गएको शनिबार नीन पार्कबाट खोलाको तिरै तिर माथि तिर लाग्दै गएँ। गुगल-म्याप हेरेर त्यताबाट घुमेर फर्कने गोरेटो पैलाएपछि बनाएको योजना अनुसारै म त्यता लागेको थिएँ।
बेलायती गाउँको खेतीको संसार पैलाउने रहर पनि थियो मनमा। खोलाको तिर छाडेर म मोटरबाटोमा निस्कने मेसो मिलाउँदै गोरेटोमा सोझिँदै थिएँ। पाँच महिना अघि छरेको गहुँ फाँटभरि पाँच इन्च जति अग्ला देखिइरहेछन्।
नेपालमा ताल मिलाउनेले सजिलै वर्षमा तीन बाली भित्राउँछन्। यहाँ वर्षमा एकबाली गहुँ मात्र भित्राउँछन्। खोला वारिपारिका रूख र पोथ्राले जंगलकै झल्को पनि दिइरहेको छ।
खोलो फनक्कै दायाँतिर मोडियो जहाँ दुईतिरबाट आएका खोलाको दोभान रहेछ। खोलाको सानो शाखाको साँघुरो काठे पुल तरेर अगाडि बढ्नु पर्ने भयो। त्यही पुलपारि खोलाको छेउमा घाँसे मैदानमा कुर्सी ल्याएर बसेका केही पाको उमेरका स्थानीय गोरा मानिस थिए।
खोलाको पानीमा खेल्दै गरेका उनीहरुका चार जना केटाकेटी रूखमा बाँधिएका रस्सीमा झुन्डिने र पौडने गर्दै रहेछन्। त्यो देखेर मेरो मन, ज्यान त्यहीँ छाडेर रामघाटको रहमा साथीहरूसँग पौडन सिकेका दिनको सम्झनामा हराउन पुग्यो।
निचोड के निस्कियो भने हाम्रो बचपन झैँ यी बेलायती स्थानीय केटाकेटीको बचपन पनि उस्तै हुँदो रहेछ। हामीलाई झैँ खोलाको पानीले रमाइलो गरी भिजाएको हुँदो रहेछ। खोलाको सङ्लो पानी र सम्भ्रान्तका स्विमिङ पुलको क्लोरिन मिसिएको पानीमा धेरै फरक छ। प्राकृतिक र कृत्रिममा जे फरक हो, त्यही फरक छ।
फोन झिकेर क्लिक गरौँ भन्ने त लाग्यो तर उनीहरूको गोपनियता भङ्ग हुन्छ भन्ने डर लाग्यो। सोधेर फोटो खिच्न अनुमति माग्न पनि जाँगर चलेन। सोधेको भए, खै अनुमति दिन्थे कि दिन्थेनन्!
के थाहा? म गोरेटो समाउँदै अघि बढेँ। विण्डमिलको अवशेषको फोटो खिच्दा छेउमा भएका घोडाहरू पनि ब्याकग्राउण्डमा अटाउने गरी क्यामरामा कैद गरेँ। मोटरबाटो छिर्नु पहिला काठे ढोका स्वचालित बन्द हुने बनाउन साङ्लोमा पुरानो मिलका फलामका डल्ला झुण्डाएको देख्दा यिनीहरुको विगत यही त होला भनेर अनुमान गरेँ।
दुवै कान ढाकिने गरी टाउकामा झुण्डिएको हेडफोनमा बजेको मधुर संगीतका तालमा पाइला चालिरहेको थिएँ। मन भने बचपनमा पद्मे, गोविन्दे र अरू गौडी टोलकै दौँतरीहरूसँग पोखरीको पानीमा केराका थाम समाउँदै पौडिन सिकेका दिनको सम्झनाका तरेलेमा रमाइरहेको थियो।
अलि-अलि छत्लाङछुत्लुङ गर्दै पानीमा उत्रिन जान्ने भएपछि शानिबारको छुट्टिको दिन घरमा नभनी रामघाटको सफा पानीमा नुहाउन गएका थियौँ। अलि जान्ने साथीहरू त रहमा अलि परैसम्म पनि पौडँदै पुगेका थिए।
म पौडन त्यत्ति सिपालु पनि थिइनँ अनि रहमा गैहाल्ने हिम्मत पनि गरिनँ। छेउछेउमै पौडी खेलेँ। कथमकदाचित पौडन सकिनँ भने पनि उभिँदा खुट्टाले भुइँ छोइने पानीको भागभन्दा पर जाने हिम्मत मैले जुटाउन सकिनँ।
त्यस दिनको रमाइलो पक्ष त के थियो भने घरमा थाहा नदिई साथीहरूसँग नदीमा भागेर गएको भन्दा पनि हुन्छ। त्यसैले नुहाउर कपडा फेर्न रूमाल र कट्टु नै लगेका थिएनौँ। सबै दौँतरीको एउटै हालत थियो अनि, बुङ्गै पानीमा पसेका थियौँ। त्यो सम्झनाले अहिले पनि मन तरङ्गित भैरहेको छ। उतिबेला कति मजा भए होला भनेर अहिले पनि मजा आइरहेको छ।
उसबेलाको तौलिहवा बुटवलभन्दा ठूलो र रमाइलो बजार थियो। हाम्रो गौडी टोल गुल्मी, अर्घाखाँची, प्युठान रोल्पासम्मका मान्छेहरू गोरखपुर पेन्सन बुझ्न र छुट्टी जाने र फर्कनेहरूको गौँडो भने पनि हुन्छ।
रेलबाट शोहरतगढ झरेका लाहुरेहरू जिपमा तोलिहवासम्म आउँथे। धेरैजसोले तौलिहवामा रात काटेपछि बिहान घोडामा बाकस र गुण्टा बोकाएर पत्थरकोट हुँदै उकालो लाग्ने बाटो सोझाउँथे।
शोहोरतगढ र तौलिहवाबीचको सवारीको मुख्य साधन टाँगा भए पनि लाहुरेहरू भने तीन रूपैँया तिरेर मोटरमै हिँडेका देखिन्थे। अरू यात्रुले भने जिपमा भन्दा अलि धेरै समय लागेपनि सस्तो हुने हुनाले पनि टाँगामा यात्रा गर्थे।
घोँडाका टापको ट्वाट–ट्वाक गर्ने म्युजिकल आवाजमा भुस खुवाउन झुन्डाएको टिनको बाल्टीको क्वाइ-क्वाइको धुन मिसिँदा संगीत रसिलो बन्थ्यो। चालकका मिठासपूर्ण वाणीहरू गीत बन्थे।
सिवालय नजिकको चोक टाँगाको मुख्य बिसौनी थियो। टिनका बाल्टीमा टुक्रा पारेका पराल र भुस मिसाएका दाना खाँदै गरेका घोडाहरू र तीनका लादीको गन्ध हाम्रा नाकका लागि चिर-परिचित भएका थिए।
अहिले जस्तो प्लास्टिकका बाल्टी बजारमा पुगेका थिएनन्। दश कक्षाको अङ्ग्रेजी किताबमा प्लास्टिकको प्रयोगले पानी बोक्न टिनका बाल्टीका ठाउँमा हलुका प्लास्टिकले सजिलो पार्ने तर्कहरू भेटिन्थे।
तर, हाम्रै उमेरमा प्लास्टिकले वातावरण बर्बाद पारेको समस्या भोगिरहका छौँ। सन् २००१ ताकेका ती पाठ्य पुस्तकका तर्क र अब केही दशकमा कार्बन उत्सर्जन नियन्त्रण गर्ने मानवीय गतिविधिका योजना उस्तै उस्तै जस्तो लाग्छ।
ती लाहुरेहरू हिउँदका केही महिना भने भारतीय सेनामा पुराना भएको भनेर लिलाम गरिएका वन-टन भनिने मोटरहरूमा धुलाम्मे हुँदै पत्थरकोटसम्म जान्थे। हरियो रङका टिनका पाता बेरिएको मोटा टायर भएको अनौठो मोडल पनि उतिबेला आधुनिक नै ठहरिएका थिए।
भारतबाट तोलिहवासम्म कालोपत्रे बाटो थियो। त्यसपछि उत्तरतिर उनीहरूको धुलोम्मै रमाउन पर्ने यात्रा सुरू हुन्थ्यो। खोला नालामा पुल कल्भर्क केही नभएकाले बर्खा महिनामा मोटर हिँड्ने सम्भावना नै हुन्थेन।
त्यस बेलाको गौडी टोलको चहलपहल रमाइलो थियो। कल्लुको रेडियो मर्मत केन्द्र टिभीको प्रचलन बढेसँगै टिभी मर्मत केन्द्रमा परिणत भएको थियो। कल्लु प्रविधिका विषयमा यति उत्सुक थिए कि उनले दुई मध्ये एक छोराको नाम मार्कोनी राखेका थिए। अर्को छोराको नाम जेम्स वाट राखेका थिए।
कदमको रूखमुनि दामोदरको चिया पसल थियो। दामोदर मैले ६ कक्षामा पढ्दा किशोर उमेरका थिए। उनको बुवाको विषयमा सम्झना भएन। आमाले चियाका साथै चनाको बेसनमा प्याजका पकौडा तार्ने र बेच्ने गर्नु हुन्थ्यो।
चार-पाँच वर्षपछि उनीहरू त्यहाँको सबै जायजेथा भगेलुलाई बेचेर गए। उनीहरू कतै धनकुटा तिरबाट त्यहाँ आएका थिए भने जस्तो पनि लाग्छ। तर, निश्चित रूपले थाहा भएन।
दामोदरकी बैनी माया मेरी साइली दिदीकी साथी थिइन्। त्यो कदमको रूख पनि अलि वर्षपछि सुकेर मर्यो। गौडी टोलको त्यो चहलपहल पनि हराएर गयो। महेन्द्रराजमार्ग बनेपछि लाहुरेहरू कृष्णनगरतिरबाट हिँड्न थाले। दशकौँसम्म रामघाटमा पुल बन्न सकेन र तोलिहवाको व्यापारिक महत्व हराउँदै गयो।
दामोदर दाइको पसलमा पहिला पहिला २५ पैसामा सिसाको गिलासमा चिया पाइन्थ्यो। हामीले हाफ कप चिया किन्दा भने १५ पैसा तिर्न पर्थ्यो। चिनीको भाउ बढ्यो भनेर चिया ३० पैसा कप बनाउँदा पनि हामी हाफ कप चिया किन्नेले १५ पैसा नै तिर्न पाउँदा नाफा भए जस्तो लागेको थियो।
हात्तीछाप ३० पन्ने कापीलाई पनि ३० पैसा नै पर्थ्यो। पार्कर कलम र चार्ली मसी अहिलेको माइर्क्रोसफ्ट र एप्पल भने जस्तै लाग्थ्यो।
दामोदरकी आमाले ३ रूपैँया भारी दाउरा किन्नु हुन्थ्यो। त्यसैले सिल्टीको ताप्केमा पानी र दुध मिसाउनु हुन्थ्यो अनि धुलो चियापत्ति हालेर भक्भकी पकाएर तारको जालीमा छानेर कपमा खनाएर दिनु हुन्थ्यो।
अलि पछि चिया पसल पछाडिपट्टि खरको टाटीमा माटो लिपेको भित्तो र खरकै छानो बनाएर लजिङ फुडिङको व्यवसाय राम्रो चलेको देखिन्थ्यो। सायद दामोदरका बुवा कुनै कर्मचारीका रूपमा पूर्वबाट तोलिहवा पुगेका थिए भनेको जस्तो पनि हल्का सम्झना हुन्छ।
उसबेलाको भगेलुको सेकुवा, बर्माको फेन्सी पसल, गयाको किताब पसल, छेदीको रेस्टुरेन्ट, लक्ष्मण होटल, चिन्निलालको कपडा पसल, कम्पाउण्डरको मेडिकल सेवा महत्वपूर्ण कर्पोरेट हाउसको रूपमा थिए।
चार बजे स्कुलबाट फर्किएपछिको धेरै जसो खाजा भनेको पोलेको आलु र चामलको भुजा हुथ्यो। काठमाडौँको भातलाई भुजा भनेको जस्तो होइन। रूमालमा पोको पारेर वा ढकियामा चामलको पोको लिएर बिपी कोइरालको ससुरालीघरको बाटा पारिको भुजा भुट्ने भारमा पुग्थेँ।
सुपो (नाङ्लो) मा पाँच भाग लगएर बसेपछि ‘फस्ट कम फस्ट सर्भ’को बेसिसमा पालो आएपछि एकभाग चामल कमिसन लिएर चारभाग चामल हाँडीमा हाल्थिन्।
दह्रा सिन्काको मुठो छिर्ने गरी एकापट्टि फराकिलो पारेको हाँडीमा बालुवा मिसाएर अलिवेर चलाउँदै पकाएर हामीलाई दिन्थिन्। बेलाबेला धानको बोक्रा मुठ्ठी पारेर थोरै दाउरा बल्दै गरेको माटोको ठूलो चुलो जस्तो भारमा हाल्थिन। हुरूर्र भ्वाक्क गर्दै चुलो भित्र आगो दन्किन्थ्यो।
हाँडीबाट चाल्नोमा खनाउँदा बालुवाजति उनि बसेको ठाउँ अघिको खाल्टो भागमा झर्थ्यो। चाल्नोमा बचेको भुजा मेरो ढकियामा खनाउँथिन्। दिनभरि आगो बलिरहेको भारभित्रको खरानीमा पोलेका मटेङ्गे आलुसँग लसुन हालेर सिलौटामा धस्काएको नुनसित खाएको त्यो स्वाद सम्झदा अहिले मुखबाट पानी रसाइरहेको छ।