कोरोना भाइरससँग जुध्न बेलायतले विकासोन्मुख देशहरूलाई २०० मिलियन पाउन्ड सहयोग दिने भएको छ।
यो रकमले विशेषमा शरणार्थी शिविरहरुमा थप मद्दत पुर्याउने छ।
अन्तराष्ट्रिय विकास सचिव एनिमेरी ट्रेभिलियनले कमजोर स्वास्थ प्रणाली भएका देशहरूमा हुने सुधारले बेलायतमा हुन सक्ने संक्रमणको दोस्रो लहर रोक्न मद्दत पुर्याउँने बताएकी छन्।
बेलायतको यो सहयोगले कोरोना संक्रमणको महामारी रोक्नका लागि विश्वव्यापी प्रयासमा बेलायतको योगदान ७७४ मिलियन बेलायती पाउन्ड पुगेको छ।
बेलायतको अन्तराष्ट्रिय विकास विभागका (डिफिड)ले भाइरस विरुद्ध लड्न बेलायतले दिएको यो सहयोगले उसलाई कोरोनाविरुद्धको विश्वव्यापी लडाईंमा सबैभन्दा ठुलो दातामध्येको एक बनाएको छ।
डिफिडले बेलायतको यो सहयोगले शरणार्थी शिविरमा नयाँ हात धुने स्टेशनहरु बनाउँन, आइशोलेस तथा उपचार केन्द्रहरुको स्थापना गर्न र द्वन्द्वका क्षेत्रमा बसोबास गर्दै आइरहेकाहरुलाई स्वच्छ पानीको पहुँच बढाउन मद्दत पुर्याउनेछ।
बेलायतले यमनमा चलिरहेको गृहयुद्धका कारण त्यहाँ ५० प्रतिशत स्वास्थ्य सेवामात्र संचालनमा रहेकाले उसलाई छुट्टै थप सहयोग दिने बताएको छ।
संयुक्त राष्ट्र संघले धनी देशहरुलाई विकासोन्मुख देशहरुको कोरोनाविरुद्धको लडाईंमा मद्दत नगरे कोरोना भाइरसले दोस्रो लहरमा विश्वव्यापी घेरा हाल्न सक्ने चेतावनी दिदैं आएको छ।
बेलायतले घोषणा गरेको २०० मिलियन पाउण्डमध्ये १३० मिलियन पाउण्ड संयुक्त राष्ट्र अन्तरगतका एजेन्सीहरुमा जानेछ जसमध्ये ६५ मिलियन पाउण्ड विश्व स्वास्थ्य संगठनले पाउनेछ।
त्यस्तै युद्धबाट प्रभावित क्षेत्रहरुमा सहयोग गर्न ५० मिलियन पाउण्ड रेड क्रसले पाउनेछ भने बाँकी २० मिलियन पाउण्ड बेलायतका विभिन्न गैर–सरकारी संगठनहरुलाई तथा बेलायतका परोपकारी संस्थाहरूले पाउनेछन्।
‘कोरोना भाइरसको दोस्रो लहर रोक्न हाम्रा प्रतिभाशाली डाक्टर र नर्सहरु लडिरहेको समयमा हामी विश्वव्यापी बेलायतको विशेषज्ञता र कोष खटाइरहेका छौ।’ ट्रेभिलियनले बिबिसीलाई भनेकी छिन्।
उनले भनिन्, ‘कोरोना भाइरसले देशको सिमाना गन्दैन। त्यसैले बेलायतमा यसको थप लहर फैलिन नदिनका लागि कमजोर विकासशील देशहरुको स्वास्थ सेव प्रणालीमा सबल तुल्याउनु जरुरी छ।’
यसमा विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अडामोन गेब्रेयिससले ‘हामी सबै कोरोना विरुद्ध लड्न मिलेका छौ। यसको अर्थ विश्वव्यापी स्वास्थको सुरक्षाले बेलायतका जनताको स्वास्थ सुधार गर्न मद्दत गर्दछ’, भनेका छन्।
बेलायतले यस अघि नै महामारी तयारीका लागि संगठन (सिइपिआइ) लाई कोरोना भाइरसको खोप तयार पार्न २५० मिलियन पाउण्ड सहयोग पुर्याउने प्रतिबद्धता जनाइसकेको छ।