मानिसहरूलाई पैदल यात्रा गर्न र साइकल चलाउन प्रोत्साहित गरेर सार्वजनिक यातायातमा सामाजिक दुरी कायम गर्न सहयोग पुर्याउने हेतुले सेन्ट्रल लन्डनका सडकबाट कारहरू हटाइने भएको छ।
सहरका मेयर सादिक खानले शुक्रबार यस्तो घोषणा गरेका हुन्।
मेयर खानले यो योजना मुख्य क्रस-टाउन मार्गहरू र सहरका ठूला क्षेत्रमा लागू हुने बताएका छन्। योजना अनुसार राजधानी सहर सबैभन्दा ठूलो कार-मुक्त क्षेत्रमा परिणत हुनेछ।
'कोरोना भाइरसले इतिहासमै लन्डनको सार्वजनिक यातायात (टीएफएल) व्यवस्था नेटवर्कलाई ठूलो चुनौती खडा गरेको छ,' खानले भने, 'लकडाउनका प्रतिबन्ध खुकुलो पारेसँगै सार्वजनिक यातायातमा सबैले सुरक्षित सामाजिक दूरी कायम गर्न अत्यावश्क छ।'
टीएफएलका अनुसार यातायातमा सामान्य दिनभन्दा १३ देखि १५ प्रतिशत मात्र यात्रु चढाइनेछ। यस्तोमा दुई यात्रुबीच दुई मिटरको दुरी कायम गरिने छ।
मेयरले खानले भने, 'त्यसैले धेरै मानिसहरुले पैदल वा साइकलमा यात्रा गर्नुपर्ने हुन्छ।'
लन्डन ब्रिज र शोरेडिच, इयुस्टन र वाटरलू र ओल्ड स्ट्रिट र होलोबन बीचका सडकहरू बस, पैदल यात्री र साइकल चालकहरूका लागि मात्र सीमित हुनसक्ने जानकारी मेयरको कार्यालयले रोयटर्सलाई दिएको छ।