लन्डनस्थित नेपाली दूतावासमा नेपालको संविधान तथा राष्ट्रिय दिवस एक विशेष समारोहको आयोजना गर्दै सम्पन्न गरिएको छ।
बुधबार दूतावास परिसरमा आयोजित समारोहमा बेलायतकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यान बेलायती सांसदहरू, बेलायतस्थित विभिन्न मुलुकका राजदूतहरूका साथै उच्च पदस्थ अधिकारीहरू तथा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायती विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानले संविधान दिवसको शुभकामना दिँदै नेपाल र बेलायतबीचको सम्बन्धको चर्चा गरिन्।
उनले दुई देशबीच व्यापार, लगानी जस्ता क्षेत्रमा थप सम्बन्ध विस्तार हुने आशा समेत व्यक्त गरिन्।
उनले दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा बेलायती गोर्खाहरूले गरेको योगदानलाई पनि स्मरण गरिन्।
कार्यक्रममा मन्तव्य दिँदै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वर्तमान संविधानको विशेषता र नेपालको परराष्ट्र नीतिबारे प्रकाश पारेका थिए।
राजदूत आचार्यले बेलायत नेपाल सम्बन्ध जनस्तरसम्म रहेको जनाए।
दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको कार्यक्रममा बेलायतस्थित नेपाली कलाकारहरूले नेपाली सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमका सहभागीहरूलाई दूतावासको तर्फबाट दिवाभोज समेत योजना गरिएको थियो।