कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करीब ११ लाख रुपैयाँको लागतमा उद्यान निर्माणको कार्य सुरू गरिएको छ ।
जिल्ला वन कार्यालयको आठ लाख ५४ हजार रुपैयाँ, नगरपालिकाको दुई लाख रुपैयाँ र निड्स नामक गैरसरकारी संस्थाको एक लाख ७५ हजार रुपैयाँको लागतमा उद्यान निर्माणको कार्यलाई अगाडि बढाएकोे हो ।
नगरपालिकाको स्वामित्वमा रहेको उद्यानमा एककोठे कार्यालय भवन, प्रवेशद्वार, शौचालय, २८० मिटर चौडाइको बोल्डर पिच, ब्याडमिण्टन कोर्ट निर्माण गरिएका छन् । उद्यानमा ८० प्रजातिका फूलका बिरुवा रोपिएको छ ।
‘चार बिघा क्षेत्रफलमा फैलिएको उद्यानमा दुई हजार सिसौ, लिप्टिस, सागुन, बाँस, लहरेपीपल, वरलगायतका रुख प्रजातिका बिरुवा रोपेका छौँ’, उद्यान निर्माण समितिका अध्यक्ष करनसिंह ऐरले भने ।
उद्यानमा घेरबार राख्नका लागि यसअघि नगरपालिका र वडा कार्यालयले पाँच लाख रुपैयाँ खर्च गरेको थियो ।
उद्यानमा सेड हाउस, पानीका फोहरा, बालबालिका खेल्नका लागि आवश्यक सामग्री, उद्यानमा घुम्न आउनेहरूका लागि विश्रामस्थल निर्माणका लागि भविष्यमा कार्य अगाडि बढाइने नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए ।
‘यसका अतिरिक्त वडा कार्यालय, सामाजिक संघसंस्थाका कार्यालय भवन र खेलकुदका लागि मैदानसमेत निर्माण गर्ने लक्ष्य लिएका छौँ’, उनले भने । सनवोरा नदी किनाराको एकान्त क्षेत्र भएकाले बजारको कोलाहलबाट टाढा रम्नेका लागि उद्यान गतिलो गन्तव्य हुने उनको भनाइ छ । रासस