सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कथाः
स्याब्बास सुरभी, तिमी मेरो वास्तविक नायिका हौ। मेरो कल्पनाकी नायिका हौ। हामी सधैं तिम्रो नायकत्वको प्रतीक्षामा छौं।
सुनौलो, देशको नाम त्यसै कहाँ रहेको हो र ?
एउटी नायिकाको चामत्कारिक सोच र कार्यले छोटो समयमा सुनौलो देशमा ठूलो परवर्तन हुन सक्यो। लामो समयसम्म गरिबी, भोकमरी, हिंसा, हत्या, आतंक, सामाजिक विभेद, लैंगिक विभेदजस्ता विकृति र विसंगतिहरू रहेको उक्त देशलाई सुरभी नाम गरेकी नायिकाले सात वर्षको अन्तरालमै ठूलै परिवर्तन गरेर संसारलाई नै चकित बनाइ दिइन्।
असम्भवलाई सम्भव तुल्याएर !
हुने विरुवाको चिल्लो पात भनेझैं उनी सानै उमेरदेखि पढाइमा अब्बल र लगनशील थिइन्। उज्यालो चेहरा, शिष्ट बोलीचाली र व्यवहार भएकी, कसैसँग पनि नराम्रो बोलीव्यवहार नगर्ने, आफ्नो मेहेनत र परिश्रममा सधैं दत्तचित्त सुरभीलाई सबैले भविष्यकी एक कर्णधार नायिकाको रुपमा चित्रित गर्ने गर्थे।
सुरभीले अध्ययनका क्रममा नै आफूलाई विद्यार्थीहरूको नेताको रुपमा स्थापित गरिसकेकी थिइन्। उनले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउनुपर्ने, राज्यले जनताको गाँस, बास र कपासको सुनुश्चितता गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, सबै प्रकारका सामाजिक विभेदको अन्त्य हुनुपर्ने लगायतका विषयमा आवाजहरू उठाउन थालिन्। त्यो बेला सुनौलो देश आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा विभेदकारी थियो।
देश भ्रष्टहरुको कब्जामा थियो, समाज पुरुष प्रधान थियो। देशमा बेथिति, बेरोजगार र अभावहरू विद्यमान थिए। सुनौलो देशमा महिला हिंसा तथा लैङ्गिक हिंसाजस्ता सामाजिक विभेदहरू मौलाएको थियो।
अध्ययनशील सुरभीले समाज परिवर्तनको सुत्रधारको रुपमा ‘परिवर्तन आफूबाट शुरु गरौं’ भन्ने सिद्धान्त अघि सारिन्।
पहिले आफू परिवर्तन हुने, आफू परिवर्तन भएपछि आफ्नो घर तथा परिवार परिवर्तन हुन्छ, घर तथा परिवार परिवर्तन भएपछि टोल तथा गाउँ परिवर्तन गर्न सकिन्छ, गाउँ, टोल परिवर्तनसँगै सम्पूर्ण समाज परिवर्तन गर्न सकिन्छ भन्ने परिवर्तनको सुत्रधारलाई सुरभीले अघि बढाइन्।
आफू भित्रको नकारात्मक सोचको परित्याग, आफूमा भएको विकृति विसंगतिको त्याग जस्ता प्रवृत्तिले नै समाज र देशको विकास हुन्छ भन्ने सिद्धान्तमा सुरभीले सबैको साथ र सहयोग पाइन् र उनी सबैको प्रशंसाकी पात्रसमेत बन्न पुगिन्।
समाज तथा देश परिवर्तन गर्न उनले महिला–पुरुष सम–विकासको सिद्धान्त नै अघि सारेर समाजमा रहेका सबै लिङ्ग, जात, धर्मका व्यक्तिहरूको सामूहिक प्रयास र ऐक्यबद्धताबाट मात्र समग्र राज्यव्यवस्था र आफू रहेको समाजको विकास हुन्छ भन्ने नारा अघि सारिन्।
उनले राज्यमा भइरहेका विभिन्नखाले बेथितिहरूको उदाहरण प्रस्तुत गर्दै राज्यमा रहेको घुसखोरी, बेथिति , हिंसा, हत्या, लुटतन्त्र, अन्याय र अत्याचारका विरुद्धमा एकजुट भै त्यसकाे अन्त्यका लागि ऐक्यबद्ध हुन राज्यमा रहेका विद्युतीय माध्यमहरू, सामाजिक सञ्जालहरू र विभिन्न किसिमका सामाजिक संस्था तथा संयन्त्रहरूलाईसमेत व्यापक परिचालित गरिन्।
सबैले उनको सिद्धान्त र शैलीलाई साथ दिए, जसले गर्दा देशमा परिवर्तनको आन्दोलन नै चल्यो। उनले उक्त आन्दोलनलाई व्यवस्था परिवर्तनको आन्दोलनको रुपमा लैजाने उद्घोष गर्दै सबैको साथ, सहयोग र सद्भावको आह्वान गरिन्।
देशमा व्यक्ति परिवर्तनले खासै महत्व नराखिरहेको र सबैको कार्यशैलीमा खासै ठुलो परिवर्तन नभएकोले राज्य सधैँ अद्योगतिमा गएकोले अब व्यवस्था परिवर्तन गरि सुशासन, शान्त, समृद्ध र सुखी हुने उपाय सहितको राज्यव्यवस्था कायम गर्ने आन्दोलनको अगुवाई गरिन्।
उनको यो सिद्धान्तमा धेरैको सहभागिता, सहयोग र समन्वय भयो। फलस्वरुप तत्कालीन राज्य व्यवस्था ढल्यो र नयाँ राज्यव्यवस्थाको अगुवाई गर्ने जिम्मा सुरभीले प्राप्त गरिन्।
सुरभीले राज्यको जिम्मेवारी पाएपछि देशको संविधान परिवर्तन गरी गाँस, वाँस, कपासको सुनिश्चतता गरिन्। शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने घोषणा गरिन्।
सुरभीले सुनौलो देशलाई भ्रष्टाचार मुक्त देशकोरुपमा घोषणा गरिन्।
देशमा बहुदलीय व्यवस्था नै हुने तर विद्यमान राज्य संयन्त्रमा रहेका प्रदेशस्तरीय संरचनाहरू हटाउने व्यवस्था गरिन्। गाउँस्तरमा पार्टी होइन, व्यक्ति चुनाव लड्ने व्यवस्था गरिन्।
फलस्वरुप गाउँमा राजनीति बढी, विकास कम हुने पद्धत्तिमै परिवर्तन भयो। समाजसेवी र सबैले मन पराएको व्यक्तिको गाउँमा बाहुल्यता हुन गयाे र गाउँमा विकास बढी, राजनीति कम हुन पुग्यो।
राजनीतिलाई पेसा होइन सेवाको रुपमा व्यवहारमा उतार्नको लागि राजनीतिज्ञको सम्पत्तिको अभिलेख राख्ने र त्यसकाे नियमित लेखाजोखा गर्ने व्यवस्था मिलाइन्।
अनियमित देखिए त्यसकाे क्षतिपूर्ति असुल गर्ने र त्यस्ता नेताले कहिल्यै पनि राजनीति गर्न नमिल्ने व्यवस्था मिलाइन्। देशमा रहेका सबै नागरिकको अनिवार्य रूपमा सम्पत्तिको विवरण व्यवस्थित गर्नुपर्ने, आम्दानी भए निश्चित राजस्व बुझाउनुपर्ने, राज्यले रोजगारीको अवसर प्रदान गर्ने, आम्दानी गर्न नसक्नेलाई राज्यले खान, लाउन र बस्नको व्यवस्था गर्ने, सबैले आर्थिक कारोवार बैंकिङ पद्धत्तिअनुसार गर्नुपर्ने, सबैको सबै विवरणलाई विद्युतीय माध्यममा आवद्ध गराउने लगायतका सयौं सुधारका कार्यहरू गरिन् सुरभीले।
उनले कर्मचारीतन्त्रको तत्कालीन तलब र सुविधामा पाँच गुणा बढीले बढोत्तरी गरिन्। नीजिक्षेत्रले आफ्ना कर्मचारीलाई दिनुपर्ने न्यूनतम सेवा, सुविधासमेत यकिन गरिन्। कर तिर्ने व्यक्तिलाई दिइने सेवा, सुविधाहरूमा सयौं गुणा बढोत्तरी गरिन्।
कर तिर्नेको सीमा निर्धारण गरी करको दायराअनुसार राज्यका सबै प्रकारका सेवा सुविधाहरू निःशुल्क दिने व्यवस्था मिलाइन्। उनले गाउँस्तरीय चुनावमा राजनैतिक दलको उमेद्वार हुन नपाउने र स्वतन्त्र व्यक्तिले चुनाव लडनुपर्ने व्यवस्था गरिन्।
उनले तत्कालीन रूपमा राज्यमा रहेका राजनैतिक संयन्त्र तथा व्यवस्थाहरुलाई खारेज गरी चुस्त संयन्त्रहरूलाई मात्र राज्य संयन्त्रको रूपमा व्यवस्था गरिन्। सुरभीले देश विकासको मेरुदण्डको रूपमा विद्युत उत्पादन र पर्यटन प्रवर्द्धनलाई अघि बढाइन्।
ग्रामीण बस्तीहरूलाई एकिकृत बस्तीमा रुपान्तरण गरी सहज जीवनयापनको व्यवस्था गरिन्। देशमा रहेका फलाम, ढुङ्गा, पेट्रोल, बालुवा खानीहरूलाई उच्च प्राथमिकता राखेर कार्य गरिन्।
ग्रामीण भेगमा जस्तापाताको छाना हटाएर ढुङ्गाको छानो लगाउनुपर्ने व्यवस्था गरिन्। देशका सबै जनताले आफ्नै देशको उत्पादनको प्रयोग गर्ने व्यवस्था मिलाइन्। उनका सुधारका कार्यले देशमा मुद्रा सञ्चिती र अर्थतन्त्रमा सयौं गुणाले बढोत्तरी भयो। आयातमूखी अर्थतन्त्र निर्यातमुखी हुनपुग्यो।
सुरभीले गरेका सयौं सुधारका कार्यहरूलाई अपरिवर्तनीय संवैधानिक प्रावधानको रूपमा लैजाने व्यवस्था गरी बहुदलीय राजनीति गतिविधिमार्फत नै राज्य सञ्चालन गर्ने गरी आफूले राज्य सञ्चालन गरेको ७ वर्षमै राजीनामा दिएर आफू पनि एउटा दलको सदस्यको रुपमा काम गर्न थालिन्।
सुरभीले छोटो समयमा गरेका सुधारका कार्यहरूले सुनौलो देशमा अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ। फलस्वरुप गाउँघरमा राजनैतिक दल होइन जनताको असल सेवकले चुनाव जितिरहेका छन् परिणामस्वरूप, गाउँमा विकास भएको छ।
राज्यमा रोजगारीको अवसर बढेको छ, सर्वत्र समृद्धस छाएकाे छ।
स्वास्थ्य र शिक्षा निशुल्क भएकोले सबै शिक्षित र निरोगी छन्। सबैको सबै प्रकारको गतिविधि विद्युतीय माध्यममा व्यवस्थित भएकोले आम्दानी, खर्चको लेखाजोखा सजिलो भएको छ। सबैले राज्यलाई कर तिर्छन् किनकि कर तिरेपछि धेरै कुरामा सहुलियत छ।
राजनीति लुटतन्त्र होइन सेवामूलक भएको छ। राज्यमा रोजगार पाउने सबैको सेवा, सुविधाले उनीहरुको घर, परिवार राम्ररी चल्न सक्ने भएको छ, साथसाथै घुसखोरीको अन्त्य भएको छ। देशमा थुप्रै उद्योगहरू खुलेका छन। खानीहरुको सदुपयोग भएको छ।
देशमा रहेका जनताको क्रयशक्तिमा सयौं गुणा बृद्धि भएको छ।
व्यक्तिको प्रतिव्यक्ति आय वार्षिक १ लाख डलर अर्थात् १ करोड नेपाली रुपैयाँ पुगेको छ। सयौं स्थानमा विद्युत उत्पादन भएको र त्यसकाे अन्तराष्ट्रियस्तरमा बिक्री भई देशको अर्थतन्त्र मौलाएको छ।
देशमा सयौं नयाँ घुम्न लायक स्थानहरू पहिचान भई पर्यटनबाट थुप्रै राजस्व र रोजगारीका अवसरहरु प्राप्त भएको छ। समग्रमा भन्नु पर्दा अहिले सुरभीको देशमा रामराज्य छ।
सुरभीको जन्म र उनले गरेको कर्म नै एउटा वास्तविक नायिकाको धर्म हो। त्यसैले म लगायत थुप्रै हामीहरू सुरभीका प्रशंसक र उनको कर्मको पथप्रदर्शक हौं।
स्याब्बास! सुरभी तिमी मेरो वास्तविक नायिका हौ। मेरो कल्पनाकी नायिका हौ। हामी सधैं तिम्रो नायकत्वको प्रतीक्षामा छौं।
(सुनबी पोखरेल डियरवाक सिफल स्कुलमा कक्षा ८मा अध्ययनरत छिन्)