झण्डै ३ वर्षदेखि राजदूतबिहिन युएईस्थित नेपाली दूतावासमा अन्ततः कृष्णप्रसाद ढकालले नयाँ राजदूतका रूपमा कार्यभार शुरु गरेका छन्।
तत्कालीन राजदूत धनन्जय झा २०७३ वैशाख ३ गते कार्यअवधि सकेर फर्किए यता कार्यवाहक राजदूतको भरमा दूतावास चल्दै आएको थियो। सरकारले राजदूत नियुक्ति गरेर पठाएपछि गएको फागुन २२ गतेदेखि ढकालले युएईमा राजदूतको कार्यभार सम्हालेका हुन्।
ढकालले जिम्मेवारी लिए लगत्तै सेवाग्राहीको गुनासो सुन्ने कामको थालनी गरेका छन्। उनले सेवाग्राहीबाट दूतावासमा बारम्बार फोन गर्दा पनि फोन नउठ्ने गुनासो सुनेपछि सम्पर्क व्यक्ति नै तोकेर दूतावासको सूचना उपलब्ध गराउने जिम्मेवारी दिएका छन्। त्यसका लागि दूतावासमा कार्यरत कर्मचारी पुष्कल लामालाई कार्यालय समयमा मोबाईल वा टेलिफोनमा सिधै सम्पर्क गर्न सकिनेछ।
त्यसैगरी दूतावासबाट भएका महत्वपूर्ण गतिविधिका बारेमा सूचना प्रवाह गर्न नियोग उपप्रमुख सागरप्रसाद फुयाँललाई प्रवक्ता तथा द्धितीय सचिव विष्णुकुमारी अधिकारीलाई सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिईएको छ।
यी हुन् राजदूतका प्राथमिकता
राजदूतको कार्यभार सम्हाले लगत्तै सेवाग्राहीमैत्री कार्यहरुको थालनी गरेका ढकालले युएईमा क्रियाशिल नेपाली संचारकर्मीसँग परिचय तथा छलफल गरेका छन्।
दूतावासमा आयोजित परिचय तथा छ्लफल कार्यक्रममा राजदूत ढकालले सञ्चारकर्मीसँग यहाँको वस्तुस्थितिका विषयमा छलफल गरे।
ढकालले छलफलका क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको सम्बोधन गर्दै आफ्नो मुख्य ४ प्राथमिकताहरुको बारेमा जानकारी दिए।
उनले युएई र नेपालबिचको सम्बन्धलाई थप घनिभूत बनाउने, युएईमा रहेका नेपाली श्रमिकको सुरक्षा र हितलाई ध्यान दिने, नेपालीहरुको आर्थिक उन्नतिका लागि लागिपर्ने र नेपाली उत्पादन तथा महत्त्वका सामाग्रीहरुको प्रवर्द्धनमा केन्द्रीत हुने बताए।
नियोग उपप्रमुख सागरप्रसाद फुयाँल तथा द्धितीय सचिव विष्णु कुमारी अधिकारीको सहभागिता रहेको कार्यक्रममा निकै संवेदनशील र महत्त्वपूर्ण विषयहरुमा छलफल भएको भन्दै राजदूत ढकालले सुझावहरुलाई कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता जनाएका थिए।