हजारौं नेपालीको सहभागितामा लन्डनमा नेपाली मेला सम्पन्न भएको छ।
तमुधिं युकेको आयोजनामा लन्डन केम्पटन पार्क रेसकोर्समा आइतबार आयोजित मेला हेर्न बेलायतभरबाट सात हजार नेपाली जम्मा भएका थिए।
हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान भन्ने नाराका साथ सम्पन्न १४ औं नेपाली मेलामा दर्जनौं नेपाली संघसंस्थाले सांस्कृतिक झाँकी एवम् नृत्यहरू देखाएका थिए।

मेलास्थलमा विभिन्न नेपाली खाना, व्यापार तथा च्यारिटी संस्थाका तीन दर्जन स्टलहरू पनि राखिएका थिए।
तमुधिं युके अध्यक्ष हरि गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मेलाले बेलायतका नेपालीमा अनेकताभित्रको एकता देखाएको बताए।
उनले आपसी सद्भाव बढाउन मेला महत्वपूर्ण रहेको पनि जनाए।

एनआरएनए आइसिसी अध्यक्ष कुल आचार्यले नेपालबाहिर पनि नेपाल देखाउने काम मेलाले गरेको भन्दै आयोजकको प्रशंसा गरे।
तमुधिं युके अध्यक्ष हरि गुरूङले नेपालीहरूबीचको एकता र सद्भाव बढाउने लक्ष्यसाथ मेला गरिँदै आएको बताए।
कार्यक्रममा सांसद खामवीर गर्बुजा, बंगलादेश तथा श्रीलंकाका कूटनीतिक प्रतिनिधि, बेलायतका विभिन्न क्षेत्रका मेयर तथा काउन्सिलर, बेलायती समुदायका प्रतिनिधिलगायतका विशिष्ट अतिथिहरू सहभागी थिए।
मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतिका आधारमा किरात राई यायोख्या युकेले ११ सय पाउण्ड नगदसहित एम्बास्डर कप र तीन सय पाउण्ड नगदसहित एनआरएनए कप जित्यो।
त्यस्तै, दोस्रो र तेस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज युके र पासा पुचः गुथि युकेले क्रमशः सात सय र पाँच सय पाउण्ड नगद पुरस्कार प्राप्त गरे।

झाँकीतर्फ किरात राई यायोख्याले प्रथम, पासा पुचः गुथिले दोस्रो र घान्द्रुक समाज युकेले तेस्रो तथा नृत्यतर्फ घान्द्रुक समाज युके प्रथम र किरात राई यायोख्खा दोस्रो भए।
पहिलो हुनेले सात सय, दोस्रोले पाँच सय र तेस्रोले तीन सय पाउण्ड नगद पुरस्कार प्राप्त गरे। यसपटक सुरू गरिएको दुई सय पाउण्ड नगदको प्रेसिडेन्ट च्वाइस पुरस्कार पासा पुचः गुथि युकेले पायो।
मेलामा सगरमाथा सफल आरोहण गर्ने आरोही हरि बुढामगर र नायिका दिया पुनलाई पनि सम्मान गरिएको थियो।
