सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
लकडाउनमा खाना बनाउन सिक्दा तातो तेलले छुस्स पोल्यो। मलाई खाना बनाउन सिकाइरहेकी मेरी मामुले छिट्टै घिउकुमारी ल्याएर लगाइदिनुभयो।
जाबो तातो तेल पड्केर छुस्स पोल्दा त मामुको मन यति दुख्छ भने विवाह गरेर पराई घर गएकी छोरीलाई सम्बन्ध जोडिएको परिवारले दाइजो ल्याइन भनेर जिउँदो जलाउँदा कस्तो हुन्छ होला? ती जन्मदिने आमाबुवाको हालत?
छोरीको आमाबुवाले विवाहमा छोरीलाई सहज होस भनेर दिने धनसम्पत्ति जग्गा जमिन वा अन्य सामग्री भनेको नै दाइजो हो। हाम्रो नेपाली समाजमा दाइजो दिने र लिने चलन निकै पहिलेदेखि नै चलिआएको पढेको छु। तर, यो चलनले नेपाली समाजमा दिनप्रतिदिन नकारात्मक रुप लिएको देखिन्छ।
बुहारीले दाइजो ल्याइनन भनेर उनलाई कुटपिट गर्ने, मानसिक तनाव दिने, घरैबाट निकाल्ने, आत्महत्या गर्न बाध्य पार्ने, जलाउने आदि गरेको पाइन्छ। २१ औं शताब्दीमा आएर पनि हाम्रो सोच किन बदलिएन? यो सोचनीय छ। हाम्रो शालिन र सभ्य धर्मसंस्कृति परम्परालाई पछ्याउँदै जानु र हाम्रापछिका पुस्तालाई सिकाउँदै जाने क्रममा कतै हामी गलत अभ्यास त गरिरहेका छैनौं?
हुनेखाने परिवारले त स्वइच्छाले दाइजो देलान् र त्यसमा कसैको आपत्ति पनि नहोला। तर, यसलाई बाध्यता बनाइदा गरिब निमुखा परिवारले भने के गर्ने त? दाइजो करकाप र डरले होइन इच्छाले दिइन्छ।
पहिले–पहिले पो छोरीहरुलाई पढाइँदैन थियो रे। पढाइन्थ्यो भने मेरी हजुरआमा, जिजुआमाले पनि त घरमा आउने सबै पत्रिका पढ्नु हुन्थ्यो होला। के भयो नानी भनेर मलाई वा मामुबाबालाई सोध्न पर्दैन थियो।
छोरीलाई त्यतीबेला नपढाइएकै कारण छोरीको खुसी र उनलाई पराईका घरमा सहजताको लागि दाइजो दिइने गरिन्थ्यो होला। अहिलेका छोरीहरु त पढेलेखेका छन्। र, आफ्नै खुट्टामा उभिन पनि सक्छन् भने के दाइजो आवश्यक छ त?
दाइजो प्रथा खासगरी हाम्रो मुलुकको दक्षिण भेग तराई मधेशमा ब्याप्त देखिँदै आए पनि भित्री भेगमा पनि कम भने छैन। र, यसको नकारात्मक प्रभाव बढ्दै गएको छ।
प्रायःजसो दैनिक पत्रिका मेरो घरमा सबेरै आउँछ। सबै समाचार पढ्न नभ्याए पनि कम्तिमा सामाजिक मुद्दाका समाचार भने म प्रायः छुटाउँदिन। दाइजो जस्ता समाजिक मुद्दाका दुखद समाचार पढ्न नपरेको सायद कुनै दिन पनि हुदैन होला।
कुनै न कुनै किसिमका महिलाका समस्याहरु त्यसमा पनि दाइजोका कारण भएका विभिन्न मुद्दाहरु दैनिक रुपमा पढ्न बाध्य भइन्छ। दाइजोमा कुरा नमिल्दा वा दाइजोको अभावका कारण छोरी चेलीलाई जलाइएको वा आत्महत्या गरेको समाचार धेरै नै पढ्न पाइन्छ।
तर, त्यही छोरीलाई जलाउने अपराधीहरुलाई कारबाही गरेको समाचार भने यदाकदामात्र पढ्न पाइन्छ। कारबाही हु“दैन कि समाचार बन्दैनन्, त्यो सोचनीय छ।
समाजको परम्परा र रिती थितीलाई पछ्याउदै जाने क्रममा अन्य थुप्रै सामाजिक कुरितीहरु पनि निम्तिएका छन। यस्ता कुरितीलाई भने विस्तारै समाजबाट नै निर्मुल पानुपर्छ। पुरानो सभ्यता अंगाल्नुपर्छ।
तर परिवेश अनुसार त्यसमा परिवर्तनको खाँचो हुन्छ। यो सिक्नुपर्छ, सिकाइनुपर्छ। शिक्षा नै एउटा यस्तो शसक्त माध्यम हो जसबाट समाजको परिवर्तन सम्भव छ। र, अज्ञानताको कारण जरो गाडेको यो प्रथा हटाउन सकिन्छ।
मुख्य त यसका लागि विद्यालयको पढाइको साथ साथै विद्यार्थीलाई यसबारेमा सचेत गराउन आवश्यक छ। सम्भव छ भने पाठ्यक्रममा पनि दाइजो सम्बन्धी पाठ समाहित गर्नुपर्छ। यसको बारेमा बुझाइनुपर्छ। छोरी जन्मेको घरमा छोरीको हक हुनुपर्छ पराई घर गए पनि। त्यसलाई मनन गर्न आवश्यक छ।
अनि महिलालाई मात्र होइन पुरुषलाई पनि यस विषयमा सजक गराउनु आवश्यक छ। पढेका, नपढेका, धनी, गरिब सबै एक भएर आवाज उठाउन जरुरी छ। आवाज उठाउन नसक्नेलाई उठाउन सिकाउनुपर्छ।
एउटा यस्तो समय थियो। म चार क्लासमा पढ्दा मुलुकको राष्ट्रप्रमुख, न्याय प्रमुख र संसद प्रमुख नै महिला हुनुहुन्थ्यो। हुन त अहिले पनि राष्ट्रप्रमुख महिला नै हुनुहुन्छ। त्यसमा उहाँहरूले के गर्नु भयो खै ?
त्यति थाहा पाइनँ। दाइजो प्रथाले उत्तिनै प्रश्रय पाएका छन्। नियम कानुन कागजमा मात्र सीमित छन् वा त्यसबाट उम्कने बाटो पनि छ त्यो त उच्च तहमा पुग्नुभएका व्यक्तिले हेर्नुपर्ने होइन र?
हुन त, कानुनले नै दाइजो माग्ने, लिने र दिनेलाई बन्देज लगाएको भन्ने समाचार पनि पढेको छु। यसलाई अपराधिक गतिविधिको रूपमा लिएको पढ्न पाइन्छ। तर खै त यसको कार्यान्वयन?
शिक्षा र चेतनाको कारण आजभोलि यो प्रथा केही घट्दो त छ तर यसलाई पूर्ण रुपमा हटाउनका लागि कडा भन्दा कडा नियम–कानुन बनाइनु र कार्यान्वयन गर्न पनि जरुरी छ।
(केनिशा अधिकारी सेन्ट जेभिर्यस स्कुल, जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन् )