कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन दोश्रो दिन पनि आइसियूमै रहेका छन्।
प्रधानमन्त्री जोनसनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालमा राखिएको छ।
मंगलबार जोनसनका प्रवक्ताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'स्थिर' रहेको र उनी 'उच्च मनोबल'मा रहेको बताएका थिए।
प्रधानमन्त्रीको कामसमेत सघाइरहेका विदेश मन्त्री डोमिनिक रबले प्रधानमन्त्री जोनसन 'योद्धा' भएकाले छिट्टै निको हुनेमा आफू विश्वस्त रहेको बताए।
मंगलबारको कोरोना भाइरससम्बन्धी ब्रिफिङमा रबले जोनसनले स्टान्डर्ड अक्सिजन उपचार लिइरहेको र उनले बिना कुनै बाहिरी सहयोग सास फेरिरहेको जानकारी दिए।
जोनसनको स्वास्थ्यका बारेमा थप जानकारी बुधबार अबेरमात्र आउने ठानिएको छ।
कोरोना भाइरस देखिएको दश दिनपछि पनि खोकी र उच्च तापक्रमजस्ता लक्षण कायमै रहेपछि जोनसन चिकित्सकहरूको सल्लाहमा आइतबार अस्पताल भर्ना भएका थिए।