लामो समय २ हजारको विन्दुमा टेवा पाइरहेको नेप्से परिसूचक मंगलबार यो तहबाट तल आएको छ।
मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा आइपुगेको हो।
यो गत फागुन २० गते यताकै न्युन विन्दु हो। गत फागुन २० गते नेप्से १९६० मा आइपुग्दा बजार बन्द भएको थियो। सकारात्मक प्रभाव पार्ने खालका खबर नआएको कारण बजारको बढ्ने प्रयास सफल हुन सकिरहेको छैन।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाशको वित्तीय विवरण आउने समय हुन लागेसँगै बजारमा वृद्धि देखिने गर्दै आएको छ। तर यसपटक भने यस्तो प्रवृत्ति देखिएको छैन।
वित्तीय विवरण नै सार्वजनिक भएपछि मात्रै बजारको प्रवृत्ति स्पष्ट हुने संकेत देखिन्छ। तर पनि अहिले नेप्सेले २ हजार विन्दुमै टेवा परीक्षण गरिरहेको छ। नेप्से मंगलबार पनि १९८८ सम्म ओर्लिएर फर्किएको थियो।
मंगलबार कारोबार रकम समेत घटेको छ। कारोबार रकम २३.७९ प्रतिशतले घटेर दुई अर्ब १० करोड रूपैयाँमा सीमित भएको छ। यसदिन तीन सय १२ वटाको कारोबार भएकोमा ६८ वटाको मूल्य बढेको छ भने दुई सय २८ वटाको मूल्य घटेको छ।
बजार उच्चले घट्दा पनि केही ऋणपत्रको मूल्य १० प्रतिशतसम्म बढेको छ।
सिद्धार्थ बैंकको ऋणपत्र २०८९ को प्रति इकाइको मूल्य ९.९ प्रतिशतले बढेर एक हजार एक सय ५५ रूपैयाँ पुगेको छ। यो ऋणपत्रको ब्याजदर १०.७५ प्रतिशत छ। बजारमा निक्षेपको ब्याज घट्दा यस्ता ऋण पत्रको मूल्य बढिरहेको हो।
बजार २ हजारको विन्दु मुनि आएसँगै सबैजसो समूहगत परिसूचक घटेको छ। जलविद्युत्, लघुवित्त र अन्य समूहगत परिसूचक सबैभन्दा धेरैले घटेका छन्। यी समूहगत परिसूचक एक प्रतिशतभन्दा धेरैले घटेको हो।