म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा निर्माणाधीन घोस्तेखोर लघुजलविद्युत परियोजनाको सामान हेलिकप्टरमार्फत ढुवानी गरिएको छ।
सडकमार्ग भएर शिख पुर्याइएको तार, जेनेरेटर, टवाईनलगायतका उपकरण र सामान बुधबार सिम्रिक एयरको हेलिकप्टरबाट निर्माण स्थलमा पुर्याइएको हो।
आयोजनास्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय, जनशक्ति र खर्च लाग्ने भएकाले सामान ढुवानीमा हेलिकप्टर प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर फगामीले बताए।
शिख मावि परिसरबाट १२ खेप गरेर आयोजना स्थलमा सामान पुर्याइएको थियो। उपभोक्ता समितिका अनुसार सामान ढुवानीमा ११ लाख रुपैयाँ खर्च भएको छ। ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयवासीको पहलमा ५० किलोवाट क्षमताको परियोजना निर्माणाधीन अवस्थामा छ।
परियोजनाको नहर, इन्टेक, विद्युत गृह, फोरवे निर्माण गर्ने, पोल गाड्ने काम सकिएको छ। तार तान्ने, जेनेरेटर र टर्वाइन जडान गर्ने काम गरेपछि परियोजनाबाट विद्युत् उत्पादन हुने जनाइएको छ। चार वर्ष अघिदेखि निर्माण प्रक्रिया थालिएको परियोजना अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागवीर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिकस्रोत जुटाउने क्रम जारी छ। एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा दुई करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ।
आव २०७१/७२ मा तत्कालीन जिल्ला समन्वय समितिले १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष फगामीले बताए।
सामुदायिक लज सञ्चालक समितिले बैंकबाट ऋण लिएर परियोजना सम्पन्न गर्ने तयारी गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत फलाते हुँदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ।
पर्यटकको सुविधा र गाउँका सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सामुदायिक लज सञ्चालन गरिएको हो । विद्युत् अभावमा पर्यटकलाई अपेक्षाकृत सुविधा उपलब्ध गराउन कठिन भएको थियो।
मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रशारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पुर्याउन लागिएको हो। विद्युतसँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने र पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ।