नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो ।
शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइएकाले अन्य कलेजमा नियमितरूपमा नेपाली विद्यार्थी जान सक्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए।
बंगलादेश सरकारले गुणस्तर र पूर्वाधारका विषयमा प्रश्न उठेपछि ती २१ कलेजमा भर्नामा रोक लगाइएको हो। बंगलादेशमा करीब १५० मेडिकल कलेज छन्। बंगलादेशमा हाल करीब दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत छन् । नेपालका ३० शैक्षिक परामर्श केन्द्रले बंगलादेशका विश्वविद्यालयसँग काम गर्छन्।
बंगलादेश जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको समयमा सबै कलेजमा पढ्न नपाउने भन्ने प्रकारको भ्रममा नपर्न संघले आग्रह गरेको छ। इक्यानका उपाध्यक्ष विष्णुहरि पाण्डेकाअनुसार हरेक वर्ष करीब ५०० विद्यार्थी एमबिबिएस अध्ययनका लागि बंगलादेश जाने गर्छन् ।
संघका पूर्व अध्यक्ष राजेन्द्र बरालले हाल कालोसूचीमा रहेका केलज बन्दको अवस्थामा नरहे पनि अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना केही समयका लागि रोकिएको बताए।