पर्वतको कुश्मा नगरपालिका–८ मा सञ्चालित तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाका शेयर धनीलाई पाँच प्रतिशत लाभांश वितरण गरिने भएको छ ।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो। कूल पूँजीको पाँच करोड ७५ लाख रुपैयाँ वितरण गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले आयोजनाको हाल कायम रहेको चुक्ता पूँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय भएको कम्पनीका कार्यकारी निर्देशक उपेन्द्र गौतमले जानकारी दिए।
पर्वतमा १० मेगावाटको तल्लो मोदीबाट २०६९ मंसिरदेखि विद्युतको व्यापारिक उत्पादन सुरू भएको हो। साधारणसभामा आयोजनाका अध्यक्ष सुकुन्तलाल हिराचनले आयोजनाले व्यापारिक उत्पादन सुरू गरेको छ वर्षमा लक्ष्यअनुसार नै आम्दानी दिएको दाबी गरे।
आव २०७२/७३ मा बाढीका कारण साढे चार महिना विद्युत् आपूर्ति बन्द हुँदा सो आवको उत्पादन निकै कम भए पनि आयोजनाले बीमा गरेकाले ठूलो क्षति व्यहोर्नु नपरेको बताइएको छ। उक्त आवमा आयोजनाले बीमाबापत १९ करोड सात लाख रुपैयाँ पाएको थियो।
अघिल्लो आव २०७२/७३ मा १४ करोड ७१ लाख रुपैयाँ आम्दानी भएको आयोजनामा गत आवबाट ७७ प्रतिशत वृद्धि भएर २८ करोड १४ लाख रुपैयाँ आम्दानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आवमा एक करोड ३५ लाख ६४ हजार रुपेयाँ खुद नाफा गरेको कम्पनीले गएको आवमा चार करोड ८८ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
चालू आवको पहिलो तीन महिनासम्म कम्पनीले चार करोड १८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले समीक्षा अवधिमा नौ करोड ७१ लाख ३३ हजार रुपैयाँको विद्युत् विक्री गरेको जानकारी दिएको छ।
उक्त कम्पनीले निकट भविष्यमै तल्लो मोदी–२ सञ्चालन गर्ने योजनासमेत अघि सारेको छ। अहिलेको आयोजनाभन्दा तल तल्लो मोदी–२ निर्माण गर्ने र यसका लागि जग्गा अधिग्रहणलगायतका काम भइरहेको कार्यकारी निर्देशक गौतमले जानकारी दिए।