गोलभेँडा उत्पादनमा जिल्ला आत्मनिर्भरोन्मुख छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा गोलभेँडा आयात गर्नुपर्ने अवस्था छ । अहिले वार्षिक ३५० टन गोलभेँडा उत्पादन हुने गरेको छ । व्यावसायिक गोलभेँडाखेतीमा किसानको आकर्षणले जिल्ला आत्मनिर्भरतातर्फ अघि बढेको छ ।
‘सुख्खा यामका चार महिनामा जिल्लाको उत्पादन ७० प्रतिशत छ, ३० प्रतिशत बाहिरबाट आउँछ’, कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले भने ।
बाँकी आठ महिना जिल्लाकै उत्पादनले माग धान्छ । उत्पादनको तुलनामा कारोबार बढेर अहिले वार्षिक एक करोड ५० लाख रुपैयाँसम्म पुगेको छ । जिल्लामा २० वटा उच्च प्रविधियुक्त प्लास्टिक घर (टनेल) मा तथा करीब ७०० सामान्य प्लास्टिक घर (टनेल) मा गोलभेँडा खेती भइरहेको छ ।
सडक सञ्जालको विस्तारले बजारसम्म पुर्याउन सहजता भएपछि गोलभेँडा खेती थप फस्टाएको हो । जिल्लाका बुर्तिबाङ, खरबाङ, हटिया, काँडेबास, नरेठाँटी, दुदिलाभाटी, बिहुँ, कुश्मीसेरा, बागलुङ नगरपालिका लगायतका क्षेत्रमा गोलभेँडा खेती बढी मात्रामा हुन्छ ।
‘गोलभेँडा खेती फस्टाउँदै गएको छ, केही समयपछि बाह्रैमास पुग्ने गरी उत्पादन बढ्छ’, अधिकारीले भने । गत वर्षमात्रै कृषि कार्यालयमार्फत जिल्लाका २० किसानले गोलभेँडालगायतका तरकारी खेतीका लागि कृषि तथा व्यापार आयोजनाबाट १० लाख रुपैयाँका दरले अनुदान पाएका थिए । अनुदान, सीप र उपकरण सहयोगले किसानलाई व्यावसायिक कृषिमा लाग्न उत्प्रेरित गरेको छ । विदेशबाट फर्केका युवा व्यावसायिक कृषिमा लागेका छन् ।
गोलभेँडा उत्पादन गर्न सके बजारको समस्या नहुने किसान बताउँछन् । गाउँगाउँमा उत्पादित गोलभेँडा सदरमुकामलगायतका बजारमा खपत हुन्छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालीगण्डकी करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजना जिल्लामा पर्ने हुँदा यहाँ उत्पादित कृषि उपजलाई बाहिरी जिल्लामा सहजै निर्यात गर्न सकिने अधिकृत अधिकारीले बताए ।