खाडी मुलुकसँग गरिएको श्रम सम्झौता नविकरण गरि त्यसलाई थप प्रभावकारी बनाउने विषयमा नेपाल सरकारको प्रतिनिधिमण्डलले युएई र ओमनको सरकारी प्रतिनिधिसँग छलफल गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख रामप्रसाद घिमिरे नेतृत्वको पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलले ओमनमा त्यहाँको सरकारी टोलीसँग नेपाली कामदारहरुको स्थिति, सेवा सुविधा र श्रम सम्झौताको खाकाका विषयमा छलफल गरेको थियो।
गत आइतबार र सोमबार ओमनको श्रम तथा मानव संशाधन मन्त्रालयमा भएको छलफलमा श्रम सम्झौताका लागि ओमानले दुई महिनाअघि पठाएको खाकामा नेपालले आफ्नो विषय राखेर तयार गरेको प्रस्तावमाथि छलफल भएको थियो।
उक्त छलफलबाट निचोडमा पुगेका विषयलाई मन्त्रीस्तरीय छलफलबाट अन्तिम रूप दिने बताईएको छ।
ओमनको छलफल सकेर गत मंगलबार युएई आएको उक्त प्रतिनिधिमण्डलले बुधबार र बिहिबार युएईको श्रम तथा मानव संशाधन मन्त्रालयमा छलफल गर्यो। उक्त छलफलमा डेढ महिनाअघि युएईले पठाएको श्रम सम्झौताको खाकाका विषयमा छलफल भएको दूतावासले जनाएको छ।
बुधबार र बिहीबार यूएईको दुबई र अबुधाबीको श्रम तथा मानव संशाधन मन्त्रालयमा भएको छलफलमा शून्य लागतमा कामदार लैजाने, २४ घण्टे बिमाको व्यवस्था गर्ने, घरेलु कामदारको सुरक्षा र सेवा सुविधाका बारेमा छलफल भएको नेपाली दूतावास युएईका श्रम सहचारी मोतिराम भुषालले बताए।
छलफलमा उठेका कतिपय विषय दुवै देशको कानुन अनुसार मिलाउनुपर्ने भएकोले त्यसलाई मन्त्रीस्तरीय छलफल गरेर टुंग्याउने भुषालले बताए।
ओमन र युएईसँग श्रम सम्झौताको मस्यौदाका विषयमा केन्द्रीकृत छलफल सकेर नेपाली कार्यदल आज नेपाल फर्किंदैछ।