निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ। जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र ट्रिपरको प्रयोग भइरहेको आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।
कम्पनीका प्रमुख जेरी याङका अनुसार यस वर्षको हिउँदसम्ममा विमानस्थलको जग्गा सम्याउने काम सम्पन्न गरिने छ। जग्गा सम्याएपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको काम अघि बढाइने छ।
अहिले १ सय जनाभन्दा बढी चिनियाँ प्राविधिक र नेपाली कामदार विमानस्थलको काममा खटिएका छन्। कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदूर बस्ने अस्थायी भवनको निर्माण सकेको छ। चिनियाँ एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँको ऋण सहयोगमा निर्माण सुरू गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ।
विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । नपुग भएपछि ६२९ रोपनी जमिन थप अधिग्रहण गरिएको हो।