इटहरीमा शुक्रबारदेखि बैंकिङ एक्स्पो सुरु भएको छ। मुलुकभर वित्तीय जागरण अभियान चलाउने उद्देश्यले बैंकिङ एक्स्पो आयोजना गरिएको आयोजक मिडिया इन्टरनेसनलले जनाएको छ। एक्स्पो पुस १६ गतेसम्म चल्ने बताइएको छ।
इटहरीको सानो जनता माविमा चलेको एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका ३७ वटा जानकारीमुलक स्टल रहने मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले जानकारी दिए।
वित्तीय साक्षरता राष्ट्रिय अभियानअन्तर्गत नै पूर्वाञ्चलका जनतामा वित्तीय ज्ञान प्रदान उद्देश्यले एक्स्पोको आयोजना गरिएको उनले बताए। बैंक खाता नभएकालाई एक्स्पोमै बैंक खाता खोलिदिइने र बैंकिङ प्रविधिसम्बन्धी जानकारी नभएकालाई ‘ई बैंकिङ,’ विविध बैंकिङ कार्ड तथा ‘मोवाइल बैंकिङ’सम्बन्धी सहज ढंगले जानकारी गराइने उनले बताए।
पूर्वाञ्चलका दुर्गम क्षेत्रमा पनि एक्स्पो संचालन गर्ने योजना रहेको जानकारी समेत दिए।
यसअघि मिडिया इन्टरनेशनलले सुदुरपश्चिम र पश्चिमाञ्चलमा ‘वित्तीय जागरण ‘राष्ट्रिय अभियान’ संचालन गरेको थियो भने काठमाडौँमा पहिलो पटक बैंकिङ एक्स्पोको संचालन गरेको थियो।