बेलायती बोरिस जोनसनका प्रमुख राजनीतिक सल्लाहकार डोमिनिक क्यूमिङ्स कोरोना भाइरसका लक्षणहरु देखिएपछि लकडाउनको समयमा समेत सयौं किलोमिटरको यात्रा गरेको बिबिसीले जनाएको छ।
उनी लन्डनबाट आफ्ना आमाबाबुको डरहम काउन्टी स्थित घर पुगेका हुन्।
प्रधानमन्त्रीका मुख्य सहयोगीले बिबिसीलाई बताए अनुसार क्यूमिङ्स र उनकी श्रीमती आफ्नो आमाबाबुको घर आइसोलेसनका लागि गएका थिए।
श्रोतले क्यूमिङ्सले लकडाउनका प्रावधानहरू नतोडेको दाबी गरेको छ।
'क्यूमिङ्स र उनका श्रीमती छुट्टा-छुट्टै भवनमा बसेका थिए', श्रोतले भन्यो।
उक्त समाचार पहिलो पटक 'द मिरर' र 'द गार्जियन' समाचारपत्रले प्रकाशित गरेका थिए।
बेलायतको लेबर पार्टीले भने कमिङको यस कार्यको प्रधानमन्त्रीको कार्यालयले शीघ्र स्पष्टीकरण दिन माग गरेको छ।
'यदि यो सत्य हो भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लकडाउन नियमको उलंघन गरेका छन्। सरकारले जारी गरेको निर्देशन एकदमै स्पष्टसँग घरमै बस्नु र अनावश्यक यात्रा नगर्न भनेको छ', एक प्रवक्ताले भने, 'ब्रिटिस नागरिकहरू उनीहरूका लागि एउटा नियम र डोमिनिक क्यूमिङ्सका लागि अर्को नियम हुने भन्ने चाहदैंनन्।'
स्कटिश नेशनल पार्टीका वेस्टमिन्स्टर नेता इयान ब्ल्याकफोर्डले भने क्यूमिङ्सले राजिनामा दिनुपर्ने वा प्रधानमन्त्री बोरिस जोनसनले उनलाई पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन्। उनले यो नेतृत्वको परीक्षा भएको बताए।
लिबरल डेमोक्र्याट्सका कार्यवाहक नेता एड डेभीले पनि डोमिनिक क्यूमिङ्सले लकडाउनका प्रतिबन्धहरु तोडेको भए राजीनामा दिनुपर्ने भनाइ राखेका छन्।
प्रधानमन्त्रीको कार्यालयले भने शुक्रबार रातमा यस विषयमा कुनै टिप्पणी दिन अस्वीकार गरेको बिबिसीले जनाएको छ।
द मिरर र गार्जियनमा प्रकाशित समाचारका अनुसार कमिङसँग डरहम प्रहरीले भेट गरिसकेको छ।
कोरोना भाइरस महामारी फैलिएपछि बेलायती सरकारले मार्च ३१ गते त्यहाँका जनताहरुलाई घरमै बस्न सल्लाह दिएका थिए। अनावश्यक कामकाज बाहेक हिँड्डुल गर्न देशभर अझै प्रतिबन्ध लगाइराखिएको छ।
पछिल्लो तथ्यांक अनुसार बेलायतमा मात्र संक्रमित संख्या २ लाख ५४ हजार बढी छ भने संक्रमणका कारण हालसम्म ३६ हजार ३ सय ९६ जनाको ज्यान गइसकेको छ।