बेलायतमा जारी लकडाउन कम्तीमा तीन सातासम्म थपिने भएको छ।
विदेशमन्त्री डोमिनिक राबले आफ्नो दैनिक ब्रिफिङका क्रममा सुरक्षात्मक उपायहरू खुकुलो पार्दा जनस्वास्थ्य र अर्थतन्त्रमा खतरा पर्ने समीक्षा भएका कारण लकडाउनको अवधि थप हुने जानकारी दिएका छन्।
'हाम्रो संक्रमणदर घट्नु पर्नेजति घटेको छैन', राबले भने।
बेलायतमा हालसम्म कोरोनाका कारण १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ।
बेलायतले कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि मार्च २३ मा लकडाउनको घोषणा गरेको थियो।
राबले हाल बेलायतमा संक्रमणको अवस्था 'खतरापूर्ण र नाजुक तह'मा रहेको बताएका छन्।
'हामीले सुरक्षात्मक उपायलाई खुकुलो पार्न हतार गर्यौं भने हामीले गरेका त्याग र प्रगति सबै खतरामा पर्छन्', राबले भने, 'यसले हामीलाई तुरुन्तै अर्को लकडाउनमा पुर्याउँछ।'
राबले हाल पालना गरिएका उपायहरूले काम गरिरहेको देखाएको बताए।
उनले पाँच अवस्थामामात्र लकडाउन खुकुलो गर्न सकिने बताएका छन्।
राष्ट्रिय स्वास्थ्यसेवाले 'हुन्छ' भनेको अवस्थामा,दैनिक मृत्युदर कम भएमा, संक्रमणदर व्यवस्थापन गर्न सकिने तहमा पुगेमा, परीक्षण र व्यक्तिगत सुरक्षा पहिरन(पिपिई)ले भविष्यको माग थेग्ने भएमा र कुनै पनि कदमले दोश्रो चरणको उच्च बिन्दुमा लैजादैन भन्ने देखिएमा मात्र लकडाउन खुकुलो पारिने उनले बताएका छन्।