चिसो बढेर त्रिशूली नदीको पानीको बहाव घटेपछि त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ।
वायुमण्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो भएर नदीमा पानीको बहाव घटेकाले २१ मेगावाट क्षमताको त्रिशूली केन्द्रको उत्पादन १३ मेगावाटमा झरेको छ। तापक्रमको दर निरन्तर घट्दै हिउँ पग्लेर बनेको त्रिशूलीमा पानीको सतहमा आएको गिरावटले केन्द्रको विद्युत् उत्पादन घटेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए।
पानीको बहाव कम हुँदा केन्द्रका सातमध्ये हाल पाँच मात्र टर्वाइन सञ्चालनमा छ। पुस सुरु भएसँगै बढेको चिसाले हिमताल तथा हिमाल पग्लने दर कम भएर त्रिशूलीमा पानीको मात्रा घटेकाले अघिल्लो साता केन्द्रको विद्युत् उत्पादन १८ मेवामा ओर्लिएको थियो।
हिमनदी त्रिशूलीको बहाव माघ–फागुनमा कम हुने र चैतको न्यानो मौसम लागेसँगै वृद्धि हुने गरेको छ। अघिल्लो वर्षमा माघको अन्तिमदेखि फागुन पहिलो साता पानीको बहाव कम भएर विद्युत् उत्पादन १४ मेगावाटसम्म गिरावट हुने गरेकामा यस वर्ष पुस अन्तिम सातामा नै अघिल्लो वर्षभन्दा कममा उत्पादन झरेको हो।
नदीमा पानीको वहाव कम भएपछि त्रिशूली केन्द्रको पानीको निकासबाट विद्युत् उत्पादन गर्दै आएको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन क्षमता ११ मेगावाट मात्र छ। देवीघाट केन्द्रको पूर्ण क्षमता १४ मेगावाट हो।
त्रिशूली केन्द्र प्रमुख भट्टका अनुसार अघिल्ला वर्षभन्दा यस वर्ष चिसो मौसम चाँडै आएको र तापक्रमसमेतमा निकै गिरावट भएकाले पानीको बहावमा भएको गिरावटले विद्युत् उत्पादन दर अझै घट्दै जाने देखिएको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रले वैशाखदेखि मंसिरसम्म उत्पादन क्षमतानुसार शतप्रतिशत विद्युत् उत्पादन दिँदै आएका छन्।