नेप्सेमा केही दिनअघि 'हेड एण्ड सोल्डर' आकृति बनेसँगै बजार घट्ने क्रममा देखिने अनुमान बढ्न थाल्यो।
तर, गत बिहीबार बजार एकाएक ७८ अंकले बढेपछि धेरैले बजारमा हेड एण्ड सोल्डर आकृतिको प्रभाव नदेखिनेमा विश्वस्त हुन थाले। यस्तो प्रवृत्तिले मात्रै सधैं सही संकेत गर्न नसक्ने भएकोले पनि लगानीकर्ताहरू आश्वस्त हुन थालेका थिए।
तर, आइतबार नै बजार ५० अंकले ओरालो लाग्यो। अब यसपछि बजार फेरि पनि घट्ने क्रममा नै जाने हो कि भन्ने चिन्ता लगानीकर्ताहरूमा देखिएको छ।
अहिलेको बजारको अवस्था के हो भनेर हामीले बजार विश्लेषक र ब्रोकरलाई सोधेका छौं।
बजारमा कन्फिडेन्स देखिन सकेको छैनः नरेन्द्र सिजापति, अध्यक्ष, कालिका सेक्युरिटिज
अहिले बजारमा लगानीकर्ताको आत्मविश्वास देखिएको छैन। केही दिनदेखि राजनीति वृत्तमा पनि आरोप प्रत्यारोप चलिरहेका छन्।
यसले पनि लगानीकर्ताको मनोविज्ञान खस्किएको छ। विशेषगरी व्यवसायी, व्यापारीहरू यस्ता घटना प्रति संवेदनशील देखिएका हुन्।
सामान्य मानिसहरूले अहिले किनेको सेयर होल्ड नै गरिरहेका छन्। अहिले बेच्ने काम दैनिक कारोबार गर्ने ट्रेडर्स, उधारोमा सेयर किनेकाहरू र प्राविधिक विश्लेषणलाई पछ्याउनेहरूले गरिरहेका हुन्।
दसैंको खर्चको जोहो गर्नेहरूले पनि केही सेयर बिक्री गरिरहेका छन्।
संस्थागत लगानीकर्ताहरूले सेयर किन्ने र होल्ड गर्ने गरिरहेकै छन्। तर, उनीहरू पनि आक्रामक रूपमा सेयर किनिरहेका छैनन्।
बजार करेक्सन मै छः सुवासचन्द्र ढुंगाना, सेयर विश्लेषक
बजारले केही समयअघि देखिको करेक्सनलाई नै निरन्तरता दिइरहेको देखिन्छ। नेप्सेले अहिले २६ सयदेखि २६३० मै प्रतिक्रिया दिइरहेको हो।
अहिले पनि बजारमा कारोबार रकम घटेको छैन। दैनिक १० देखि १५ अर्ब रूपैयाँको कारोबार भइरहेकोमा नै बुलिस प्रवृत्तिलाई कायम राखिराख्न सक्छ।
अहिले बजारमा तरलता उच्च छ, ब्याजदर कम छ। असोजको लागि पनि बैंकहरूले ब्याजदर बढाएनन् वा घटाए भने यसको प्रभाव बजारमा पर्न सक्छ।
ब्याजदरमा एक दुई महिनामै धेरै परिवर्तन हुने होइन। तर, यसको प्रवृत्ति हेरेर लगानीकर्ताहरूले निर्णय लिन्छन्।
अर्को वर्षको लागि ६ महिना अघिदेखि नै ठूला लगानीकर्ताहरूले सेयर किन्ने गर्छन्। त्यसैले ब्याजदरको प्रवृत्ति, कम्पनीहरूको वित्तीय अवस्थामा भइरहेको सुधार लगायतले यस्तो निर्णयलाई प्रभावित पार्छ।
सामान्यतः यसअघि पनि बजार भदौसम्म बढ्ने र असोज कात्तिकमा साइडवेज (निश्चित अंकबीच उतारचढाव हुने) मा जाने गरेको देखिन्छ।
अहिले पनि दसैं तिहारसम्म यस्तै हुन सक्छ। २७६० को विन्दु माथि केही दिन अडिन सकेमा भने बजारले बुलिस प्रवृत्ति समात्न सक्छ। नत्र थप केही घट्न सक्छ।