जुम्लाको चन्दननाथ नगरपालिकाका कृषक महेन्द्र कार्कीले स्याउ खेती थालेको ६ वर्ष भयो।
पछिल्लो सिजनमा उनले १० लाख रुपैयाँ बराबरको स्याउ बेचे। उनको लक्ष्य भने ३० लाख रुपैयाँसम्मको स्याउ उत्पादन गर्ने थियो। खेती गरेको जमिन र लगानीको न्यूनतम प्रतिफल आए पनि ३० लाख कमाइ हुनेमा उनी ढुक्क पनि थिए।
स्याउका लागि चाहिने आवश्यक मलिलो र पोषिलो तत्त्वको अभाव, उपलब्ध भएको वस्तुको प्रयोगमा उचित ज्ञान नहुँदा उनको त्यो उद्देश्य पूरा भएन।
‘हामी यहाँका कृषक स्वयमले कृषि पढेका छैनौं, प्राविधिक सहयोग गर्ने मान्छे हाम्रो क्षेत्रमा छैनन्। सरकारी निकायमा पनि स्याउ खेतीसँग सम्बन्धित विज्ञहरू छैनन्,’ कार्कीले भने, ‘स्याउका बोटबाट राम्रो उत्पादन लिनका लागि विभिन्न थरीका पोषणजन्य औषधि बेलाबेला दिनुपर्छ, तर हामीसँग त्यस्ता औषधि, मल र ज्ञानको पर्याप्तता भएन।’
कार्कीले डेढ हेक्टर क्षेत्रफलमा तीन हजार स्याउका बिरूवा लगाएका छन्। सबै बिरूवा फल्छन्। आफ्नो फार्ममा उनले उन्नत जातको फुजी स्याउलाई प्राथमिकता दिएका छन्।
आउँदो सिजनमा कार्कीले कम्तीमा पनि २२ लाख रूपैयाँ बराबरको स्याउ उत्पादन गर्ने लक्ष्य राखेका छन्। यसका लागि उनले भारतका स्याउ कृषकसँग सरसल्लाह लिन सुरू गरिसके। भारतमा राम्रो स्याउ उत्पादन गरिरहेका चिनजान भएका कृषकसँगको सल्लाहअनुसार खेतीलाई व्यवस्थापन गर्न सकिए योजना पूरा हुने उनले बताए।
चन्दननाथ–९ का अर्का कृषक रतन रावतले स्थानीय र उन्नत फूजी जातका पाँच सय स्याउका बिरूवा लगाएका छन्। ती सबै बिरूवा फल्छन्। उनले पनि पछिल्लो समय स्याउ खेतीबाट लगानीअनुसारको उत्पादन लिन सकेका छैनन्।
रावतले यो वर्ष स्याउ बेचेर तीन लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने योजना बनाएका थिए। त्यहीअनुसार मेहनत र लगानी पनि गरे। तर उनले सवा लाख मात्र स्याउबाट आम्दानी गरेका छन्।
‘३० क्विन्टल जति उत्पादन हुनुपर्ने हो, लगभग १५ क्विन्टल मात्र उत्पादन भएको छ। पछिल्लो स्याउमा लाग्ने रोग, कीराका कारण लगानीअनुसारको मुनाफा लिन सकेको छैन,’ रावतले भने, ‘अर्को कुरा स्याउ खेतीका लागि चाहिने मल लगायतका कुरा समयमै नपाउँदा पनि उत्पादन उल्लेख्य रूपमा लिन नसकिएको हो।’
रावतले २०६१ सालदेखि स्याउ खेती गरिरहेका छन्। नर्सरी बनाएर स्याउका बेर्ना बिरूवा पनि बेचिरहेका छन्।
कर्णालीका स्याउ उत्पादन हुने क्षेत्रका कृषकले पर्याप्त बजार र उचित मूल्य पाए पनि उत्पादन भने लिन सकेका छैनन्। यसको कारण सम्बन्धित खेतीका प्राविधिक जनशक्ति तथा विज्ञ, मल, औषधिको समयमै उपलब्ध नहुनु हो।
अहिले जुम्लामा स्थानीय जातको स्याउ उत्पादन गर्ने कृषकले प्रतिकिलो ७० रूपैयाँ मूल्य पाएका छन्। उन्नत जातको फुजी स्याउ उत्पादकले २५० रूपैयाँसम्म मूल्य पाएका छन्।
कार्कीले यो सिजनमा १५० देखि २५० रूपैयाँ मूल्यसम्ममा स्याउ बेचे। उनले ग्रेडिङ गरेर स्याउ बेच्छन्। यसरी उनले ‘सी’ ग्रेडको १५०, ‘बी’ ग्रेडको १८०, ‘ए’ ग्रेडको २०० र सुपर ‘ए’ ग्रेडको स्याउ प्रतिकिलो २५० रूपैयाँ मूल्यमा बेचेका हुन्।
कर्णालीका माथिल्ला जिल्लाहरूमा उत्पादन हुने स्याउ सडकमार्ग भएर सुर्खेत, नेपालगञ्ज, बुटवल, काठमाडौं लगायतका ठूला सहरमा निर्यात गरिन्छ। व्यवसायीहरूले सडकमार्ग भएर उत्पादित स्याउ ठूला बजारमा लैजान्छन्।
‘बजारमा स्थानीय जातको स्याउको पनि राम्रै मूल्य छ, माग पनि राम्रो छ। ग्रेडिङ गर्न सकियो भने डेढ सय रूपैयाँसम्म प्रतिकिलो बेच्न सकिन्छ,’ कार्कीले भने, ‘यसका लागि कृषकहरूलाई उचित ज्ञान, प्रविधि चाहिन्छ, कृषकहरूको पनि इच्छाशक्तिको आवश्यकता पर्छ।’
जथाभावी बेच्न थालेपछि स्थानीय जातको स्याउको उचित मूल्य कृषकले नपाएको उनको भनाइ छ।
कर्णालीमा उत्पादित स्याउले पर्याप्त रूपमा बजार पाए पनि असहज सडकका कारण समयमै पठाउन सकिएको छैन। कर्णालीका स्याउ उत्पादन हुने क्षेत्रमा चौबीसै घन्टा सवारी चल्न सक्ने सडक बनाउनतर्फ राज्यले ध्यान दिए समयमै स्याउ निर्यात गर्न सकिने कार्की बताउँछन्।
लगानी गरेको कृषकहरूले राम्रो प्रतिफल लिनेगरी राज्यले व्यवस्थापन गर्नुपर्ने उनले बताए।
‘सरकारले स्याउका बिरूवामा मात्र अनुदान दिएर हुँदैन, सबैभन्दा ठूलो समस्या भनेको खेती व्यवस्थापन गर्ने कुरामा छ। मल लगायतका अत्यावश्यक कुरा नेपालमा एकदमै महँगो छ, यस्ता कुरा सहुलियतमा उपलब्ध गराउन सक्ने वातावरण सरकारले गर्नुपर्छ,’ उनले भने, ‘स्याउका लागि चाहिने कतिपय तत्त्व नेपालमा उपलब्ध पनि हुँदैन, पहुँच हुनेले भारतबाट मगाउँछन्। पहुँच नभएकाहरूका लागि सम्भावना छैन। राज्यले यस्ता कुरामा ध्यान दिनुपर्छ।’
सरकारले स्याउ खेती तथा उत्पादनलक्षित उचित नीति बनाएर पूर्णरूपमा कार्यान्वयन गर्न सकेमा कर्णालीमा पनि स्याउ कृषकको भाविष्य राम्रो भएका कार्कीको बुझाइ छ।
कृषकले उत्पादन गरेको स्याउ समयमै बजार पुर्याउनेगरि सहज सडक र कृषकलाई स्याउ खेती गर्दा आवश्यक पर्ने सामग्री तथा प्रविधि समयमै उपलब्ध हुने व्यवस्था राज्यले गर्न सके देशको अधिकांश माग कर्णालीले पूरा गर्न सक्ने मुगुका स्याउ कृषक तथा व्यवसायी गगन उपाध्याय बताउँछन्।
उनका अनुसार मुगुको खत्याड गाउँपालिका–७ मा ‘स्याउ जोन’ नै छ। यो जोनमा चार सय भन्दा बढी कृषकले स्याउ उत्पादन गर्छन्। बजारको अभाव नभए पनि सडकको असुविधाका कारण समयमै बजारमा पुर्याउन नसकिएको उनको भनाइ छ।
‘अहिले त यहाँका कृषकले स्थानीय जातकै स्याउ उत्पादन गर्नुहुन्छ, बाहिरबाट ल्याएर औषधि वा मल हाल्ने चलन आइसकेको छैन,’ उपाध्यायले भने, ‘तर भोलि कृषकले उन्नत जातको अर्को कुनै स्याउ उत्पादन गर्न सके भने त्यसका लागि चाहिने मल तथा पोषण तत्त्व पाउन मुस्किल हुन्छ, यसमा समयमै ध्यान दिन सक्नुपर्छ।’
यो सिजनमा कर्णाली प्रदेशमा कति स्याउ उत्पादन भयो र कति बजारमा निर्यात भयो भन्ने यकिन तथ्यांक आइसकेको छैन। सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिल्ला जुम्लाबाट भने यो वर्ष ६१ करोड २१ लाख रूपैयाँभन्दा बढीको स्याउ बजारमा निर्यात भएको छ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष साउन २९ देखि कात्तिक ४ गतेसम्म जुम्लाबाट ९ हजार ३५१ मेट्रिक टन स्याउ बजारमा निर्यात गरिएको छ। औसतमा प्रतिकिलो ६५ रूपैयाँ मूल्य राखिएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए।
कर्णाली प्रदेशका सुर्खेतबाहेकका ९ जिल्लामा स्याउ उत्पादन हुन्छ। कर्णाली प्रदेशको कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी स्याउ उत्पादन जुम्लामा र कम उत्पादन रूकुम पश्चिममा हुन्छ।
मन्त्रालयसँग भएको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कअनुसार दुई वर्षअघि कर्णालीमा ३१ हजार १०२ मेट्रिक टन स्याउन उत्पादन भएको थियो।
जसमध्ये सबैभन्दा बढी १२ हजार ५९४ मेट्रिक टन स्याउ जुम्लामा उत्पादन भएको थियो। सोही वर्ष हुम्लामा ४ हजार २२४, मुगुमा ३ हजार ८९१, डोल्पामा ३ हजार ६९६, कालीकोटमा ५ हजार ८६०, जाजरकोटमा ३३०, दैलेखमा २६०, सल्यानमा १७२ र रूकुम पश्चिममा ७५ मेट्रिक टन स्याउन उत्पादन भएको थियो।
मन्त्रालयका अनुसार कर्णालीका ९ जिल्लाको ९ हजार ३७७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। जसमध्ये ३ हजार ४१९ हेक्टर जमिनलाई उत्पादनशील क्षेत्र मानिन्छ। उत्पादनशील क्षेत्रमा प्रतिहेक्टर ९.१० मेट्रिक टन स्याउ औसतमा उत्पादन हुन्छ।