कोरोनाभाइरसको संक्रमण रोक्न लगाइएका प्रतिबन्ध र ठूलो संख्यामा आममानिसलाई भ्याक्सिन लगाउने कदमविरूद्ध बेलायतमा हजारौंले प्रदर्शन गरेका छन्। लण्डनको ट्राफाल्गर स्क्वायरमा शनिबार दिउँसो बेलायतका विभिन्न ठाउँबाट आएका उनीहरूले प्रद्शन गरेका हुन्।
कोरोनाभाइरस हाउगुजी हो, फाइभजी नेटवर्कका कारण भएको हो र भ्याक्सिन लगाउनु हुन्न भन्ने धारणा राख्नेहरू प्रदर्शनमा सहभागी भएको द गार्डियनले जनाएको छ।
प्रदर्शनकारीहरूले विश्व स्वास्थ्य संगठन, अमेरिकी अर्बपति बिल गेट्स र सरकारी प्रतिबन्धविरूद्धका प्लेकार्ड बोकेका थिए।
कोरोना संक्रमण रोक्न लगाइएको आवातजावतमा रोक र मुखमा मास्क अनिवार्य लगाउनु पर्ने नियम खारेज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले बोकेका प्लेकार्ड कोरोनाभाइरस हल्लामात्र भएको उल्लेख गरिएको थियो।
प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनीहरूका अगुवाले कोरोनाभाइरसको निहुँ बनाएर सरकारले व्यक्तिगत स्वतन्त्रता हनन गरिरहेको तर्क गरेका थिए। कोरोना सामान्य फ्लू भएकाले लकडाउनलगायत अन्य प्रतिबन्ध हटाउनु पर्ने उनीहरूको भनाइ थियो।
युरोपकै अर्को मुलुक जर्मनीको बर्लिनमा पनि शनिबार कोरोनालाई हाउगुजीमात्र हो भन्नेहरूले प्रदर्शन गरेका थिए।
बर्लिनमा जम्मा भएका झन्डै १८ हजार प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको थियो।