उद्योग मन्त्रालयले बिपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि भकुण्डेबेँसी क्षेत्रमा स्थलगत अध्ययन सुरू गरेको छ ।
काठमाडौंबाट करीब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सिन्धुली, रामेछाप तथा ललितपुर र भक्तपुरबाट नजिक पर्ने भएकाले ठूलो सम्भाव्यता देखिएको छ ।
उद्योग राज्यमन्त्री रेशम लामाको नेतृत्वमा मन्त्रालयका सचिव, सहसचिवसहितको समूहले त्यस क्षेत्रमा मंगलबार औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन तथा स्थानीयको सुझाव संकलन गरेको हो ।
उद्योग राज्यमन्त्री लामाले मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्तिको खाँचो औँल्याउँदै प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेको बताए।
उद्योग सचिव शंकरप्रसाद कोइरालाले मुलुकका विभिन्न क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पूर्वाधारको विकासमा मन्त्रालयले एक अर्ब रुपैयाँ खर्च गरिसकेको जानकारी दिए।
सहसचिव गोपीकृष्ण खनालले त्यहाँ औद्योगिक ग्राम स्थापना भए स्थानीय स्रोत साधनको समूचित प्रयोग हुने र जनता लाभान्वित हुने बताए। नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले मधेश र पहाडको बीच भागमा रहेको उक्त नगरपालिकाभित्र राम्रा फराकिला मैदान रहेको जानकारी दिँदै मन्त्रालयले सुरू गरेको अध्ययनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।