेत सहभागी थिए।
प्रधानमन्त्री केपी शर्मा ओली उक्त कार्यक्रममा प्रमुख अतिथि रहने भनिए पनि उनी स्वास्थ्यमा समस्या आएको भन्दै कार्यक्रममा अनुपस्थित रहे।