बेलायत र यूरोपेली संघ (ईयू) ले मङ्गलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका बिषयमा चौथो चरणको वार्ता सुरू भएको छ।
लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत् गरिने उक्त वार्तालाई यस हप्ता गहन वार्ता गर्ने बताइएको छ।
गत मे र अप्रिलमा भएको तेस्रो चरणको वार्ताले कुनै तार्किक निश्कर्षमा पुग्न सकेको थिएन।
वार्ता निष्कर्षमा नपुग्नुलाई लण्डन र ब्रसेल्स दुवै पक्षले एक आपसमा दोषारोपण गरेका थिए।
बेलायती टापुको तटमा माछा मार्ने अधिकारको भविष्यमाथि दुवै पक्षका सयौँ वार्ताकारहरू सहभागी भै आफ्ना धारणा राख्ने बिषय नै यस चरणको वार्ताको प्रमुख बिषय हुने यूरोपेली सञ्चारमाध्यमहरूले जनाएका छन्।
चौथो चरणको यो वार्तामा माछा मार्न पाउने अधिकारबारे हुने चार अलग–अलग सत्रमा छलफल हुनेछ भने शुक्रबार छलफलको समीक्षा गर्दै समाप्त हुनेछ।
लण्डनबाट प्रकाशित हुने द गार्डियन पत्रिकाले आफ्नो मङ्गलबारको अङ्कमा उक्त टापूमा माछा मार्ने बिषयले बेलायतको अर्थतन्त्रको ०.१२ प्रतिशत योगदान गर्ने भन्दै यो बिषय ब्रेक्जिट छलफलमा पेचिलो बिषय बन्नसक्ने बताएको छ।
बेलायतले सन् २०२० को जनवरी ३१ मा ईयूको सदस्यता अन्त्य गरेको थियो।
यद्यपि ब्रसेल्सको नियम अनुसार डिसेम्बर ३१ सम्म सङ्क्रमणकालिन नियमहरूको पालना गरिरहने छ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले यो वर्षको अन्त्यपछि सङ्क्रमणकालको अवधिलाई विस्तार गर्न नचाहेको र विवादित विषयलाई त्यस अगावै समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
बेलायती प्रधानमन्त्री जोनसनले ईयू नेताहरूसँगको उच्चस्तरीय बैठक गर्नु पहिले यो वार्ता हुन लागेको हो।