विच्याट–पे चीनमा लोकप्रिय भुक्तानीको माध्यम हो। नेपालीहरू चीन पुग्दा पनि अधिकांश विच्याट–पेकै बाटो प्रयोग गर्नुपर्छ। तर, चिनियाँहरू नेपाल आए भने यो सुविधा थिएन। हामीले गर्दै आएका बैंकिङ, भुक्तानी प्रणालीकै भर पर्नुपर्थ्यो।
वर्षेनी नेपाल आउने चिनियाँहरूको संख्या बढ्दो र भुक्तानीमा यही समस्या मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले भने हालसालै यो सेवा सुरू गरेको छ।
नेपाल घुम्न आएका चिनियाँ नागरिक लक्षित गरी माछापुच्छ्रेले नेपालमै पहिलोपटक विच्याट–पे सुरू गरेको जनाएको छ।
'विच्याट पे, चीनमा सबभन्दा लोकप्रिय पेमेन्ट प्लेटफर्म हो। अहिले सबैको हातमा यही हुन्छ,' माछापुच्छ्रे बैंकिङ नायाब प्रमुख विनय रेग्मीले सेतोपाटीसँग भने, 'उताको सरकारले पैसा पनि चल्तीमा ल्याउ भनेर अपिलसमेत गरेको थियो। चिनियाँ नागरिकको सहजता ध्यानमा राखेर बैंकले अहिले विच्याट वालेट पेमेन्ट सुरू गरेको हो।'
कोरोनाका कारण भ्रमण वर्ष स्थगित गरे पनि आर्थिक क्षेत्र उकास्न पर्यटन क्षेत्रकै सहारा लिनुपर्छ। नेपाल घुम्न आउने पर्यटकको ठूलो हिस्सा चिनियाँ नागरिकले नै ओगट्छन्।
'विच्याट-पेको उद्देश्य यहाँ घुम्न आउने चिनियाँ पर्यटकलाई होटल, रेस्टुरेन्ट, गिफ्ट पसल आदिमा सहजता ल्याउनु हो,' रेग्मीले भने, 'त्यसैले हाम्रो लक्ष्य पनि चिनियाँ रेस्टुरेन्ट, होटल साथै पर्यटकीय क्षेत्रमा हुने व्यापार व्यवसाय नै हुन्।'
रेग्मीका अनुसार होटल रहेको स्थान, रेस्टुरेन्ट, पसलहरूमा विच्याटको क्यु-आर कोड राखिएको हुन्छ। पर्यटकले सहजै स्क्यान गरी रकम भुक्तानी गर्न सक्छन्। यो पेमेन्ट योजना नेपालमा रहेर चीनमा कारोबार गर्ने व्यापारीका लागि भने नभएको रेग्मीले बताए।
'चीनमा कारोबार गर्ने नेपाली व्यापारीका लागि यो योजनाले काम गर्दैन,' उनले भने, 'यो प्रणाली मार्फत् नेपाली पैसा विदेश पठाउन मिल्दैन। यो भुक्तानी लिने मात्रै माध्यम हो। भुक्तानी तिर्न मिल्दैन।'
विच्याट चीनमा प्रख्यात सामाजिक सञ्जाल हो। चिनियाँहरू यसमा अभ्यस्त छन्। यसैसँग जोडिएर आउने विच्याट-पे भने बैंक खाता भएकाले मात्रै चलाउन पाउने चिनियाँ नियम भएको पनि उनले जानकारी दिए।
चिनियाँ नागरिकले यो सञ्जालमा आफ्नो बैंक खाता जोडेर कारोबार गर्न सक्नेछन्। जसले चीनमै यो माध्यम प्रयोग गरिरहेका छन्, उनीहरूले नेपालमा पनि भुक्तानीका लागि यो सेवा प्रयोग गर्न बैंकले बाटो खुलाएको हो।
नेपालमा यो सेवा सुरू गर्न चाहने होटल, रेस्टुरेन्ट वा कुनै पनि पसल सञ्चालकले माछापुच्छ्रे बैंकमा खाता खोल्नु पर्नेछ।
'यसका लागि माछापुच्छ्रेमा खाता खोल्नुपर्ने हुन्छ। खाता खोल्दा विच्याट-पे भनेर आवेदन दिनु पर्छ। फोनमा युजर नेम र पासवर्ड आउँछ,' व्यवसायीले क्यु-आर कोड लिने तरिका बताउँदै रेग्मीले भने, 'एफ-पे भन्ने एप डाउनलोड गरेर कारोबार गर्न सकिन्छ।'
व्यवसाय वा होटलमा प्रत्यक्ष देखिने क्यु-आर कोड प्रयोग गरेर समेत सेवा सुरू गर्न सकिने उनले जानकारी दिए।