कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नागरिकहरूलाई घरमै बस्न भनेका छन्।
सोमबार टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै जोनसनले एउटै घरमा बस्नेबाहेक अरू कुनै पनि आफन्त र साथीभाइलाई नभेट्न पनि निर्देशन दिएका छन्।
उनले बेलायतभर अत्यावश्यकबाहेकका सबै सेवा पनि बन्द गरिने बताए।
'आज रातिदेखि सबै बेलायतीलाई मेरो एउटा सामान्य निर्देशन छ- तपाईं घरमा बस्नुपर्छ,' दैनिक हुने प्रेस ब्रिफिङको साटो टेलिभिजनबाट सम्बोधन गर्दै जोन्सनले भने।
जोन्सनको यस्तो निर्देशनसँगै बेलायतीहरू अत्यावश्यक सामानको खरिद, शारिरिक अभ्यास र बिरामी हुँदामात्र घरबाट बाहिर निस्कन पाउने छन्।
सडकमा पनि दुई जनाभन्दा बढी सँगै हिँड्न नपाउने नियम ल्याइएको छ। नियम नमान्नेलाई प्रहरीले प्रचलित कानुनबमोजिम कारबाही गर्ने जोन्सनले बताए।
यो नियम कम्तिमा पनि तीन सातासम्म लागू हुनेछ।
बेलायतमा पछिल्लो २४ घन्टामा ९६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने ५४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ६ हजार ६ सय ५० मानिसमा कोरोना भाइरसको पुष्टि भएको छ।
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपेली मुलुकहरू इटाली, स्पेन, फ्रान्स र जर्मनीले यसअघि नै नागरिकको आवातजावत कम गर्न कडा कदमहरू चालेका छन्।