युरोपमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र बेलायत बनेको छ।
बेलायतका विदेश मन्त्री डोमिनिक राबका अनुसार मंगलबारसम्म त्यहाँ २९ हजार चार सय २७ जनाले ज्यान गुमाइकेका छन्।
यसअघि कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढीको मृत्यु इटालीमा भएको थियो। अहिले भने त्यहाँ मृत्यु हुनेको संख्या २९ हजार तीन सय १५ पुगेको हो।
बिबिसीका अनुसार इटालीभन्दा बेलायतमा संक्रमण तीव्र गतिमा फैलिएको हो। तर संक्रमितको संख्या भने बेलायतको भन्दा इटालीमा बढी छ। इटालीमा दुई लाख १३ हजार १३ जनालाई कोरोनाभाइरसको संक्रमण भएको छ भने बेलायतमा एक लाख ९४ हजार नौं सय ९० जना बिरामी परेका छन्।
अहिलेसम्म बेलायतले भन्दा बढी परीक्षण इटालीले गरेको बिबिसीले जनाएको छ।
स्पेनमा इटाली र बेलायतमा भन्दा बढी संक्रमित छन् तर त्यहाँ मृत्यु हुनेको संख्या भने कम छ।
स्पेनमा दुई लाख ५० हजार पाँच सय ६ संक्रमित छन् २५ हजार ६ सय १३ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा एक लाख ७० हजार पाँच सय ५१ संक्रमित छन् भने २५ हजार पाँच सय ३१ जनाले ज्यान गुमाएका छन्।