ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम जसरी पनि दुई वर्षभित्र सक्न निर्देशन दिएका छन्।
ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तर रूपमा अगाडि बढाउन निर्देशन दिएका छन्। सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिबार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरू क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए।
सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरू गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ। जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृतरूपमा काम गर्न नसक्दा लगायतका कारणबाट आयोजनाको काममा ढिलाइ भएको हो।आयोजनाको निर्माण सन् २०१९को जुनमा सक्ने लक्ष्य राखिएको छ। निर्माण तालिकाले भने अझै अन्तिम रूप पाएको छैन।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको बताए। ‘कामलाई तीव्रता दिन जनशक्ति बढाउनु पर्ने देखिन्छ, ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिंदै आएका छौं’,उनले भने,‘सम्झौताअनुसार काम गरिनुपर्छ, कुनैपनि हालतमा आयोजना ढिला हुनुहुँदैन ।’
आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको छ। बाँधस्थल खन्न सुरू भएको छ भने विद्युत गृह रहने ठाउँ खन्ने काम सकिएको छ। ७.१ किलोमिटर मुख्य सुरुङमध्ये करीब तीन किलोमिटर खनिएको छ। विद्युत गृहमा रहने केही इलेक्ट्रो मेकानिकल उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ।
कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए। उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे। ‘आयोजनाको चार वर्ष बितिसकेको छ, अब दुई वर्षभित्रमा जसरी पनि सक्नुपर्छ’,उनले भने,‘एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाढी बढाउनु होस्, अब आयोजना ढिलाई गर्नेलाई छुट दिन सकिदैन ।’