कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य सुधार आउन थालेको छ।
डाउनिङ्ग स्ट्रिटका अनुसार स्वास्थ्यमा सुधार आएसँगै उनी अस्पतालको वार्डमा ओहोर–दोहोर गर्न सक्ने भएका छन्।
आइतबार उनी आफैलाई व्यस्त राख्न पजल र सुडुको जस्ता खेल खेले।
उनले ‘लर्ड अफ रिङ्ग’ र ‘विथनेल एन्ड आइ’ जस्ता कमेडी फिल्महरु समेत हेरेको बेलायती अखबार द सन्डे टाइम्सले जनाएको छ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चैत १४ देखि जोनसोन आइसोलेसनमा बसेका थिए। त्यसको १० दिनसम्म पनि भाइरसका लक्षणहरू निरन्तर देखिएपछि उनलाई चैत २३ गते आइतबार अस्पताल भर्ना गरिएको थियो।
लन्डनस्थित सेन्ट थोमस अस्पतालमा रहेका जोनसनको स्वास्थ्य बिग्रदै गएपछि चैत २५ मा आईसियूमा सारिएको थियो। स्वास्थ्यमा सुधार आएसँगै तीन दिनपछि चैत २८ गते प्रधानमन्त्रीलाई आईसियूबाट निकालेर वार्डमा सारिएको थियो।
‘प्रधानमन्त्री बिचबिचमा आराम गर्दै हिँड्न थाल्नु भएको छ। हिँड्नुले पनि उहाँको स्वास्थ्यलाभमा सहयोग पुर्याउँछ,’ डाउनिङ्ग स्ट्रिटका एक प्रवक्ताले भने, ‘उहाँले डाक्टरसँग कुरा गर्नुभयो र सम्पूर्ण चिकित्सा टोलीलाई धन्यवाद भन्नुभयो।’
प्रधानमन्त्रीलाई भेट्न पाउँने वा नपाउने भन्ने विषयमा डाउनिङ्ग स्ट्रिटले खुलस्त पारेको छैन्। तर उनलाई थुप्रै शुभचिन्तकहरुबाट स्वास्थ्य लाभको कामना गरिएका कार्डहरू आइरहेको प्रवक्ताले बताएका छन्।